Main Menu

राष्ट्रियताको पुनर्परिभाषाबारे कवि केशव सिलवालको विश्लेषण

के हो आखिर राष्ट्रियता ?

Kesav Silwal Photo

कवि केशव सिलवाल

रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दु मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान् ।
यो जर्मनी, यो इङ्ल्यान्ड
यो रुस, यो जापान ।
अणुबमले खाएको
हेर, नागाशाकी, हिरोसिमा !
हिटलरको भूतले सताएको
यही हो युरोप कंकाल
यही हो अमेरिका
डालरको देश–
‘अणु बम’को निर्माता
शान्तिको सन्देश ।

(विजय मल्ल : छोरीलाई मानचित्र पढाउँदा)

विजय मल्लको यो कवितांशले हामीलाई संसारभर देशका मानचित्र कसरी कोरिएका हुन् भन्ने बोध गराउँछन् । कुनै पनि राष्ट्रको निर्माणमा असीमित रगतको खोला बगेको इतिहास हाम्रो सामु साक्षी छ । नेपाल राज्यको निर्माण क्रममा कति रगत बगे हामी केवल कल्पना गर्न सक्छौँ । तर राष्ट्र निर्माणको क्रममा रगत बगाएका वीरहरूको गाथा गाउनु मात्र राष्ट्रियता होइन । राजनीतिक र साहित्यिक वृत्तमा राष्ट्रियतासम्बन्धी हचुवा बहस हुने गरेको पाइन्छ । राष्ट्रियताजस्तो गहन विषयमा चर्चा गर्न र लेख्न यसको विविध ऐतिहासिक विकासक्रम बुझ्नु आवश्यक हुन्छ ।

नेपालभित्र सबैभन्दा बढी राजा महेन्द्रले राष्ट्रियताको खरो कुरा उठाएको देखिन्छ । त्यसको विपरीत पंचायतविरोधी आन्दोलनमा रहेका राजनीतिक शक्तिले पनि बारम्बार राष्ट्रियताको कुरा नै उठाए, जसको सिलसिला हालसम्म जारी छ । साहित्यमा राष्ट्रियताको कुरा गर्दा वीरकालीन साहित्यसम्म पुग्नु पर्ने हुन्छ जतिबेला वीरताको स्तुति गाउनुलाई साहित्यको उद्देश्य मानिथ्यो, त्यसै समयका कवि सुवानन्ददासले वीरगाथायुक्त कविता लेखे । पछिल्लो समयको राज्यले पनि भक्ति थापा, बलभद्र कुँवर र अमरसिंहको वीरता गाउनुलाई राष्ट्रियता बलियो भएको मान्दै आयो । शासकको वीरता गाउनु नै राष्ट्रियता भएपछि साहित्य शासकको वीरुदावलीमा परिणत भयो । पृथ्वीनारायण शाहदेखि पंचायतकाल र अहिले गणतन्त्रकालमा समेत त्यही किसिमको राष्ट्रिय भावना समेटिएका साहित्य भेटिन्छन् ।

के हो यो राष्ट्रियता, जुन राजनीति र साहित्यमा विशेष चर्चा गरिन्छ ? किन मानिस राष्ट्रियताको सवालमा आफ्नो ज्यान दिन र कसैको ज्यान लिन तयार हुन्छ ? अनि कसरी लेख्नुपर्छ त आजको साहित्यमा राष्ट्रियता ? यी प्रश्नको जवाफ नखोजी हामी राष्ट्रियतासम्बन्धी प्रष्ट विचार राख्न सक्दैनौं । अथवा, कुनै अर्को राष्ट्रलाई गाली गर्नुलाई नै हामी राष्ट्रियता भन्न सक्छौँ ।

7 Pradesh Naksha

नेपालको सात प्रदेशको नक्शा । स्रोत : अनलाइन खबर ।

पहिले हुने गरेको राष्ट्रियताको परिभाषा र अहिलेको राष्ट्रियताको विश्लेषणमा आकाश जमिन फरक परिसकेको छ । संसारभर राष्ट्रियताको परिभाषा फेरिए पनि नेपाली राजनीतिज्ञ र साहित्यकारले यसको चाल पाएका छैनन् । राष्ट्रियता भनेको सामूहिक स्वत्वसँग जोडिएको अहम् हो । हामीले महाकाली र मेचीबीचका कयौँ मानिसलाई देखेका हुँदैनौ तर नेपाली भनेर अपनत्व अनुभूति गर्छौं । नेपालको भुभागलाई आफ्नो भन्दै प्रेमभाव दर्शाउँछौँ । यही हो राष्ट्रियताको भावना । अनि नेपाल र नेपालीका लागि ज्यान दिन र अरु कसैको ज्यान लिन तयार हुन्छौँ । अन्य राष्ट्रका नागरिक पनि यसै भावनाबाट प्रेरित हुने गर्दछन् । बेनेडिक एन्डरसन यसलाई काल्पनिक समुदाय भन्छन् । राष्ट्रियता मानिसकोे दिमागमा सीमाबद्ध, सार्वभौम र आत्मीय समुदायको रुपमा सिर्जना हुन्छ ।

कुनै समय यस्तो थियो, जति बेला इतिहासमा राज्य थिएन । अपनत्वको अनुभूति र सामूहिक सुरक्षाको माग बढ्दै गएपछि राज्यको निर्माण हुन पुग्यो । अर्थात राष्ट्रिय भावना बढ्दै गएपछि राज्यको उत्पति भयो । राज्यभित्र हुने एकता र आफ्नोपनको भावनालार्ई राष्ट्रिय भावना भन्न थालियो । राष्ट्रियताभित्र आफ्नो र बाँकी सबै पराईको भावना विद्यमान हुन्छ, जसअन्तर्गत संसारको इतिहासमा ठूला–ठूला युद्ध लडिएका छन् । पहिलो र दोस्रो विश्वयुद्ध पनि राष्ट्रियताकै लागि लडिएका थिए । त्यतिबेला अहिले जस्तो राज्यको कुनै निश्चित सिमाना थिएनन् र ती परिवर्तन भइरहन्थे । नेपालकै उदाहरण लिने हो भने पृथ्वीनारायण शाहले एकीकरण गर्नु अगाडि र पछाडि नेपालको सिमाना विभिन्न कालखण्डमा परिवर्तन भएका छन् । ब्रिटिस–इन्डियासँगको युद्धपछि नेपालको नक्शा थप परिवर्तित भयो । वर्तमान विश्व सन्दर्भमा हेर्दा सन् १९९० पछि सोभियत रुस र अफ्रिकामा इथोपिया टुक्रिएपछि नयाँ राष्ट्र निर्माण भएका छन् । दोस्रो विश्व युद्धको अन्त्यपछि संयुक्त राष्ट्र सङ्घ गठन भयो जसले राष्ट्र भन्नाले निश्चित भौगोलिक परिधिभित्रको क्षेत्र भन्ने परिभाषा तय ग¥यो ।

राज्यले मानिसमा रहेको राष्ट्रिय भावनालाई आफ्नो शक्ति आर्जनको माध्यम बनाउँदै आएको छ । नेपालजस्तो विविध राष्ट्रियता भएको राज्यमा एक भाषा र एक भेष भन्दै महेन्द्रले विविधतालाई एकतामा समेट्ने प्रयत्न गरे त्यसले नेपाली राष्ट्रियता मजबुत होइन, कमजोर तुल्यायो । यस्तो किसिमको हर्कतले राज्य भन्नु नै राष्ट्रियता हो भन्ने गलत धारणा नेपाली समाजमा रोपिदियो । एउटै राज्यभित्र पनि विभिन्न समुदाय र जातजाति हुन्छन्, जसको भिन्नै राष्ट्रिय भावना र समुदाय हुन्छ । ती सबैको सम्मान हुनु नै आन्तरिक राष्ट्रियता बलियो बन्नु हो । नेपालमा बाहिरी देशलाई गाली गर्नुमात्र राष्ट्रियता भनिन्छ, जुन नितान्त गलत छ । पृथ्वीनारायण शाहले समेत उपत्यका विजय पश्चात यहाँको संस्कृतिलाई आत्मसाथ गर्दै इन्द्रजात्रा मनाएका थिए । एउटै राज्यभित्र विभिन्न राष्ट्रियता हुन्छ भन्ने नबुझेपछि पहिचानको मुद्दाविरुद्ध आवाज उठ्नु स्वभाविक हो । यो पंचायतले रोपेको बीज हो ।

बुझ्नु पर्ने कुरा के छ भने नेपाली राष्ट्रियता नेपाली स्वयम्ले निर्माण गरेका होइनन् । नेपालको नामाकरण समेत बाहिरियाले गरिदिएका हुन् । यसबारेमा रिचार्ड बरघाटले सन् १९८४ मा प्रकाशित आफ्नो लेख ‘नेपालमा राज्यको अवधारणाको निर्माण’ मा उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई भौगोलिक विस्तार गरेका थिए भने त्यतिबेला नेवार बस्ती भएको उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । नेवारहरूले बोल्ने भाषालाई नेपाल भाषा भनिन्थ्यो । गोर्खालीले बोल्ने भाषालाई खस भाषा नै भनिन्थ्यो । सन् १८८७ मा दार्जिलिङमा बस्ने अंग्रेज रिभरेन्ड टर्नबुलले पहिलो पटक खसभाषालाई नेपाली भाषा र गोर्खा राज्यको सट्टा नेपाल भन्ने शब्द प्रयोग गरेका थिए । त्यसै कुरालाई भारतमा रहेका ब्रिटिश शासकले मान्यता दिँदै यहाँको राजालाई नेपालका राजा भन्न थाले । सन् १८३० भन्दा अगाडि नेपालका शासक आफूलाई गोर्खाको राजा भनेर चिनाउँथे । यो कुरालाई लिएर चन्द्र शमशेरले आपत्ति पनि जनाएका थिए । पछि यही नाम दोस्रो विश्वयुद्ध पछि कायम भयो । सुगौली सन्धीपछि नेपालको नक्शा समेत ब्रिटिशहरूले नै बनाइदिएका हुन् ।
राष्ट्रियताको मुख्य पक्ष भन्नु एकताको भावना हो जसमा मानिसहरू राष्ट्रको लागि मर्न र मार्र्न तयार हुन्छन् । नेपाली जहाँ रहुन् ती आफन्त जस्तो लाग्नु नै राष्ट्रियता हो । यो राष्ट्रिय भावनाको चर्चा पश्चिमा मुलुकमा अठारौँ शताब्दीमा हुन थालेको हो, जति बेला राज्यले प्रयोग गरेको धर्मको हतियार प्रभावहीन बन्दै गएको थियो र पुँजीवादी प्रभाव बढ्दै थियो । अर्नेष्ट गेल्नर धर्मले उठाउने गरेको मुक्ति, मृत्यु र आस्था लगायतका कुरा त्यसै समय राष्ट्रियतासँग घुलमिल भएको मान्दछन् । जसरी धर्मले आस्था र भातृत्वको कुरा गर्छ त्यसैगरी राष्ट्रियताले समुदायको मुक्तिको प्रश्न उठाउँछ । धर्मले जस्तै राष्ट्रियताले आफ्नोलाई पवित्र र अन्य कुरालाई अपवित्र मानेर तिरस्कार गर्दछ । उदाहरणका लागि म फ्रेन्च जन्मिएँ र फ्रेन्च अमर छन् भन्नुमा कतै न कतै धार्मिक विश्वासको प्रभाव देखिन्छ । अठारौँ शताब्दी र त्यस समयपछि पनि राष्ट्रियताको रक्षा भन्दै ठूला ठूला युद्ध भएका छन् जसमा राज्यले सम्पूर्ण देशवासीलाई युद्धमा सामेल गर्न सफल भए । राज्यले धर्म जस्तै राष्ट्रियतामा अन्धविश्वास गर्न सिकायो, जसबाट आफ्नो शक्ति कायम राख्न मद्दत पुगोस् ।

Nepal Map 1राष्ट्रियताको सवालमा अन्य दृष्टिकोणभन्दा माक्र्सवादी दृष्टिकोण भिन्न र वस्तुवादी रहेको छ । समाजवादीहरू अन्तर्राष्ट्रिय हुन्छन्, जसले राष्ट्रियतालाई भन्दा वर्ग सङ्घर्षलाई महत्व दिन्छन् । तर माक्र्सवादले एउटा राष्ट्रले अर्को राष्ट्रमाथि गरिने अन्यायपूर्ण मिचाइँलाई अस्वीकार गर्दछ र राष्ट्रिय मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्दछ । लेनिनका अनुसार पुँजीवादले राष्ट्रको आत्मनिर्णयको अधिकारमाथि प्रहार गर्दछ । त्यसैले समाजवादी आन्दोलन हुनुपूर्व राष्ट्रिय मुक्ति हुनु अनिवार्य हुन्छ । राष्ट्रिय संस्कृतिको कुरा गर्दा लेनिन बुर्जुआले दमनको लागि लाद्ने गरेको राष्ट्रियताको भावनाविरुद्ध मजदुरहरू एक हुनुपर्ने धारणा अगाडि सार्दछन् । अर्कोतर्फ भूमण्डलीकरणको वर्तमान समयमा राज्य वा राष्ट्रको भूमिका कमजोर हुँदै आएको छ, जसअन्तर्गत साना राष्ट्रले आफ्नो निर्णय शक्ति गुमाउँदै गएका छन् । ती बढीमा ठूला राष्ट्रका उपभोक्ता भएका छन् । राष्ट्रियताको प्रसङ्ग उठाउँदा विश्व व्यवस्थाको स्वरूप बेवास्ता गर्न सकिँदैन । हालै नेपालमाथि भारतले गरेको नाकाबन्दीलाई नेपाली राष्ट्रियतामाथिको प्रहारको रूपमा व्याख्या गर्ने हो भने विश्व व्यवस्थामा नेपालको कमजोर भूमिकालाई समेत नजरअन्दाज गर्न सकिँदैन । नेपाल विश्व व्यवस्थामा बलियो अवस्थामा हुन्थ्यो भने भारतले नाकाबन्दी गर्न सक्ने थिएन । अहिले जति नै ठूलो स्वरमा राष्ट्रियताको कुरा गरे पनि आन्तरिक रूपमा हामी सबै एकजुट नहुने हो भने राष्ट्रियता बलियो बन्दैन । राष्ट्रियता बलियो नभई देशको भविष्य निर्माण हुँदैन ।


(सिलवाल कवि हुन् । उनका ‘धारिला मान्छेहरु’ लगायत दुई कविता संग्रह प्रकाशित छन् ।) 

(Visited 1,902 times, 1 visits today)

टिप्पणी

comments