Main Menu

सोभियत क्रान्ति–१९१७ को शतवार्षिकी

अक्टोबर सुरु नहुँदै लेनिनले के गरे ?

सन् १९१७ फेब्रुअरीमा पुँजीवादी लोकतान्त्रिक क्रान्तिपछिको लगतैबाट लेनिनले रुसी मजदुरहरुलाई बोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिका लागि भौतिक र मानसिक दुबै रुपमा तयारी गर्न थाले । यही सिलसिलामा उनले सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्ममा सत्ता कब्जा गर्न बोल्सेभिक पार्टीका नेताहरुलाई तयारीका लागि आह्वान गरे ।

सेप्टेम्बर २५ सम्ममा मस्को र पेट्रोग्राद सोभियतहरुमा (सोभियत – मजदुरहरुको कार्यकारी परिषद्) बोल्सेभिकहरुको बहुमत भइसकेको थियो । लेनिनले पार्टीभित्र सम्पूर्ण रुपमा योजनाबद्ध बिद्रोहका लागि प्रशिक्षण दिन अभियानै संचालन गरे । त्यसैबेला अन्तरिम सरकारका प्रमुख केरेन्सिकी र उनका समर्थकहरुले नयाँ युद्धपक्षधर संयुक्त सरकार गठनको प्रयास गरे ।

सेप्टेम्बर (२६–२९) मा लेनिनले भने – सत्ता कब्जा गर्ने बेला अहिले नै हो ।

लेनिनले बोल्सेभिक पार्टीको केन्द्रीय कमिटीलाई सत्ता कब्जाका लागि परिस्थिति परिपक्व भएको सुझाए । फिनल्यान्डमा भूमिगत भई बसेका लेनिनले दुईवटा पत्र लेखे – “बोल्शेभिकहरुले शक्ति हत्याउनुपर्छ” र “मार्क्सवाद र बिद्रोह” । ती दुई पत्रहरुमा उनले बोल्शेभिक पार्टीको केन्द्रीय कमिटीले सशस्त्र बिद्रोह र सत्ता कब्जा गर्न तत्काल तयारी गर्नुपर्ने जिकीर गरेका थिए । उनले दावी गरे कि मुलुकको शक्ति सन्तुलन बोल्शेभिकहरुको पक्षमा नाटकीय ढङ्गले विकसित भएको छ, विशेष गरी असफल कोर्निलोभ ‘कू’ को परिणाम स्वरुप । (केरेन्सिकीको अन्तरिम सरकारका प्रधान सेनापति जनरल लाभ्र कोर्निलोभले सत्ता हत्याउन असफल सैनिक बिद्रोह गरेका थिए । त्यसलाई असफल कोर्निलोभ ‘कू’ भनिन्छ ।–अनुवादक)

बोल्शेभिकहरुले मजदुरहरुको सोभियतहरुमा र दुबै राजधानीहरुका सिपाइँहरुका प्रतिनिधिहरुमा बहुमत हासिल गरेका छन् । तिनीहरुले आफ्नै हातमा राज्य शक्ति लिन सक्छन् र लिनै पनि पर्छ ।

जुलाई विप्लब (July Days upheaval) ले निम्त्याएको कठिन अवधिमा जब जीवन रक्षाका लागि भूमिगत हुन बाध्य भए, लेनिनले लेखे कि यदि “मलाई जेल हालिन्छ” भने पार्टीले “मेरो ‘राज्यमा मार्क्सवाद’ को टिपोट (यसले स्टकहोममा पूर्णता प्राप्त गर्यो ।) प्रकाशित गर्नुपर्छ । यसलाई नीलो गाताले मोडिएको छ ।” अर्को दुई महिनासम्ममा लेनिनले त्यस टिपोट सामग्रीमाथि पुनः काम गरी ‘राज्य र क्रान्ति’ तयार गरे जुन उनको सायद सबभन्दा प्रख्यात राजनीतिक कृति बन्यो । (जुलाई विप्लब – १९१७ को जुलाई १६–२० को रुसी क्रान्तिको अवधि, जसमा मजदुर तथा सेनाहरुले पेट्रोग्राद शहरमा अन्तरिम सरकारबिरुद्ध सशस्त्र प्रदर्शन गरेका थिए । त्यस प्रदर्शनले अस्थायी रुपमा केही समयसम्म बोल्शेभिकहरुको छवि बिगारेको थियो । त्यसबाट अलेक्जेन्डर केरेन्स्किीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनका लागि आधार तयार भएको थियो ।–अनुवादक)

लेनिनले आफ्नो कृतिको भूमिकामा लेखे, “राज्यमा समाजवादी सर्वहारा क्रान्तिको सम्बन्धको सवालले व्यवहारिक राजनीतिक महत्व मात्र बोक्दैछैन, बरु त्यसले अहिलेको सबभन्दा जरुरी समस्याको महत्वको समेत सम्वोधन गर्दैछ । त्यो समस्या भनेको जनमासलाई व्याख्या गर्नु हो, तिनीहरुले लामो समयसम्मको पुँजीवादी दमनबाट स्वयं आफूहरुलाई स्वतन्त्र गर्नुपूर्व के गर्नुपर्ने हुन्छ भनेर ।”

सत्ता कब्जा गर्नका लागि ‘राज्य र क्रान्ति’ कृतिमार्फत् लेनिनले बोल्शेभिक पार्टीलाई पथ प्रदर्शन गरे । “बोल्शेभिकहरुले शक्ति आँकलन गर्नुपर्छ” भन्ने लेखमा लेनिन लेख्छन् – “बोल्शेभिकहरुले मजदुरहरुको सोभियतहरुमा र दुबै राजधानीहरुका सिपाइँहरुका प्रतिनिधिहरुमा बहुमत हासिल गरेका छन् । तिनीहरुले आफ्नै हातमा राज्य शक्ति लिन सक्छन् र लिनै पनि पर्छ ।

“तिनीहरुले सत्ता हातमा लिन सक्छन्, किनकि दुईवटा मुख्य शहरहरुमा रहेका सक्रिय क्रान्तिकारी शक्तिहरु उनीहरुको साथमा छन् । र, यो शक्ति भनेको बिरोधीहरुको अवरोधमाथि बिजय प्राप्त गर्न जनता उतार्न, बिरोधीहरुलाई ध्वस्त पार्न र राज्य शक्ति प्राप्त गर्न एवं त्यसलाई बचाई राख्न विशाल तथा पर्याप्त छ । बोल्शेभिकहरुले तत्काल लोकतान्त्रिक शान्तिको प्रस्ताव गर्दै, तत्काल किसानहरुलाई जमिन उपलब्ध गराउँदै र केरेन्स्किी सरकारले क्षतिग्रस्त एवं नस्ट गरेका लोकतान्त्रिक संस्थाहरु र स्वतन्त्रताहरुलाई तत्काल पुनर्स्थापित गर्दै सरकार गठन गर्नेछन्, जसलाई उखेलेर फाल्न कोही पनि सक्षम हुनेछैन ।

“बहुसङ्ख्यक जनता हाम्रो पक्षमा छन् । यो कुरा मे ६ देखि अगस्ट ३१ र सेप्टेम्बर १२ सम्मका घटनाहरुका लामा र पीडादायी शृङ्खलाले प्रमाणित गरेको थियो । महानगरहरुका सोभियतहरुमा बहुमत हासिल भएबाट जनताको लहर हाम्रो पक्षमा आएको छ…….जनता मेन्शेभिकहरु र समाजवादी क्रान्तिकारीहरुको संदिग्ध चरित्रबाट वाक्क भएका छन् । महानगरहरुमा हाम्रो बिजयले नै किसानहरुलाई हामीतिर तान्नेछन्….”

मुख्य कुरा भनेको पार्टीको कार्य स्पष्ट बनाउनु रहेको छ । अहिलेको काम भनेको पेट्रोग्राद र मस्को (यसको इलाकासँगसँगै) मा सशस्त्र आन्दोलन उठाउनु हुनुपर्छ, त्यस्तै गरी सरकारलाई उखेलेर फाल्ने र शक्ति हत्याउने हुनुपर्छ । हामीले छापाहरुमा बढी कुरा नभनीकन नै कसरी आन्दोलित बनाउने भन्ने विषयमा चिन्तन गर्नुपर्छ ।”

बिद्रोह सफल गर्न षडयन्त्रमा र केबल पार्टीमाथि होइन बरु प्रगतिशील वर्गसँग भर पर्नुपर्छ ।

लेनिनले अगाडि थपे – सत्ता कब्जा फेब्रुअरी क्रान्तिको आलोकबाट जन्मेका सोभियत र लोकतान्त्रिक संगठनहरुमा आधारित हुनुपर्छ । उनी “मार्क्सवाद र बिद्रोह” मा ब्याख्या गर्छन् – “बिद्रोह सफल गर्न षडयन्त्रमा र केबल पार्टीमाथि होइन बरु प्रगतिशील वर्गसँग भर पर्नुपर्छ । यो पहिलो बुँदा हो । बिद्रोह जनताको क्रान्तिकारी उत्थानसँग भर पर्नुपर्छ । यो दोश्रो बुँदा हो । जब जनताको उन्नत तप्काको गतिविधिले आफ्नो उचाइ प्राप्त गरी विकसित क्रान्तिको इतिहासको मोडमा पुग्दछ, बिद्रोहले त्यसलाई भर गर्नुपर्दछ । त्यस्तै गरी जब शत्रु पङ्तिमा अस्थिरता पैदा हुन्छ र क्रान्तिका कमजोर, आधा मनका र अभरपर्दा मित्रहरुसमेत बलवान हुन पुग्छन् त्यसमाथि बिद्रोहले भर पर्नुपर्छ । यो तेश्रो बुँदा हो । र, यी तीन शर्तहरुले बिद्रोहका सवालहरुको उत्थानका लागि ब्लाङ्किवादबाट मार्क्सवादलाई छुट्याउँदछन् । (ब्लाङ्किवाद फ्रान्सेली बिचारक एवं राजनीतिज्ञ लुइस अगस्ति ब्लाङ्किको बिचार हो, जसले समाजवादी क्रान्तिका लागि आमजनता होइन बल्की उच्च संगठित र गुप्त षडयन्त्रकारीहरुको सापेक्षित सानो समूहमा भर पर्नुपर्छ भन्ने धारणा राख्छन् । – अनुवादक)

“सफल बिद्रोहका लागि सबै वस्तुगत अवस्थाहरु विद्यमान छन् । हामीसँग परिस्थितिको अपवादको फाइदा पनि छ जसमा हाम्रै बिद्रोहको बिजयले जनतालाई पृथ्वीमा सबभन्दा पीडादायी चीज र अस्थिरताबाट बाहिर ल्याउन सक्छ, जसमा हाम्रै बिद्रोहको बिजयले किसानहरुलाई तत्काल जमिन उपलब्ध गराउनेछ, यो परिस्थिति, जसमा हाम्रै बिद्रोहको बिजयले क्रान्तिबिरोधी शान्तिको छुट्टै खेललाई परास्त गर्न सक्छ । हाम्रै बिद्रोहको बिजयले पूर्ण, अधिक न्याय र क्रान्तिका लागि फाइदादायी शान्ति सार्वजनिक रुपमा प्रस्तावित गर्न सक्छ ।”

बोल्शेभिक नेताहरुसित लेनिन

धेरै बोल्शेभिक नेताहरु लेनिनका पत्रहरु पढेपछि आश्चर्यचकित भए । ती पत्रहरु लेनिनले टाढाबाट पठाएका थिए । बोल्शेभिक नेताहरुले लेनिनका ती पत्रहरुलाई सम्भव भएसम्म चाँडोभन्दा चाँडो लुकाउने प्रयत्न गरे । निकोलाइ बुखारिनले पछाडि लेखे, “हामी सबै भयभित थियौं ।” (निकोलाइ बुखारिन एक बोल्शेभिक क्रान्तिकारी थिए, जो क्रान्तिको क्रममा ६ वर्षसम्म लेनिन र ट्रोट्स्कीसँगै निर्वासनमा परेका थिए । फेब्रुअरी क्रान्तिपछि उनी मस्कोमा फर्किए र त्यहाँ उनी बोल्शेभिक पार्टीको उच्च तहका नेताको रुपमा रहे । अक्टोवर क्रान्तिपछि उनी पार्टीको अखवार ‘प्राभ्दा’ का सम्पादक बने ।–अनुवादक)

लेनिनका ती पत्रहरु पार्टी सदस्यहरुबीच वितरण गरिएन । यद्यपि लेनिनले ती कुराहरु पार्टीको केन्द्रीय समितिलाई मात्र होइन बल्की पिटर्सबर्ग र मस्को पार्टी कमिटीहरुलाई समेत सम्वोधन गरी लेखेका थिए । सेप्टेम्बर २८ मा लेनिनका पत्रहरुबारे छलफल गर्न पार्टीको केन्द्रीय समितिको आपतकालिन विस्तारित बैठक बोलाइयो । बैठकमा सहभागी अधिकांशले लेनिनका पत्रहरु “गुपचुप नष्ट” गर्नुपर्छ भन्ने बिचार व्यक्त गरे । बिचारहरु बिभाजित भए । र, बैठकले लेनिनका ती पत्रहरुमा हरेकको एक प्रति मात्र संरक्षित गरी राख्ने र मजदुरहरुबीच कुनै पनि पत्र वितरण नगर्ने निर्णय गर्यो ।

योजनाबद्ध सत्ता कब्जाको कार्यक्रमबारे पार्टीका नेताहरुलाई बुझाउन लेनिन र ट्रोट्स्कीलाई कयौं हप्ताको समय लाग्यो ।

(वर्ल्ड सोसियलिस्ट वेभसाइटबाट)

अनुवाद – तुल्सीदास महर्जन

(Visited 345 times, 1 visits today)

टिप्पणी

comments