Main Menu

महान लेनिनको जीवनी

लेनिन, अक्टोबर क्रान्ति र लेनिनको निधन

(गत साउन ११ गते बुधवार सोभियत समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भलाई लिई त्यसका नायक महान लेनिनको संक्षिप्त जीवनी प्रकाशन सुरु गरेका थियौं । त्यसपछि साउन १४ गते शनिवार त्यसकै बाँकी दोश्रो खण्ड प्रकाशित गर्यौं । आज हामी तेश्रो वा अन्तिम खण्ड प्रकाशित गर्दैछौं ।  पहिलो र दोश्रो खण्ड हेर्नका लागि पहिलो दोश्रो मा क्लिक गर्नु होला ।-सम्पादक)

लेनिन क्रान्तिको नेतृत्व गर्न स्वीट्जरल्यान्डबाट पेट्रोगाद फर्कँदा रेल स्टेसनमा हजारौं मजदुरहरुले भव्य स्वागत गरे ।

१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।

लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।

पेट्रोग्राड शहरमा अप्रिल १७, १९१७ मा पार्टी बैठकभित्र बोल्दै लेनिन ।

यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।

सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।

अक्क्राटोबर २४, १९१७ मा क्रान्तिका लागि लाखौं मजदुरहरु पेट्रोग्राड शहरको सडकमा उत्रिंदै ।

२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रुपमा विश्वप्रसिद्ध छ ।

अस्थायी केरेन्सी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गर्न सशस्त्र मजदुर लडाकुहरु पेट्रोग्राड शहरको सडकमा लड्दै

लेनिनको हत्या प्रयास

सन् १९१९ मा अमेरिकी बेलायती र फ्रान्सेली सेनाहरुले मुर्मन्सर्क कब्जा गरे । यस प्रकारले साम्राज्यवादीहरुले सोभियत राष्ट्रविरुद्ध युद्ध सुरु गरे । अपदस्थ बिर्तावाल तथा पूँजीपतिवर्गले विदेशी आक्रमणकारीहरुको सहायताद्वारा गृहयुद्ध सुरु गरे । कम्युनिष्ट पार्टी र सोभियत जनताले छाती फर्काएर मातृभूमिको रक्षा गरे ।

क्रान्तिबिरोधीहरुको योजनामा लेनिनलाई गोली हानियो ।

साम्राज्यवादीहरुको निर्देशन र उनीहरुकै पैसामा बाँचेका रुसका क्रान्तिविरोधी शक्तिहरुले सोभियत सरकारविरुद्ध षड्यन्त्र रच्न थाले । लेनिन र उनका सहयोगीहरुको हत्या गर्ने योजना बनाउन थाले । सन् १९१८ अगस्ट ३० मा एसेर पार्टीकी सदस्य काप्लानले लेनिनमाथि गोली चलाइन् र लेनिन सख्त घाइते भए । रातदिन डाक्टरको उपचार र उहाँको आफ्नै धैर्यताको कारणले गर्दा लेनिनको स्वास्थ्य बिस्तारै सुध्रिँदै गयो । सम्पूर्ण सोभियत जनताले गरेको शिघ्र स्वास्थ्य लाभको कामनाले पनि लेनिनलाई आफ्नो स्वास्थ्य सुधार गर्न थप बल प्रदान गर्यो । सन् १९१९ को अन्त्यतिर लालसेनाले झन्डै सबैजसो मोर्चाहरुमा विजय हासिल गरिसकेको थियो । र, यसबाट राष्ट्रले सास फेर्ने मौका पायो । लेनिनको नेतृत्वमा बोल्सेभिक कम्युनिष्ट पार्टीले तुरुन्तै देशको अधिकाँश शक्ति आर्थिक निर्माणतर्फ लगायो । यातायात, इन्धन, उद्योग तथा अन्य महत्वपूर्ण आर्थिक क्षेत्रहरुको पुनरुत्थान सुरु भयो । समाजवाद तथा साम्यवाद निर्माणको लागि बृहत् उद्योगको विकास गर्नुपर्छ, देशकलाई बिजुलीकरण गर्नुपर्छ भन्ने कुरामा लेनिनले जोड दिए । मास्को नजिकैको सानो गाउँ कासिनोमा आफ्नो उपस्थितिमा बिजुलीबत्तीको उद्घाटन हुँदा लेनिन असाध्यै रमाए ।

लेनिनले अर्थव्यवस्थाको पुनरुत्थान कार्य कृषिबाट सुरु गर्नुपर्छ भन्ने कुरामा जोड दिए । कम्युनिष्ट पार्टी र सोभियत सरकारद्वारा प्रस्तुत नयाँ आर्थिक नीति पूँजीवादबाट समाजवादतर्फको संक्रमणकालको लागि एक मात्र सही नीति थियो । लेनिनले राष्ट्रमा विज्ञान र प्रविधिको क्षेत्रमा भैरहेको विकासप्रति गम्भीर रुपमा चासो दिन्थे । नयाँ आविष्कारप्रति उनी जिज्ञासा राख्थे र आविष्कारकहरुलाई प्रोत्साहित गर्थे । उनी जनतालाई सरकारको सेवा सर्वसुलभ रुपमा दिन र आर्थिक अनुशासनको कठोरतापूर्वक पालना गर्न ध्यान दिन्थे ।

अलविदा लेनिन

कडा परिश्रमको कारणले सन् १९१८ मा गोली लागेर भएको घाउ बल्झिँदा लेनिनको स्वास्थ्य निकै बिग्रिन गयो । सन् १९२१ को जाडोदेखि डाक्टरहरुको अनुरोधमा उनी अक्सर आराम र उपचारको लागि आफ्नो काम रोक्न बाध्य भए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । तर, अस्वस्थ भए पनि लेनिनले हरेक दिन सरकारी कामकाजको रेखदेख गर्न छाडेनन् । सोही वर्ष नोभेम्बरमा ग्लुखोभको कारखानाका मजदुरहरुको एक प्रतिनिधिमण्डलले गोर्की सहरमा लेनिनलाई भेट गर्यो । उनीहरुले १८ वटा चेरीका रुखहरु लेनिनलाई उपहारस्वरुप दिनको लागि लिएर आएका थिए । आत्मीय रुपमा भएको यस भेटघाटमा लेनिनलाई मजदुरहरुले महान् सोभियत संघको निर्माणमा उहाँले तयार पारेको विकासको रुपरेखा पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधा रातसम्म ग्लुखोभ कारखानाका मजदुरहरुले पठाएको शुभकामना पत्र बारम्बार पढेर बसे । मजदुरहरुसँग यो उनको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो ।

लेनिनको निधन ।

सन् १९२४ जनवरी २१ को दिन राती सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आकस्मिक प्लेनम बस्यो । केन्द्रीय समतिले जनताको नाममा एक अपिल जारी गर्यो । उक्त अपिलमा भनिएको थियो, ‘त्यस व्यक्तिको निधन भएको छ, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले युद्धको राँकोबीच दृढतापूर्वक सम्पूर्ण देशभरि अक्टोवर क्रान्तिको रातो झण्डा फहराएको छ, शत्रुहरुको विरोधको बाढी रोकेको छ र भूतपूर्व जारशाही रुसमा श्रमिकहरुको प्रभुत्व कायम गरेको छ । कम्युनिस्ट इन्टरनेसनलका संस्थापक, विश्व साम्यवादका नेता, अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रेम र गौरव, पददलित पूर्वेली जनताका झण्डावाहक, रुसी सर्वहारा अधिनायकवादका अगुवा आज हाम्रो बीचमा छैनन् ।’

निधनपछि लेनिनको पार्थीव शरीरमा फूल चढाई श्रध्दाञ्जली अर्पण गर्न लाममा बसेका सोभियत जनता ।

२३ जनवरीको दिन महान् नेताको देह गोर्की सहरबाट मास्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । अति जाडो भए तापनि चारदिनसम्म लाखौं मजदुर तथा किसानहरु, लालसेनाका जवानहरु र कर्मचारीहरु, बुढाबुढी तथा बच्चाबच्चीहरु र सोभियत भूमिको कुनाकुनाबाट आएका प्रतिनिधिमण्डलले आफ्ना प्यारा नेतालाई अन्तिमपटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । २७ जनवरीको दिन दिउँसो ४ बजे लेनिनको अन्त्येष्टी जुलुस निस्क्यो । लेनिनको शव लालमैदानमा विशेष रुपमा बनाइएको समाधिमा राखियो । शोकमा डुबेका सोभियत जनताले आफ्ना नेतासँग विदा लिए । अन्त्येष्टीमा पाँच मिनेटसम्म मौनधारणा गर्ने घोषणा गरियो । मोटर र रेलहरु रोकिए, कलकारखानाहरुमा काम रोकियो । विश्वभरिका श्रमिक जनताले आफ्ना महान् नेता शिक्षक एवं मित्र लेनिनसँग अन्तिम बिदा लिए ।

 

  • ध्रुबराज कार्की

 

(Visited 1,271 times, 1 visits today)

टिप्पणी

comments