Main Menu

गणित शिक्षकदेखि सभामुखसम्म महरा

फागुन २५, काठमाडौँ

mahara-short-biography

चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ ।

शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न सफल महरालाई राष्ट्रिय संकटमा गाँठो फुकाउन पर्दा धेरैले सम्झने गरेका छन् । उनको व्यक्तित्व एवं कूटनीतिक क्षमता पार्टीभित्रको आन्तरिक तथा मुलुकले झेल्दै आएको द्वन्द्व समाधानमा महत्वपूर्ण योगदान पुगेको धैरेको विश्वास छ । कसैलाई पनि नचिढाई निर्णायक भूमिका निर्वाह गरेकै कारण महरा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका साथै सबै राजनीतिक दललाई संयोजन गरेर अगाडि बढ्ने महत्वपूर्ण स्थानमा पुग्दै छन् ।

तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धलाई शान्तिपूर्ण तवरले व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका महरा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा थिए ।

वि.सं. २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक हुँदा महराले पार्टीलाई शान्तिको बाटामा ल्याई राष्ट्रलाई महत्वपूर्ण समाधान दिन महत्वपूर्ण योगदान गरे ।

मुलुक संघीय संरचनामा अगडि बढेलगत्तै गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दाङ २ बाट निर्वाचित महराले संविधानसभा सदस्यको दुवै निर्वाचनमा निर्वाचित भई समावेशी संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालय सम्हालिसकेका छन् । उनको अर्थमन्त्री कार्यकालमा देशले आर्थिक वृद्धिदरमा महत्वपूर्ण उपलब्ध हासिल गरेको थियो । त्यसैगरी परराष्ट्रमन्त्री हुँदा उनले देशको विदेश सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्यमा रहेर जिम्मेवारी सम्हालेका महराले २०६९ सालमा एकीकृत नेकपा (माओवादी) सातौंँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्यब्यूरो इञ्चार्ज भए । वि.सं. २०७१ मा एकीकृत नेकपा (माओवादी)को महासचिवमा निर्वाचित महरा २०७३ सालदेखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारीमा छन् ।

वि.सं. २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता महरा २०६५ सालको पार्टी एकतापछि पार्टीको स्थायी समिति सदस्य भएका थिए । वि.सं. २०६४ चैतमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनबाट दाङ ३ बाट निर्वाचित महरा २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए ।

वि.सं. २०३५–०३६ को विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका महरा सोही समयदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि थिए । वि.सं. २०३९ देखि २०४१ सम्म अनेरास्ववियुको आठौंँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्ष भएका थिए । उनी २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पाको मन्त्री र २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक थिए ।

वि.सं. २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता थिए । उनी वि.सं. २०५१ मा नेकपा (माओवादी)को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य भए । वि.सं. २०६१ मा नेकपा(माओवादी) पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका महरा वि.सं. २०६२ मा स्थायी समिति सदस्य र २०६२ मा पार्टी सचिवालय सदस्य भए ।

पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं. २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गरेका छन् ।

उनले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, जापान, प्रजग कोरिया, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिकालगायत मुलुक भ्रमण गरेका छन् । 

  • हरि लामिछाने
(Visited 359 times, 1 visits today)

टिप्पणी

comments