Main Menu

सरिता तिवारीका आँखामा पोखरेली साहित्यका दुई प्रवृत्ति

मेरो कविताको संक्रमण

कवि सरिता तिवारी ।

कवि सरिता तिवारी ।

‘गिन्सबर्ग, बुटपालिस र खापीभित्रको नगरा’मार्फत् निबन्धकार नारायण ढकालले कवि सन्तोष भट्टराई र एलेन गिन्सवर्गसित एकैसाथ साक्षात्कार गराइदिएको मिति ठ्याक्कै सम्झन्नँ तर त्यो मधुपर्क मासिकमा प्रकाशित थियो, यति हेक्का छ । कहिले न कता पत्रिका किन्ने सामान्य कविताप्रेमीले समाज र राज्यव्यवस्थाका नग्न यथार्थमाथि लेखिएका त्यस्ता डरलाग्दा कविताहरूको झलक भेट्नु असामान्य कुरा थियो । बाफ रे ! यसरी पनि लेखिन्छ कविता ? कविताको त्यस्तो रौद्ररूपसित भेटिने सायद त्यो मेरो प्रथम संयोग थियो । त्यसो त बुटपालिस आन्दोलनकै किस्साले पनि कम रोमाञ्चित बनाएको होइन । म जन्मिनुभन्दा पाँच वर्षअघि नै जम्मा एक दिनभरिमा त्यस्तो ‘आन्दोलन’ पनि भएको थियो यो देशमा ? त्यसपछिका कयौँ दिनसम्म मेरो मथिङ्गल बुटपालिस बिम्बले रन्थनिइरह्यो । त्यसपछि नै बसेको रहेछ ममा आलोचक र विद्रोही अभिव्यक्तिको लत । यही एउटा लेखभित्रका कविताले मलाई छिपछिपे नै भएपनि दिएका रहेछन् यथार्थमाथि निर्मम आलोचना गर्ने चेत । यसैका बाछिटासहित पोखराको कवि गोष्ठीमा पहिलोपटक सुनाएकी थिएँ मैले कविता–

मेरो कविता
युगको एउटा फोहर कुनाबाट फुटपाथमा निस्कन्छ
र पागल गीत गाउँछ
‘युगीन कविताका लाभाहरू ‘(बुद्ध र लाभाहरू)

भोक बिम्बमा लेखेको ‘ऊ र म’ कविताले मलाई ‘खान नपाएर मर्ने’ कविको परिचय दिएको थियो पोखरामा । ‘बाँच्नका लागि खाने कुन ‘कवयित्री’ आइपुगी यो क्याम्पसमा ?’ पिएन क्याम्पसका कतिपय साहित्यिक साथीहरू मलाई गिज्याउँदै सोध्थे । अन्य केही त्यस्ता कविताहरू थिए, जुन त्यो हड्बडे युवाकालका हिसाबले अनपेक्षित रूपमा बलिया थिए । मेरा यसप्रकारका कवितालाई पोखरेली काव्य परिसर प्रेमले हो वा संशयले हो, ध्यानपूर्वक सुन्थ्यो । कारण, जो कसैका कविताका पंक्तिहरू सारेर टाक्टुक पारी कविता सुनाउनु नवोदितहरूका मामलामा अक्सर चलिरहने क्रिया हो । तर मलाई के ! दिनकै जस्तो लेख्थेँ म कविता । भलै ती कविताजस्ता बनेका होउन् या नहोऊन् तर लेख्थेँ खुब उत्साहले । नवलपरासीबाट आईए पढ्न पोखरा पुगेकी त्यो नौली केटीका लागि त्यो बेला पोखरा नै कविताको ‘पिच’ थियो । आफ्नो कलावाजी प्रदर्शन गर्न केही आवेगहरू थिए साथमा । ‘समता काव्य सन्ध्या’ या ‘संरक्षण कविता आन्दोलन’कविताको क्राफ्ट सिक्ने पिँढी थिए । तर मेरो वैचारिक घ्राणग्रन्थी घरि रिमालको ‘आमाको सपना’भित्र अनधिकृत प्रवेश गरेर हुरीको हृदय अनुभूत गर्न खोज्थ्यो घरि जिम मरिसनको चिहान उधिनेर जागरण गीतका कप्टेरा जोड्न लालयित हुन्थ्यो । यसैबीच निस्केको हो मेरो पहिलो सङ्ग्रह ‘बुद्ध र लाभाहरू’ (२०५७), आवेगका टुक्राहरूको सिकारु सङ्कलन । आज मेरा कवितामा जे जस्तो रूप, आकार र रङ भेटिन्छ, त्यो यस्तै–यस्तै आवेगहरूका जगमाथि उभिएर बनेको हो ।

पोखराको साहित्यमा मूलतः दुइटा प्रवृत्ति सक्रिय थिए त्यो बेला । एउटा अलि बलियो, प्रभावशाली र सत्ता–सम्बन्धसहितको थियो । अर्को सापेक्षतः कमजोर देखिए पनि विचारमा लबस्तरो चाहिँ थिएन । देशको समकालीन मूलधारीय साहित्यमा कहलिएका, नाम र प्रतिष्ठा बनाएका कवि, लेखक र स्थानीय कलाकारहरूसहित कलासाहित्यमा रुचि राख्ने शिक्षा वा संस्कृतिसँग जोडिएका व्यक्तित्वहरूसमेत समेटिएको पोयुसाप (पोखरेली युवा साँस्कृतिक परिवार)ले अघिल्लो प्रवृत्तिको प्रतिनिधित्व गरेको थियो । यसले मासिक रूपमा कविता सुन्ने सुनाउने परम्परालाई समता काव्य सन्ध्याका नाममा वर्षौँदेखि कायम गरिरहेको थियो, जो अद्यापि चल्दै छ । टिकटमा मुक्तक, कला प्रदर्शनीलगागत केही विशेष कार्यक्रमहरू यसको वार्षिक क्यालेन्डरमा हुन्थे । जिज्ञासु नवसर्जक गएर प्रायः सबैभन्दा पहिले ठोक्किने यस गौँडामा माधव घिमिरेदेखि ईश्वरबल्भ, क्षेत्रप्रताप अधिकारी, मञ्जुल र श्रवण मुकारुङसम्मका स्रष्टाहरू झुल्किरहन्थे । यहाँ प्लेटफर्म थियो । चमक थियो । भीड पनि ठूलै थियो । साहित्यको अघोषित कक्षाका रूपमा आफूले केही ‘अब्बल‘ कविहरू उत्पादन गरिरहेकोमा यसलाई विशेष गौरव थियो । आफूलाई पोखराको नेतृत्वकारी साहित्यिक मञ्च बनाइरहन यो निरन्तर तल्लीन रहन्थ्यो तर वर्गीय पक्षधरता र सामाजिक दायित्वसहित परिवर्तनका पक्षमा खुलेर लेख्ने लेखकहरूलाई भने उपेक्षाको भावले हेथ्र्यो । पछि गएर राजनीतिक सिफारिसकै आडमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य र उच्च पदस्थ अधिकारी बन्ने ‘अवसर’प्राप्त गर्ने विद्वान साहित्यिकहरू खुल्ला रूपले लागेका वामपक्षधर कवि, लेखकप्रति सधैँ एउटै र रेडिमेड पूर्वाग्रह राख्थे । त्यस्ता कवि, लेखकहरूलाई ससम्मान आफ्ना मञ्चहरूमा स्थान दिँदैनथे । आफ्ना विशेष कार्यक्रमहरूमा यथोचित अवसर प्रदान गर्न समेत हिच्किचाउँथे । साहित्यिक क्रियाशीलतामार्फत् पक्षधरताको प्रदर्शन नगरेको स्थितिमा चाहिँ जुनसुकै विचारको स्रष्टा यहाँको सदस्यता प्राप्त गर्न र उपल्लो तहलाई प्रभाव पार्न सके पदाधिकारीसमेत बन्न सक्ने स्थिति हुन्थ्यो ।

दोस्रो प्रवृत्ति पनि कम थिएन । पूर्वनिर्धारित स्थायीखाले आग्रह उसको पनि सदाबहार स्वभाव थियो । ढाँचा र प्रभावका दृष्टिले प्रायः एकै प्रकारका वर्षमा दुई तीनचोटी गरिने साहित्यिक जमघट र आफ्नो मुखपत्रसहित सक्रिय ‘गण्डकी साहित्य सङ्गम’ पोखरालाई केन्द्र बनाएर प्रगतिशील पक्षधर साहित्यकलामाथि चिन्तन र प्रकाशनहरू गथ्र्यो । नवोदित लेखकहरूलाई आफूतिर आकर्षित गर्नमा यो गम्भीर भएजस्तो देखिँदैनथ्यो । एउटा कविता प्रतियोगिता र एउटा प्रशिक्षण कार्यक्रमबाहेक यसले उत्साही नवप्रतिभाहरूका लागि छुट्टै विशेष सरोकार वा इच्छाशक्तिसहित गरेको कुनै कार्यक्रम पोखरा बसाइभरको मेरो स्मरणमा छैन । मेरो सङ्गत र आउजाउ कम भएकाले पनि मैले गण्डकी सङ्गमको न्यानो कम पाएँ । पोखरामा प्रगतिशील लेखक सङ्घ पनि थियो । त्यसले टुँडीखेलको चउरमा गरेको एउटा कार्यक्रममा कवि, समालोचक सुकुम शर्मासित गएर सहभागी भएको सम्झना छ । नाम चलेका नेपाली प्रगतिवादी लेखक, समालोचकहरू रहेको गण्डकी साहित्य सङ्गम या प्रलेस कास्कीका सक्रिय स्रष्टाहरू आफ्नै नियमबद्ध मानसिकता र युवा स्रष्टाप्रतिको उदासीनताको समीक्षा गर्नभन्दा अर्को स्कुलको पिँढीमा उभिन पुगेका नवस्रष्टाप्रति अनावश्यक शङ्का अलि बढी गरेजस्तो लाग्थ्यो । उनीहरूको संशयको घेराभित्र पर्नेमा म पनि थिएँ निश्चित ।

मभित्र कविताको लागि असीमित उत्कण्ठा थियो । संरक्षण कविता आन्दोलन नामको गतिविधि भर्खर सुरु भएको बेला, त्यसमा आमन्त्रित भएँ । आफूलाई उत्पात ‘सौभाग्यशाली’ महसुस गर्दै म त्यो समूहमा मिसिएँ । पोखराका ‘क्रियटिभ’ युवा कविहरू त्यसमा थिए । दुई वर्षअघि संरक्षण कविता यात्रा भनेर चलेको पर्यावरण चेतनासहितको कवितात्मक अभियानलाई मुस्ताङको रानीपौवा गाउँमा पुगेर पाँच बुँदे घोषणापत्र जारी गरेपछि काव्यान्दोलन घोषणा गरिएको थियो । पाँच सूत्रीय घोषणापत्रमा गाउँमा गएर गाउँमै बसेर गाउँकै विषयमा तत् स्थानीय कविता रचना र वाचन गर्नुपर्ने मान्यतामा जोड दिइएको थियो । ग्रामीण कविता यात्रासँगै कवितामार्फत प्रकृति, संस्कृति र जनजीवनलाई सम्बोधन गर्नुपर्छ भनेपनि यो जीवन र संस्कृतिसित प्रत्यक्ष रूपले गाँसिएका सामाजिक र सांस्कृतिक अन्तरर्विरोधहरूप्रति मुखर र स्पष्ट आन्दोलन भने थिएन । कुनै ठाउँमा पुगेर तुरुन्तातुरुन्तै गरिएका रचनामा नाङ्गा आँखाले देख्न सकिने समस्याहरूसम्म लेखिन्थ्यो तर तिनका कारकहरूको खोजी गर्न सामाजिक प्रणालीभित्र पस्ने वातावरण उपलब्ध थिएन । साँच्चिकै गाउँ बुझ्ने र फेर्ने अभिप्रेरणाले यो थालिएकै थिएन । अहिले ठान्छु यस आन्दोलनमा सहभागी भएर कविहरूको सङ्गत प्राप्त गर्नु र कम्तीमा कविताले मानिसलाई जीवनका पक्षमा उभिने प्रेरणा दिनुपर्छ भन्ने कुरामा थप सजगता आउनु मेरो व्यक्तिगत उपलब्धि थियो तर यतिका वर्षहरूमा यो आन्दोलन एकल नेतृत्व र व्यक्तिकेन्द्री महत्वाकाङ्क्षाको मात्र उपज थियो भन्ने गाँठी कुरो बुझ्न नसक्नुलाई म आफ्नो कमजोरी ठान्छु । अठार वर्षे तन्नेरी वय नाघिसकेको यो ‘आन्दोलन’ यतिबेला वस्तुगत तथा सामयिक सोच र युवा जाँगरका बलमा हिँडेको होइन, मस्तले दगुरिरहेको भेटिनुपर्ने हो तर दृश्य नितान्त फरक छ । नेतृत्वमा सामूहिकीकरणदेखि वैचारिक अवधारणाहरूको व्यापक परिष्कार गरी तिनलाई मूर्त रूपले परिभाषित गर्नुपर्नेसम्मका कुरा बारम्बार उठिरहे पनि यसलाई साँच्चिकै निरन्तरको क्रियात्मक अभियान बनाउने उदारता नदेखिनु बडो बिडम्बनाको कुरा हो ।

संरक्षण कविता आन्दोलनको क्रममा कवि सरिता तिवारी, सरस्वती प्रतीक्षा, सुमनराज श्रेष्ठ, सरुभक्तलगायतका साहित्यकारहरु ।

संरक्षण कविता आन्दोलनको क्रममा कवि सरिता तिवारी, सरस्वती प्रतीक्षा, सुमनराज श्रेष्ठ, सरुभक्तलगायतका साहित्यकारहरु ।

तत् स्थानीय कविता रचनामै पनि एकाध दिनको बसाइमा प्राप्त प्रभावको सतही अभिव्यक्तिले उपेक्षित, उत्पीडित र सामाजिक जीवनको सबैभन्दा पिँधमा रहेका मानिसहरूसित गाँसिएर आउने ज्वलन्त प्रश्नहरू, जाति, भाषा र संस्कृतिभित्रका कहालीलाग्दा यथार्थहरूका बीच पुगेर तथ्यहरूको खोजी तथा प्रकाशन गर्ने कुरा सम्भव थिएनन् । वस्तुसङ्गत उद्देश्यमा नभई यसको रुचि ग्रामीण बस्तीमा कविहरूको आलङ्कारिक उपस्थितिमै केन्द्रित हुनु अर्को बिडम्बना हो । प्रकृति र पर्यावरणकै विषयलाई मात्र पनि कविताद्वारा पर्याप्त र सार्थक रूपले सम्बोधन गरी सिद्धान्तिकरण गर्न सकेको भए यसको महत्व र शान बेग्लै हुँदो हो । तर पछिल्ला केही वर्षहरूमा यो एक गतिशील अभियान होइन, वर्षमा एकाधपटक हुने साहित्यिक पर्यटनमा बदलिएको छ । प्रकटमा सामूहिक देखिए पनि आन्दोलन एक व्यक्तिको कपिराइटजस्तो बन्नु सोही व्यक्तिका लागि त सम्मानको कुरा होला तर अभियानका लागि भने प्रत्युत्पादक हुन्छ नै । यसलाई एक गतिशील, समाज सचेतन र सामयिक आन्दोलनका रूपमा अद्यावधिक गर्दै लैजाने कुरामा ठोस अग्रसरता वा तत्परताको गुञ्जायस कत्ति देखिएको छैन । साथीहरू के सोच्दैछन् कुन्नि, मचाहिँ यससित जोडिएर हिँड्नुको कुनै औचित्य देख्दिनँ । मेरो रोजाइको बाटो बेग्लै थियो र गन्तव्य पनि बेग्लै । त्यसैले बाटो छुटिनु स्वभाविक थियो, छुट्टियो । यात्री एउटा ट्रान्जिटमै अडिरह्यो भने कतै पुग्न हिँडेको सवारी छुट्छ नै । म अर्कैतिर पुग्न हिँडेको, अर्कै तिर्खा र चोटले हिँडेको । त्यहीँ उभिरहनु सम्भव थिएन । कम्तीमा पनि, त्यतिबेलाको गतिविधिले लेखक हुन कलात्मक सामथ्र्य चाहिन्छ भन्ने कुरा सिकायो । स–सानो र सामान्य अभ्यासले गतिलो कविता लेख्न सकिन्न भन्ने सिकायो । सिर्जनाका लागि गम्भीर बन्न सिकायो । यही अर्थमा ‘संरक्षण कविता आन्दोलन’का साथी कविहरूसित बिताएका सिर्जनात्मक क्षण र प्रेरक घटनाहरू सदैव स्मरणमा हुनेछन्, तर अब त्यस ‘आन्दोलन’सित मेरो अपनत्व समाप्त भइसकेको छ ।

इच्छुक, पाश र चेतनाको पराग

कविताको विचारसित ठोक्किँदै हिँड्दा कतै ‘इच्छुक’ भेटिन्थे कतै पाश । यिनीहरू मलाई सजिलै भेट्न आउने पात्र थिएनन् । पोखरा बगरको पिएन क्याम्पस गेटनेर दिदीको स्टेसनरी थियो । म दिदीसितै बस्थेँ । यो मेरा लागि पत्रपत्रिकामाथि सहज पहँुचको अवसर थियो । दैनिक र साप्ताहिक पत्रिकाकै भरमार लाग्ने त्यस किताब दोकानमा साहित्यिक पत्रिका पढ्ने ग्राहक खासै आउन्नथे । मधुपर्क, समकालीन या गरिमा यदाकदा मात्र पढिन्थ्यो । पाश या इच्छुकहरू त्यस्ता पत्रिकामा कहाँ भेटिनु ? इच्छुक, पूर्णविराम, ईश्वरचन्द्र ज्ञवाली, गङ्गा श्रेष्ठ आदिका कविता छापिने पत्रिका त गुमनाम बाटोबाट आउँथे र उत्तिन्खेरै सक्किन्थे । साप्ताहिक पत्रिकाहरूमा बानिरा गिरी, सुलोचना मानन्धर, बिन्द्या सुब्बाहरूका स्तम्भ आउँथे, भ्याएसम्म पढ्थेँ । ईश्वरबल्लभ र विमल निभाका लेखहरू पनि पछ्याउथेँ । श्यामल, गोविन्द वर्तमानलगायत नाम पनि झल्याकझुलुक देखिन्थे पत्रिकाकै दुनियाँमा । तर तिनका कृति पढ्न सुझाउने कस्ले ? पोखरामा तिनको नाम कसैका मुखबाट सुनेको सम्झना छैन । दिदीले स्टेसनरी बिक्री गरेपछि मेरो खुद्रापढाइ सङ्कटमा प¥यो । थोक पढाइको विकल्प थियो क्याम्पसकै हाताभित्र रहेको पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालय । त्यहाँ मदनपुरस्कार विजेता किताबहरूका अतिरिक्त केही कोर्सभित्रका र केही शास्त्रीय किताब मात्रै उपलब्ध थिए । प्रतिरोधी साहित्य कहाँ पढ्न पाउनु ?

कवि सरिता तिवारी ।

कवि सरिता तिवारी ।

त्यसैबीच कवि जे. अस्मिता प्रिन्सिपल रहेको बाटुलेचौरस्थित बोर्डिङ स्कुलमा मैले पनि पढाउन थालेपछि मेरो स्थिति फेरियो । दश पाँच रुपियाँ पनि कल्ले देला भन्ने दिन गए । आफ्नो पहिलो कविता सङ्ग्रह निकाल्ने पैसा बेग्लै राखेर प्रत्येक महिनाको तलबको केही अंश किताब किन्नकै लागि छुट्याउन थालेँ । ‘असल कम्युनिस्ट कसरी बन्ने?’ वा ‘माक्र्सवाद बुझ्ने सरल तरिका’जस्ता थुप्रै पुस्तिकादेखि निनु चापागाईँ, हावर्ड फास्ट, राहुल साङ्कृत्यायन र अरुन्धती रोय आदिका पुस्तकसम्मको किताबी दुनियाँमा आफ्नै कमाइले पस्न सक्ने भएपछि मलाई संसारै हलुङ्गो लाग्न थाल्यो । अनियमित नै भएपनि ‘मूल्याङकन’ र ‘नवयुवा’को पाठक थिएँ । सम्झना भएसम्म अवतारसिंह पाश ‘मूल्याङ्कन’ मासिकको कुनै अङ्कमा उनको परिचय खण्ड र दुईटा कवितासहित भेटिएका हुन् । समयान्तरमा नेरुदा र बे्रख्तलाई पनि ‘मूल्याङ्कन’मै भेटेजस्तो लाग्छ । ‘इच्छुक’का बारेमा भने सबभन्दा पहिलो चर्चा पोखराका कवि सुरेश रानाभाटको मुखबाट सुनेकी हुँ । सम्भवतः त्यो बेला ‘इच्छुक’ पक्राउ परेर भर्खरै रिहा भएका थिए । पिएन क्याम्पसको भानुपार्कमा सुरेशले कवि इच्छुकमाथि आफूले लेखेको कविता पनि सुनाएका थिए । जुरुक्क–जुरुक्क उचालिने स्वरमा तिनले आफूलाई खुब मन परेको भन्दै ‘त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थवाङ् हो’ र ‘प्रतिबन्ध’ शीर्षकका इच्छुकका कविताका हरफहरू समेत सुनाएका थिए । त्यतिखेर एउटा सानो समूह बनाएर कविता र साहित्यिक लेखसहितको स–सानो पत्रिकाको प्रकाशन गर्ने हुटहुटीले म, सुरेश र कवि राजेन्द्र पौडेल प्रायः बिदाको दिन भानुपार्कमा भेटिन्थ्यौँ । हामी एक–अर्काका कविता सुन्दै तिनमाथि टिप्पणीसमेत गथ्र्यौँ । स्नातक पढ्दै गरेका युवा थियौँ, तिनैजना करिब बीस एक्काइसको हाराहारीका । पोखराको साहित्यमा केही ‘गरेर देखाउने’ जोश र योजना थियो हाम्रो । खै के के कारणले हाम्रो त्यो योजना त सफल हुन सकेन । सुरेश र राजेन्द्रसँगको सङ्गतपछि नै हो ‘इच्छुक’प्रति मेरो रुचि बढेको, तिनका कविता पछ्याउन थालेको । पछि साहित्य सङ्गम चितवनले ०५८ सालको शरदान्ततिर उनको सम्मान गर्ने कार्यक्रम राख्यो र भेट सम्भव भयो । तर खासै लामो संवाद हुन पाएन ।

इच्छुक र पाश दुबै कविले भोगेको नियति करिब एउटै थियो । नेपालमा प्रतिरोधी कविता लेखकै कारण कष्टप्रद काराबास र दुःखद मृत्यु भोग्ने सुब्बा कृष्णलाल अधिकारी र सर्वस्व हरण गरिएका कवि चित्तधर हृदय पनि कम प्रेरणादायी लाग्दैनन् । कविको अविचल निष्ठा र विचारले मृत्युलाई समेत कति कलात्मक बनाइदिँदो रहेछ ! तर विचारकै लागि अडिग भएर प्रतिरोध गर्दा आर्तनादको समेत अवकाश नहुनु कति ठूलो बिडम्बना ! र पनि कविताको पराग कण कहाँकहाँबाट उडाइल्याउँछ हावाले र जन्मिन्छ फेरि कुनै ज्याद्रो कविजीव । समाजको मूलधार र शासकहरूको बर्बर आतङ्कसित लड्दालड्दै आफूले बोकेको विचारको साख र सौन्दर्यको ध्वजा झुक्न नदिई उनीहरूजस्ता संसारभरिका कविहरूले जोगाएको वैचारिक किल्ला एक भव्य स्कूल भइसकेको छ । यसले कविलाई विचारको कार्यकर्ता बनाउने मात्र होइन, जीवन र मरणको जटिल परिक्षामा समेत आमनेसामने गराइदिन्छ । यहाँ कविता लेख्नु कुनै ‘हबि’ पटक्कै होइन, बरु काम हो, जिम्मेदारी हो । यस अर्थमा कलाको विचार सापेक्षित यात्रामा आफ्ना कविताहरूले निर्वाह गर्न सक्ने सामाजिक र सांस्कृतिक भूमिकाका निम्ति जो सकेको प्रयत्न गर्नु मेरो लेखनको साध्य हो । यसो गर्दा मेरा रचनामा सार्वकालिक बन्न सक्ने शक्ति पनि रहेछ भने यिनले आफ्नो आयु लम्ब्याउन सक्लान् तर शास्वतताको खोजी या अमरत्वको कामना मेरो कविता लेखनको प्रेरणा होइन ।


(सरिता तिवारी प्रगतिशील लेखक संघ, चितवनकी अध्यक्ष हुन् । तिवारीको नयाँ कविता संग्रह ‘प्रश्नहरुको कारखाना’को भूमिकाको एक अंश)

(Visited 872 times, 1 visits today)

टिप्पणी

comments