Main Menu

तेन्जिङ नोर्गको जीवनी

तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ?

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको पहिलो भाग यहाँ प्रस्तुत गरिन्छ ।– सम्पादक)

tenzing-norgey-climb-everestकसरी पुगे तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको चुचुरोमा ? तेन्जिङको जीवन कस्तो थियो ?

तेन्जिङ नोर्गे पर्वतारोहणको क्षेत्रमा एउटा त्यस्तो अजर र अम्मर नाम हो, जसको सम्झना नेपालमा मात्र हैन, भारतमा मात्र हैन, विश्वभर नै अति सम्मान र श्रद्धाका साथ गरिने गर्छ । नेपालको एउटा दुर्गम र विकट गाउँ त्सा–चुमा जन्मेका एउटा अति साधारण परिवारका व्यक्ति तेन्जिङको नाम मानव इतिहासकै पाटोमा अब असाधारण र अविस्मरणीय नाम बनिसकेको छ । संसारकै सर्वोच्च शिखर सगरमाथामाथि पहिलोपटक पाइला टेक्ने मान्छेको रुपमा उनी विश्व इतिहासमै अमर पात्रका रुपमा स्थापित हुन पुगेका हुन् । यसरी, प्रकृतिमाथि मानव विजयको इतिहासको श्रृंखलामा तेन्जिङको नाम नमेटिने गरी लेखिनुको पछाडिको कथा कम रोचक, रोमाञ्चक र साहसिक छैन !

सगरमाथाको काखैमा जन्मेका तेन्जिङको बाल्यकालदेखिकै सपना सगरमाथाको शिखरमा पुग्ने थियो । र, आफ्नो यो सपनालाई पूरा गर्न आफ्नो जीवनको करिब २० वर्ष लामो ऊर्जामय समय तेन्जिङले सगरमाथामा मान्छे पुग्ने प्रयासको प्रायः सबै अभियानहरुमा कुनै न कुनै रुपमा सहभागी हुँदै बिताएका थिए । यस क्रममा उनले त्यस्ता अभियानहरुमा एउटा सामान्य भरियाको रुपमा देखि लिएर सरदार एवं अभियान दलकै सम्मानित सदस्यका रुपमा समेत सहभागी भएका थिए । सगरमाथामाथि विजय गर्ने प्रयासमा लागेका सन् १९३५, १९३६, १९३८ र १९५३ का व्रिटिश आरोहण दलका साथ मात्र हैन, सन् १९४७ मा अर्ल डेनम्यानका साथ पनि उनले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तेन्जिङमा सगरमाथा चढ्ने कस्तो अनौठो धुन थियो भने, उनले आफ्नो जीवनको महत्वपूर्ण उर्जामय समयहरु सगरमाथा चढ्ने प्रयासमै समर्पण गरेका थिए ।

एक पटक उनले भनेको थिए, “मेरो भित्री मनदेखि कै इच्छा नै सगरमाथाको शिखरमा जाने थियो … सगरमाथाको आकर्षण मेरो लागि संसारको अन्य कुनै पनि शक्तिको आकर्षणभन्दा धेरै गुना बढी शक्तिशाली थियो ।”

वास्तवमै, सगरमाथामाथि विजय हासिल गर्ने मानव प्रयासहरुमा तेन्जिङको सहभागिता उनका समकालीन अन्य शेर्पाहरुको जस्तो जीवनयापनको दृष्टिले मात्रै हैन, जसरी भए पनि सगरमाथा आरोहण गरी छाड्ने इच्छा, धून र समर्पणको नतिजा थियो । त्यसैले, तेन्जिङको यो धून, यो समर्पण र यो उत्साहलाई विश्लेषण गर्नेहरु अझै पनि भन्ने गर्छन्, “वास्तवमै तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिका हकदार नै थिए ।”

सगरमाथा आरोहणका क्रममा ब्रिटिश पर्वतारोही रेमण्ड लेम्बर्टका साथ तेन्जिङ नोर्गे

हुन पनि, सन् १९५३ सम्ममा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी समय बिताउने मानिस सम्भवतः उनी नै थिए । एडमण्ड हिलारीसँग मिलेर सगरमाथा आरोहण गर्नुभन्दा एक महिना पहिले मात्रै उनले स्वीस आरोहण दलमा सहभागी भएर रेमण्ड ल्यामबर्टका साथ सगरमाथाभन्दा करीब १ हजार फीट तलसम्म पुगेका थिए । सम्भवतः त्यसबेलासम्म संसारको सबैभन्दा अग्लो स्थानमा मान्छे पुगेको क्षण नै त्यही थियो ।

‘भाग्यमानी’ भरिया केटो

तेन्जिङलाई विश्वप्रसिद्धि दिलाउने सगरमाथाबाट करीब ३२ किलोमिटरको दूरीमा रहेको नेपालको सोलुखुम्बुस्थित एउटा दुर्गम र विकट गाउँ थामेमा बसोबास गर्ने एउटा साधारण शेर्पा परिवारमा तेन्जिङ शेर्पाको जन्म भएको थियो । तेन्जिङका परिवारको स्थायी बसोबास थामे गाउँमा थियो । तर तेन्जिङको जन्म भएको बेला उनका आमा पूर्वी नेपालस्थित शेर्पाहरुको लागि पवित्र स्थान मानिने त्सा–चुस्थित घाङ ला नाम गरेको बिहारमा थिए । त्यहाँ नै उनको जन्म भएको थियो ।

तेञ्जिङ नोर्गे शेर्पाको जन्म सन् १९१४ मे महिनामा भएको हो । उनको यो जन्ममिति तिब्बती चन्द्रवर्ष पात्रोको आधारमा तोकिएको हो, किनभने त्यसबखत जन्मदर्ताको चलन थिएन । १३ जना सन्तान रहेको परिवारमा तेञ्जिङ एघारौं सन्तान थिए ।

तेन्जिङको खास नाम नाम्ग्याल वाङ्दी थियो । उनको यो नाम स्थानीय एक जना प्रसिद्ध लामाले बदलिदिएर तेन्जिङ नोर्गे राखिदिएका थिए । शेर्पा भाषामा नोर्गेको अर्थ हुन्छ– भाग्यमानी (fortunate) अर्थात् सधैं सुखद भाग्य भएको र मौकाले साथ दिने व्यक्ति ।

याक चराउने ठिटो भागेर दार्जिलिङ पुगे !

तेन्जिङले आफ्नो बाल्यकाल उच्च हिमाली इलाकाहरुमा याक चराउँदै बिताएका थिए भने करीब १३ वर्षको कलिलो उमेरमै उनी सुन्दर भविष्य निर्माणको सपना बोकेर, सगरमाथा चढ्ने आफ्नो सपना पूरा गर्ने बाटो भेटिएला कि भन्ने आशा बोकेर घरबाट भागेर नेपालको राजधानी काठमाडौं आएका थिए । तर काठमाडौंमा उनी जम्न सकेनन् । फेरि काठमाडौंमा बस्दा सगरमाथा आरोहणको आफ्नो सपना पूरा हुने छाँट पनि उनले देखेनन् । अतः उनी पुनः गाउँ फर्के ।

त्यसको करीब पाँच वर्षपछि अर्थात् सन् १९३२ मा पहिलेजस्तै फेरि घरबाट भागेर उनी दार्जिलिंग पुगे । यसरी घरबाट भागेर दार्जिलिङ जानुको पछाडि पनि उनको एउटै इच्छाले काम गरेको थियो, त्यो हो– सगरमाथा आरोहणको प्रयासमा जुटेका व्रिटिश दलमा कुनै पनि हालतमा सहभागी हुने र सगरमाथा चढिछाड्ने । त्यसबेला नेपाल विदेशीहरुका लागि निषेधित थियो र त्यसबेलासम्म सगरमाथा आरोहणका जति पनि प्रयासहरु भएका थिए, उत्तरी मोहडातर्फबाट भएका थिए । यसक्रममा, सगरमाथा आरोहणका लागि भएका सन् १९२१ को पहिलो प्रयासदेखि नै व्रिटिशहरुले दार्जिलिङमा बसोबास गरेका शेर्पाहरुलाई आरोहणमा मद्दतका लागि भरिया लगायत विभिन्न कामहरुका लागि दलमा सहभागी गराएका थिए । यही कारण नै तेन्जिङ पनि आफू व्रिटिश आरोहण दलमा सहभागी हुन पाउने ठूलो आशा र सपना बोकेर दार्जिलिङतिर हानिएका थिए ।

जब तेन्जिङ भरिया बने !

तेन्जिङ नोर्गेका लागि सुखद संयोगको कुरा, उनले एरिक शिप्टनले नेतृत्व गरेका सन् १९३५ को व्रिटिश आरोहण दलमा भरियाको रुपमा सहभागी हुने मौका पाए । त्यसबेला उनी भरखरै १९ वर्षे ठिटो थिए । यसरी, अब तेन्जिङले हिमाल आरोहणमा जाने मौका पाए । आफूले सानैदेखि देखेको सगरमाथा आरोहणमा जाने सपना साकार भएकोमा तेन्जिङ हर्षले नाचे !

गोराहरुको मन जितेपछि…

सगरमाथा शिखर आरोहणको व्रिटिश प्रयासमा सहभागी बनेको पहिलो चरणमै तेन्जिङ हिमालसँग पैठेजोरी खेल्ने आफ्नो विशिष्ट क्षमता र कलाका कारण व्रिटिशहरुका प्रियपात्र बन्न पुगे । सन् १९३५ को यो आरोहणको बेला तेन्जिङको काम, हिमाल चढ्ने खुबी एवं सहयोगी व्यवहारले सगरमाथा आरोहणको प्रयासमा एकछत्र रुपमा जुटेका गोरा व्रिटिशहरुको मन जित्यो । यसरी गोराहरुको मन जितेपछि त प्रत्येक व्रिटिश आरोहण दलमा तेन्जिङको उपस्थिति अनिवार्य जस्तै हुन थाल्यो । सन् १९३५ को आरोहण प्रयासको लगत्तै सन् १९३६ र १९३८ को व्रिटिश आरोहण दलमा पनि तेन्जिङ समावेश गराइए ।

दोस्रो विश्वयुद्धका कारण सगरमाथा आरोहणका व्रिटिश प्रयासहरु स्थगित हुन पुग्यो । तर तेन्जिङले शिखर आरोहणका आफ्ना प्रयासलाई पूर्णविराम लगाएनन् । यसबीचमा उनले भारतको नन्दादेवी, पाकिस्तानको तिरिच मीर र नागा पर्वत, अनि नेपालको लाङटाङ क्षेत्र र भारतको गढवाल क्षेत्रका शिखरहरु आरोहण गर्ने टोलीमा सहभागी भएर पर्वतारोहणको आफ्नो कर्मलाई जारी राखे । यसक्रममा उनले सन् १९४८ मा तिब्बतमा गरिएको पुरातात्विक अनुसन्धानमा पनि सहभागी भएका थिए । दोस्रो विश्वयुद्ध कालमा तेन्जिङले भारतीय सेनाको स्की प्रशिक्षक भएर पनि काम गरेका थिए ।

भरियाबाट सरदार बन्दासम्म !

दोस्रो विश्वयुद्धको समाप्तिपछि संसारमा धेरै उथलपुथल र परिवर्तनहरु भए । यी उथलपुथल र परिवर्तनहरुबाट नेपाल पनि अछुतो रहन सकेन । फलतः यसअघि विदेशीहरुका लागि निषेधित नेपालका सीमाहरु पनि अब विदेशीहरुका लागि खुला गरिए । यसै समयमा तिब्बतलाई चीनले आफ्नो कब्जामा लियो । यसले गर्दा अब उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने प्रयासहरुमा पनि पूर्णविराम लाग्न पुग्यो । अब सगरमाथा आरोहणको प्रयासमा व्रिटिशहरुको एकाधिपत्य रहेन ।

व्रिटिश आरोहण दलमा भरियाको रुपमा काम गरेर सगरमाथा आरोहणको प्रयासमा जुटेका तेन्जिङ यतिबेलासम्म पर्वतारोहीहरुमाझ स्थापित नाम भइसकेको थियो । यसबेलासम्म आइपुग्दा उनी भरिया हैन, भरियाहरुका नाइके तथा पर्वतारोहीहरुलाई हिमाल चढ्न बाटो देखाउने तथा मद्दत गर्ने सरदार नै बनिसकेका थिए ।

यसबीच, सन् १९५२ मा तेन्जिङलाई सगरमाथा आरोहणको प्रयासमा जुटेको स्वीस आरोहण दलमा सहभागी हुन बोलाइयो । यस दलमा उनी फगत भरिया वा अन्य त्यस्तै सहभागीका रुपमा हैन, बरु एउटा सम्मानित र अनुभवी पर्वातारोहीका रुपमा सगरमाथा आरोहणको प्रयासमा सहभागी हुन डाकिएका थिए । यस आरोहण दलमा सहभागी भएर तेन्जिङ लामबर्टका साथ सगरमाथाको शिखरभन्दा ७७८ फिट तलसम्म अर्थात् २८,२५० फिटसम्म पुग्न सके । त्यसपछि हिउँदमा गरिएको दोस्रो आरोहण प्रयास चाहिँ खराब मौसमका कारण परित्याग गरिएको थियो ।

क्रमशः

(भाग २ अर्को हप्ता)

(Visited 930 times, 1 visits today)

टिप्पणी

comments