Main Menu

साहित्यकार शक्ति लम्सालको सम्झनामा कार्यक्रम

साहित्यकार तथा पत्रकार शक्ति लम्साल

साहित्यकार तथा पत्रकार शक्ति लम्साल

मंसिर २८, काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार तथा पत्रकार शक्ति लम्सालको सम्झनामा काठमाडौंमा स्मृति कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघको आयोजनामा शनिबार उक्त कार्यक्रम भएको हो ।

स्मृति कार्यक्रममा बोल्दै माक्र्सवादी समालोचक तथा सांस्कृतिक चिन्तक निनु चापागाईंले २०२० को दशकमा सञ्चालित राल्फा गतिविधिकै अवधिदेखि आफ्नो लम्सालसँग संगत भएको चर्चा गरे । चापागाईंले कमरेड शक्ति लम्साल आफ्नो वर्ग छाडेर शोषित पीडितको पक्षमा लागेको भन्दै उनी म्याक्सिम गोर्कीले भनेझैँ दरिलो वर्गद्रोही भएको जिकिर गरे ।

प्रगतिशील लेखक संघमा पनि शक्ति लम्सालसँगै काम गर्ने अवसर आफूलाई मिलेको सन्दर्भ जोड्दै चापागाईंले उनको व्यक्तित्व र योगदानका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।

समालोचक डा. जगदीशचन्द्र भण्डारीले लम्साल छद्मभेषी लेखक र पाखण्डी पत्रकार नभएको भन्दै उनको इमान्दारिता नै सबैभन्दा प्रेरक पक्ष भएको बताए । ‘उहाँले जति गर्नुभयो, इमान्दारिताका साथ गर्नुभयो, हाम्रा लागि यो नै उहाँको जीवनको प्रेरणाको विषय हो,’ भण्डारीले भने ।

कार्यक्रममा बोल्दै समालोचक निनु चापागाईं

कार्यक्रममा बोल्दै समालोचक निनु चापागाईं

कार्यक्रममा लम्सालकी जीवनसँगिनी कृष्णा लम्सालले शक्ति लम्सालसँग आफूले बिताएका संघर्षशील जीवनको सम्झना गरिन् ।

२०१० को दशकदेखि नै साहित्य र प्रगतिवादी सांस्कृतिक आन्दोलन एवम् सञ्चार क्षेत्रमा निरन्तर संघर्षरत शक्ति लम्सालको एक महिनाअघि काठमाडौंमा निधन भएको थियो । लम्साल प्रगतिशील लेखक संघको केन्द्रीय समिति र पदाधिकारीमा रहेर पनि काम गरिसकेका स्रष्टा हुन् । नेपाली वामपन्थी सांस्कृतिक आन्दोलनका अथक योद्धाका रुपमा प्रसिद्ध लम्साल ‘जनादेश’ पत्रिकाका सम्पादक समेत रहिसकेका थिए । उनकाे साहित्यिक र समालोचनात्मक पुस्तक पनि प्रकाशित छ ।

प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरीको अध्यक्षतामा सम्पन्न स्मृति कार्यक्रममा महासचिव मित्रलाल पंज्ञानीले सञ्चालन र उपाध्यक्ष मातृका पोखरेलले स्वागत गरेका थिए ।

(Visited 278 times, 1 visits today)

टिप्पणी

comments