Main Menu

क्युवाली क्रान्ति नायक

फिडेल क्यास्ट्रोको निधन

चीर निद्रामा फिडेल क्यास्ट्रो

चीर निद्रामा फिडेल क्यास्ट्रो

मंसिर ११, काठमाडौं । मध्य अमेरिकी देश क्युवाका पूर्व राष्ट्रपति तथा विश्वविख्यात कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा आज निधन भएको छ । स्थानीय समय अनुसार शुक्रवार राती १०ः२९ बजे अर्थात् नेपाली समय अनुसार आज बिहान ९ः१४ बजे उनको निधन भएको समाचार क्युवाली स्रोतलाई हवाला दिंदै बिबिसिले जनाएको छ । रातीको समयमा अचानक क्युवाको राष्ट्रिय टेलिभिजन मार्फत् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाका क्रान्ति नायक फिडेल क्यास्ट्रोको निधनको घोषणा गरेसँगै तत्कालै हजारौं क्युवालीहरु राजधानी हवानाको सडकबाहिर निस्की दुःख र पीडाले अलाप विलाप गर्न थालेको समाचार छ ।

सन् १९२६ अगस्त १३ मा जन्मेका फिडेल क्यास्ट्रोले २७ वर्षको कलिलो उमेरमा विश्वक्रान्तिका अर्का नेता चे ग्वे भारासँग मिली क्युवामा सन् १९५३ जुलाई २६ बाट अमेरिकी कठपुतली फुल्जेनिसियो बाटिस्टाको सरकारबिरुद्ध गुरिल्ला युद्ध छेडेका थिए । पाँच वर्ष पाँच महिना छ दिन लामो गुरिल्ला युद्धपछि क्यास्ट्रो–चे नेतृत्वको क्रान्तिकारी बिद्रोही सेनाले सन् १९५९ जुलाई १ तारिखमा अमेरिकी कठपुतली बाटिस्टा सरकारलाई अपदस्थ गरी हवानामा क्रान्तिको झण्डा फहराए । र, लगतै नायक फिडेल क्यास्ट्रोको प्रधानमन्त्रीत्वमा क्रान्तिकारी सरकारले क्युवामा शासन सत्ता सम्हाल्यो । क्यास्ट्रो प्रधानमन्त्री भए लगतै पराजयले पागल बनेको राष्ट्रपति जोन एफ केनेडिको नेतृत्व रहेको अमेरिकी सरकारले सन् १९६० को अक्टोबर १९ बाट क्युवाबिरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गर्यो । त्यो नाकाबन्दी आधाशताब्दी पछाडि भर्खरै राष्ट्रपति बाराक ओवामाको पालामा आएर मात्र फुकुवा गरिएको अमेरिकी सरकारले घोषणा गरेको छ ।

फिडेल क्यास्ट्रोले सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्रीको रुपमा क्युवाली क्रान्तिकारी सरकारको नेतृत्व गरे । त्यसपछि सन् १९७६ को डिसेम्बरदेखि २००८ सम्म उनले क्युवाका राष्ट्रपतिको रुपमा रही क्युवाली क्रान्तिलाई अगुवाइ गरे । बयासी वर्षको उमेरसम्म क्युवाली क्रान्तिलाई सक्रिय नेतृत्व दिएपछि सन् २००८ मा उनलाई शारीरिक रुपमा आफु कमजोर महसुस भयो । र, उनले क्युवाली कम्युनिस्ट पार्टी र क्युवाली सरकारको नयाँ नेतृत्व चयन गर्नका लागि पार्टी तथा क्युवाली प्रतिनिधि सभामा आह्वान गरे । राष्ट्रपति तथा क्रान्ति नायक फिडेल क्यास्ट्रोको आह्वानपछि क्युवाली कम्युनिस्ट पार्टीले अर्का क्रान्ति नायक राहुल क्यास्ट्रोलाई पार्टी नेताको रुपमा चयन गर्यो भने क्युवाली प्रतिनिधि सभाले उनैलाई क्युवाका नयाँ राष्ट्रपतिको रुपमा चयन गरेको थियो । नाताले राष्ट्रपति राहुल क्यास्ट्रो फिडेल क्यास्ट्रोका भाइ हुन् भने सन् १९५३ देखि १९५९ सम्म क्युवामा चलेको ५ वर्ष लामो गुरिल्ला युद्धका उनी एक प्रमुख कमाण्डर थिए । सन् १९७६ मा फिडेल क्यास्ट्रो क्युवाका राष्ट्रपतिमा निर्वाचित हुँदा राहुल क्यास्ट्रो प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
फिडेल क्यास्ट्रो र चे ग्वे भाराको संयुक्त नेतृत्वमा सम्पन्न क्युवाली क्रान्तिले क्युवामा बीसौं शताब्दीको ६० को दशकमा समाजवादी व्यवस्थालाई स्थापना गर्यो । आफ्नै आंगननजिक समाजवादको स्थापना भएको र आफूले आफ्नो कठपुतली सरकारमार्फत् क्युवाको प्राकृतिक स्रोत साधनलाई दोहन गर्दै आएको विश्व पुँजीवादका नायक अमेरिकालाई क्युवाबाट आफू बाहिरिनु परेको घटना सहिनसक्नु भयो । त्यही कारणले अमेरिकाले क्युवालाई आधा शताव्दीसम्म आर्थिक नाकाबन्दी थोपर्यो । साथै उसले क्रान्ति नायक फिडेल क्यास्ट्रोलाई आफ्नो गुप्तचर संस्थामार्फत् सयौं पटक हत्या गर्ने असफल प्रयास गर्यो । तर, ऊ कहिल्यै सफल हुन सकेन ।

क्युवाली क्रान्तिको सफलताले मध्य अमेरिकी देशहरु निकारागुवा, एलसाल्भाडोर, बोलिभिया, होन्डुरस, मेक्सिको, चिली, ब्राजिल, अर्जेन्टिनालगायत दर्जनौं देशहरुमा बिभिन्न किसिमले समाजवादी आन्दोलनहरु भए । कहिँ सशस्त्र आन्दोलन त कहिँ लोकतान्त्रिक निर्वाचनलाई प्रयोग गरी त्यहाँका जनताले देशभित्र अमेरिकी हस्तक्षेपलाई समाप्त पार्ने तथा राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानहरु संचालन गरे । निष्कर्षमा मध्य अमेरिकी क्षेत्रमा समाजवादी आन्दोलनको उभार ल्याउन क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रोको अभिभावकत्व एउटा पे्ररणाको स्रोत नै बनेको छ । ती नै महान क्रान्तिकारीको आज निधन भएको छ । र, आज विश्वभरको समाजवादी खेमा त्यसमाथि पनि विशेषतः मध्य अमेरिकी क्षेत्रका जनताहरु शोकमा डुबेका छन् ।

अहिले विश्व समाजवादी क्रान्तिका नायक तथा क्युवाली क्रान्तिका पर्याय बनेका बितेका फिडेल क्यास्ट्रोको पार्थिव शरीर राजधानी हवानामा राखिएको छ । उनलाई क्युवाली समय अनुसार शनिवार दाहसँस्कार गरिने समाचार छ ।

(Visited 649 times, 1 visits today)

टिप्पणी

comments