Main Menu

अहिलेसम्मकै सबैभन्दा लामो दूरीमा मार हान्न सक्ने अनुमान

उत्तर कोरियाद्वारा पुन: क्षेप्यास्त्र परीक्षण

असार २०,  सोल । उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । पश्चिमा राष्ट्रहरुको इच्छा र आग्रह बिपरीत उत्तरले मङ्गलबार सो क्षेप्यास्त्र परीक्षण गरेको बुझिएको छ ।

मङ्गलबारका पश्चिमा सञ्चारमाध्यमहरुले यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचारमा ल्याएका छन् ।

यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ । किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

सोमबारमात्र भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरले जारी राखेको सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बिगत लामो समयदेखि जारी तनावपूर्ण अवस्थाका बारेमा कुराकानी गरेको भोलिपल्टै उत्तरले आज यो परीक्षण गरेको छ ।

यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको सम्म भनेका छन् ।

यसअघि उत्तर कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको जनाएका थिए । तर, यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने असम्भव भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको वार्तापछि गरेको ट्वीटमा उत्तर कोरियाको यस आणविक परीक्षणको कामलाई वाहियात भनेका छन् र यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गरेका छन् ।

कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनको अहम भूमिका हुने अमेरिकी भनाई रही आएको छ । उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि हालै अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको यो बारम्बारको क्षेप्यास्त्र परीक्षणको खेती रोक्न आग्रह गरेका थिए ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको पश्चिमाहरुको प्रतिक्रिया रहेको छ ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानबाहेक विशेषत: पश्चिमी जगतले यस्तो आणविक परीक्षणको क्रियाकलाप तत्कालै रोक्न उत्तर कोरियालाई कैयाँ पटकसम्म आग्रह गरी आएका छन् । तर, उत्तरले पश्चिमाहरुको आवाजलाई वास्ता नगरी आफ्नो सुरक्षाको लागि क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको दावी गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे पछिल्लो समयमा बढी मात्रामा नै चासो लिएको पश्चिमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनले आफू राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका हुन् ।

यो परीक्षणलाई उत्तर कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि उत्तर कोरियाली नेताको प्रतिक्रिया के आउँछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् ।

यो परीक्षणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा भनेका छन्– यो मान्छे (सम्भवत उत्तर कोरियाली नेतालाई लक्षित) उसको जिवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ?

रासस र एएफपीका अनुसार उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकैको एक समुद्रबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको छ । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५ सय किलोमीटरसम्म मार हान्न सक्ने क्षमता रहेको अनुमान जापानले गरेको छ ।

(Visited 113 times, 1 visits today)

टिप्पणी

comments