Main Menu

विदेशबाट फर्केका युवाले गरे माछापालन

 

migrant-worker-fish-farmingअसार २०, गोरखा । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् ।

तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् ।

सोह्रजना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए । यीमध्ये ८ जना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए ।

“यहाँ वर्षमा दुई पटक माछा उत्पादन गर्ने गरिन्छ ।” थापाले भने, “बजारमा पठाउँदा प्रतिकेजी रु ३०० मा पठाइन्छ भने एक/दुई किलो बेच्दा प्रतिकेजी रु. ४०० पर्छ ।’’

आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवन जस्ता सहरमा माछा बिक्री गर्न लगिन्छ । विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको ती युवा बताउँछन् ।

व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ । पोखरी खन्न कार्यालयबाट रु. १ लाख ४० हजार प्राप्त भएको थापाले बताए । पोखरीको सङ्ख्या वृद्धि गरी थप माछापालन गर्ने तयारीमा उनीहरु जुटिरहेका छन् । अहिलेसम्म रु. ३० लाख भन्दा बढी लगानी भइसकेको छ ।

यस्तै, विदेशबाट फर्किएका युवा कल्लेरीमा पनि लाफा नमुना कृषक समूह गठन गरेर व्यावसायिक कृषि उत्पादनमा जुटेका छन् । समूहमा १० जनामध्ये ८ जना साउदी, कतारलगायत देशमा काम गरेर फर्किएका युवा छन् । समूहका अध्यक्ष शिवराना मगरकाअनुसार ६ रोपनी क्षेत्रफलमा ९ वटा माछापोखरी, कुखुरापालन, १० रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायतका मौसमी/बेमौसमी तरकारीखेती र ७ रोपनीमा केराखेती गरिएको छ ।

अर्का कृषक झक्कल थापाका अनुसार स्थानीय जातका सुँगुरपालन पनि सुरु गरिएको छ । यस्तै, तरकारीखेती र माछापालन वृद्धि गर्ने तयारी पनि गरिएको छ । उनीहरुमा धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेर्दैआएका छन् । समूहका सदस्यलाई एक-एकवटा कामको जिम्मेवारी तोकिएको छ । बजार प्रवर्द्धन गर्ने र हरहिसाब दुरुस्तै राख्ने काम समूहकै सदस्यले गर्छन् ।

३७ रोपनी जग्गा भाडामा लिएर युवाले एकवर्ष अघिदेखि कृषि व्यवसाय गर्दैआएका हुन् ।

“अहिलेसम्म रु एक करोड लगानी गरिसकियो ।” उनले भने, “विदेशमा कमाएको रकम, मनकामनाको साना किसान वित्तीय संस्थाबाट लिएको रु ५० लाख ऋण र जिल्ला कृषि विकास कार्यालयबाट पाएको अनुदान सहयोगले व्यवसाय अघि बढाउँदैछौँ ।”

तरकारीखेती सिँचाइका लागि सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने मेसिन राखिएको छ । यसका लागि थोपा सिँचाइ कार्यक्रम मार्फत रु. ३० हजार र माछापोखरी निर्माणका लागि रु. ५० हजार अनुदान कार्यालयबाट उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए ।

यसवर्ष ६० वटा पोखरी निर्माण गर्न कार्यालयले अनुदान दिएको थियो । बजारमा माछाको माग बढ्दै गएपछि कृषक व्यवसायिक माछापालनमा जुटेका हुन् ।

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments