Main Menu

महिला हिंसा/महिला मुक्ति

आइमाई नै आइमाईको शत्रु किन ?

  • उर्मिला पोखरेल

नारी समानताविरोधी पुरुषहरु भन्ने गर्छन् –हाम्रो समाजमा आइमाई नै आइमाईको शत्रु छन् । नारीहरुकै कारणले गर्दा नारीहरुले अधिकार र स्वतन्त्रता नपाएको कुराको पुष्टी गर्न उनीहरु थुप्रै उदाहरणहरु प्रस्तुत गर्ने गर्छन् । जस्तो, घरघरमा हुने सासुबुहारी माझको झैझगडा, नन्दआमाजु, भाउजुबुहारी, जेठानीदेउरानीबीच एकअर्कालाई सताउने परिस्थिति पनि आइमाई आइमाई माझकै सम्बन्ध हो ।

छोरा र छोरी, छोरा र बुहारीमाझको असमान व्यवहारमा, लगाउने कुरामा, खानेकुरामा, पढ्ने कुरामा, जागिर खान दिने नदिने कुरामा, बाहिरफेर हिंडडुल गर्न दिने नदिने कुरामा पक्षपात गर्नमा महिलाहरु नै बढी सक्रिय हु्न्छन् र आमा स्वयंले छोराको तुलनामा छोरीलाई हेलाँ गर्ने गर्छन् ।

छोरी बुहारीको कमाई खान्नँ भन्ने कुरामा, अछूत महिलामाथि निम्न कोटीको व्यवहार गर्ने कुरामा, छोरी वा बुहारीलाई रुढीवाद र अन्धविश्वास मान्न लगाउने कुरामा पनि महिलाहरु नै बढी सक्रिय हु्न्छन् र शिक्षित भै जागिरे भैसकेका महिला कर्मचारीहरुमाझ हुने एकअर्काको डाढो, शत्रुतापूर्ण प्रतिद्वन्द्वी भावना (जो पुरुष कर्मचारीहरुमा पनि हुन्छ, तर बाहिर कमै देखिन्छन्) पनि यसैको एउटा रुप हो ।

यस्ता उदाहरणहरुमा हाम्रा शिक्षित भनिएका महिलाहरुको पनि सहमति रहने गर्छ । यो हाम्रो समाजको यथार्थ हो ।

तर के साच्चै नारी नै नारीको शत्रु हो त ?

सरसर्ती हेर्दा त्यस्तो देखिए तापनि वास्तवमा यसको कारण नारीहरुभित्र रहेको सयौं वर्ष अघिदेखि थोपरिएको पुरुष हैकमवादी मानसिकता रहेको छ । यो मानसिकताले गर्दा कतिपय शिक्षित भनिएका आइमाई पनि नै आइमाईको शत्रु् बन्न पुगेका छन् ।
यसरी आइमाई नै आइमाईको शत्रु हुनुका पछाडि यी सोचहरुले काम गरेका पाइन्छन् ।

१. पुरुषप्रधान धारणको विद्यमानता

माथि पनि उल्लेख गरियो हाम्रो समाजमा महिलाहरुको मन मस्तिष्कमा पुरुषप्रधान सोचले गहिरो जरा गाडेको पाइन्छ, जसले गर्दा उनीहरु परिवारमा आपूmलाई प्रमुख भूमिकामा राख्दैनन् । घर व्यवहारका सम्पूर्ण अपठ्यारा र झिँझोलाग्ने कामहरु आफूले गरे तापनि घरायसी ठूलाठूला निर्णयका बखतमा भने हामी आइमाई केटाकेटीले केह ीगर्न सक्दैनौं भनेर पन्छिने र आफ्ना लागि गरिने र गरिएका निर्णयहरु पनि चुपचाप सहँदै लागु गर्ने बानी अधिकांश महिलाहरुमा पाइन्छ ।

२. घरेलु हिंसाप्रति स्वीकारोक्ति

हाम्रो समाजमा महिलाहरुमाथि थुप्रै प्रकारका शारीरिक र मानसिक घरेलु हिंसाहरु हुने गरेका छन् । स्वास्नीमानिसको कुनै गल्ती नै नभईकन पनि पुरुषद्वारा आप्mनो गल्ती ढाकछोप गर्न र उसलाई पन्छाउने उद्देश्य समेतले अनाहकमा लगाइएका थुप्रै लान्छनाहरु र अपजसहरु नारीहरुले खेपिरहेका छन् । लोग्नेद्वारा स्वास्नीलाई रक्सी खाएर वा त्यत्तिकै कुट्ने, शारीरिक चोट पुर्याउनेजस्ता काम कुराहरुलाई समेत पनि शिक्षित भनिएका महिलाहरुबाट नै पनि विरोध हुने गर्दैन । पुरुषका त्यस्ता प्रवृत्तिहरुलाई निरुत्साही पार्नुको सट्टा अथवा त्यस्ता पुरुषलाई सजायँ दिलाउनुको सट्टा बरु उल्टो पीडित स्वास्नीमानिसलाई नै ‘नसहेर के गर्नु ? स्वास्नी मान्छे भएपछि सहनु नै ठूलो धर्म हो ।’ भनेर पुरुषहरुलाई नै नाजायज काम र व्यवहार गर्न छुट दिने गरेको पाइन्छ । स्वास्नीमानिस भनेको पृथ्वी हो, उसले सबै कुरा सहेर पैतालामुनि छोप्नुपर्छ भन्ने लोकोक्तिलाई अक्षरशः पालना गर्ने निहुमा नेपाली महिलाहरुले घरेलु हिंसालाई सहजै स्वीकारेको देखिन्छ ।

३. आइमाई दोश्रो दर्जाको नागरिक

स्वास्नीमानिसहरु आफू जति नै लेखपढ गरेको भएपनि ‘लोग्ने मानिसहरुसरह हुन हामी कहाँ सक्छौं र ?’ भनी आफैले आफूलाई तल्लो श्रेणीको नागरिकसरह ठान्ने गर्छन् । उनीहरु आफूलाई पतिसरह त हुनै नक्ने मान्छन् । आफूलाई पतिको दासजस्तै मान्ने गर्छन् । त्यसैले उनीहरु पतिको खुट्टामा ढोग्ने, पतिभन्दा सधैं पछाडि खाने, पतिको खुट्टाको घिनलाग्दो पानी खाने, पतिको जुठोपूरो खाने र खानुपर्छ भन्ने, नखानेलाई हेयको दृष्टिले हेर्ने गर्छन् । नारीहरु रजस्वला हुनु भनेको कलंकिनी हुनुसरह हो भनी आफैले आफूलाई अपवित्र मान्ने र पुरुष सधैं चोखो रहने भएकोले आफूभन्दा उच्च हुन्छन् भन्ने धारणाले नारीहरु ग्रस्त छन् ।

उनीहरु परापूर्व कालदेखि महिलाहरुलाई होच्याउन बनाइएका नियमहरु र स्वस्नीमानिसले शालिग्राम पूजा गर्नु हुँदैन, श्राद्धमा पिण्ड दिनु हुँदैन, क्रिया बस्नु हुँदैन भन्नेजस्ता चलनहरुलाई पालना गराउँन स्वयं नै कटिबद्द हुने गर्दछन् ।

४. घरेलु कामलाई आफैले हेलाँ गर्ने

महिलाहरुले बच्चा जन्माउने गहन प्राकृतिक दायित्व निर्वाह गरिरहेका छन् । उनीहरुले त्यसको कारणबाट जति नै पीडित बन्नु परेतापनि त्यसलाई चुपचाप सहेर सृष्टिलाई निरन्तरता दिइराखेका छन् । तर, यसरी महिलाहरुले बच्चा जन्माउने, हुर्काउने र यो सँगसँगै गर्नु परिरहेका थुप्रै घरेलु भातभान्सा, चुलोचौका लगायतका कामहरुलाई हाम्रो समाजले अत्यन्तै हेय ठान्ने गरेको छ । समाजमा आजका अधिकांश महिलाहरु आफैसमेत यस्तो कामलाई तल्लो दर्जाको काम ठान्ने गर्छन् । त्यसैले उनीहरु आफ्नो भागमा सयौं वर्ष अघिदेखि परेको घरेलु काममा आफ्ना छोरा, श्रीमानलाई र घरका अन्य पुरुष सदस्यलाई सामेल गराउनु हुन्न भन्ने ठान्छन् । उनीहरु पुरुषहरुले यस प्रकारका घरेलु कामहरु गर्नु हुन्न भन्ने सोच बोकेका देखिन्छन् । त्यसैले उनीहरु घरेलु कार्यको व्यवस्थापनमा पुरुष वर्गलाई सहभागी गराउनेतर्फ पटक्कै सजग छैनन् । पुरुषहरुले घरेलु काममा सहभागी हुनु हुँदैन भन्ने सोचको उनीहरु प्रवक्ता नै बनिरहेका हुन्छन् । यसले गर्दा घरेलु कामको कहिल्यै नटुंगिने बोझ नारीहरु एक्लैले बोक्नु परिरहेको छ ।

५. आत्मनिर्भरताको वकालत नगर्नु

सीताले एमए पढेर प्राध्यापन गर्न थालेपछि मात्र विवाह गरेकी हुन् । भर्खर १२ कक्षा सिध्याएकी छोरीको विवाहको कार्ड लिएर उनी साथी रश्मीलाई बोलाउन आइन् । किन बिएसम्म पनि नपढाई छोरीको बिहे गर्न हतार गरेको त ? भनेर रश्मीले सोध्दा सीता भन्छिन्– ‘राम्रो घरबाट कुरा आयो, पछि के हो, कस्तो हो भनेर नाइँ भन्न सकिँन ।’

यस्ता उदाहरणहरु हाम्रो समाजमा प्रशस्तै भेटिन्छन् । यसबाट हाम्रो समाजका अधिकांश महिलाहरुमा आफू आत्मनिर्भर बन्नुपर्छ र आफ्ना छोरी बुहारीलगायत घरका अन्य महिला सदस्यहरुलाई समेत आत्मनिर्भर बनाउनुपर्छ भन्ने भावनाले प्राथमिकता पाएको देखिँदैन । उनीहरु छोरीलाई आत्मनिर्भर बनाउनुभन्दा चाँडो विवाह गर्न हतार गर्छन् । साथै उनीहरु छोरीबुहारीको कमाई खानुहुन्न भन्नेजस्ता तर्क राख्छन् र छोरीबुहारीले नकमाए पनि हुन्छ भन्ने धारणा राख्छन् ।

६. सामाजिक सोचको अभाव

अधिकांश शिक्षित महिलाहरु घरभन्दा बाहिरको भनौं समग्र समाजको कुनै कुरामा पनि सरोकार राख्दैनन् । सामाजिक सरोकारको कुरालाई उनीहरु आफ्नो दायित्व नै ठान्दैनन् । फुर्सदमा उनीहरुको ध्यान र समय कामलाग्ने कुुराभन्दा बढी काम नलाग्ने कुराहरुमा गएको देखिन्छ । यसो हुनुमा शिक्षित भनिएका महिलाहरुले पनि कोर्सको किताबभन्दा बाहेकका चेतना अभिबृद्धि गर्ने सामग्रीहरुको अध्ययन चिन्तन र मनन गर्ने गरेको देखिन्न । कोर्सका किताबको माध्यमबाट हामीले निश्चित कक्षा पास गरेतापनि त्यसको माध्यमबाट मात्रै हामी पूर्ण रुपले मानवीय, संवेदनशील र सामाजिक बन्न सक्दैनौं । यो कुराको हेक्का राख्न सक्ने क्षमता भएर पनि हेक्का नराख्ने महिलाहरु हामीकहाँ धेरै छन् । यसले गर्दा उनीहरुको दिमाग साँघुरो हुन गई उनीहरु झिनामसिना कुरामा अल्झिने, समस्यालाई हल गर्न अवैज्ञानिक पुरानै तरीका प्रयोग गर्न र अस्वस्थ व्यवहार गर्न समेत पुग्छन् ।

७. सहनशीलताबारे गलत सोच

हाम्रो समाजमा सहनुलाई नारीको धर्म भनिन्छ । त्यसैले शिक्षित नारीहरु पनि धेरैजसो जस्तोसुकै अन्याय परेतापनि आफ्नो परम्परा र संस्कृति भनेर कुनै विरोध नगरी चृपचाप सहिरहन्छन् । यसले गर्दा अन्यायपूर्ण व्यवहार गर्ने मान्छेको मनोवल बढ्ने गरेको छ ।

८. सचेत बन्न नखोज्ने

‘रुढीगत व्यवहार धान्ने काम आइमाईको हो’ भनेर समाजमा व्याप्त अन्धविश्वासलाई जस्ताको तस्तै मान्ने गर्नाले पनि महिलाहरु माझको सम्बन्ध राम्रो नभएको पाइएको छ । हाम्रो समाजका अधिकांश शिक्षित महिलाहरु सचेत बन्नुको सट्टा नयाँनयाँ रुढीगत व्यवहारमा समेत रमेका देखिन्छन् । उनीहरु फेसन र नांगोपनलाई आफै महत्व दिने काम गरी विना फेसनको असली व्यक्तित्व निर्माणमा लाग्ने गर्दैनन् । यसबाट उनीहरु पुरुषभन्दा कयौं कुरामा पछि परेका छन् । लवाइखवाइको मामलामा आपसी अस्वस्थ प्रतिश्पर्धा गरी महिलाहरु आफैमाझ शत्रुतापूर्ण व्यवहारसमेत गर्न पुग्छन् ।

तर, जसरी आइमाईको शत्रु आइमाई नै भनेर प्रस्तुत गरिने गरिन्छ त्यसमा एक्ली स्वास्नीमानिसको मात्रै जिम्मेवारी र गल्ती रहेको छैन । बेमेल र झैझगडा त लोग्नेमान्छे लोग्नेमान्छेको माझ पनि प्रशस्त हुन्छ । एउटै घरका बाबु छोरा, दाजुभाइ माझ त शत्रुतापूर्ण व्यवहार हुन्छ भने भिन्नभिन्न परिवारबाट आएका महिलाहरुमाझ यो हुनु स्वाभाविकै हो ।

सदियौंदेखि चलिआएको हाम्रो धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराहरुले शिक्षित महिलाहरुको दिमागमा पनि गहिरो जरा गाडेको पाइन्छ । यस्ता परम्पराहरुले हामीभित्र पुरुष हैकमवादी मानसिकता थोपरिदिएको छ । हाम्रो सोच अवैज्ञानिक छ, हामीमा लैंगिक सचेतता पटक्कै छैन ।

हामी महिलाहरुको दिमागमा दास मनोवृत्ति पनि लादिएको छ । हामी एक थरीबाट हेपिएका छौं, अथवा माथिबाट हेपिन्छौं र अर्कोथरिलाई अथवा तलकालाई हेप्न चाहन्छौं । हामी बलियोबाट हेपिने र निर्धालाई हेप्ने चलनलाई राम्ररी पालना गरिरहेका छौं । यसले पनि महिलामहिला माझको सम्बन्धलाई सौहार्दपूर्ण हुन दिइरहेको छैन ।

यसरी हेर्दा के देखिन्छ भने नारीहरुको मन–मस्तिष्कमा लादिएका र जमेर रहेका खराब चिन्तहरुको कारण आइमाई–आइमाईबीच नै शत्रुता कायम हुने गरेको हो । खराब चिन्तन हटाउने अभियान नै यो समस्याको समाधानको एकमात्र उपाय हुनसक्छ ।

(Visited 542 times, 1 visits today)

टिप्पणी

comments