Main Menu

घरेलु हिंसाका अधिकांश उजूरीमा मिलापत्र

साउन १६, राजविराज

आर्थिक वर्ष २०७४\०७५ मा दर्ता भएका अधिकांश घरेलु हिंसाका उजूरी मिलापत्र भएको छ ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजूरी मिलापत्र भएको पाइएको छ । आव २०७४\०७५ मा दर्ता भएका २४५ वटा घरेलु हिंसाका उजूरीमध्ये १६९ वटा उजूरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताउनुभयो ।

घरेलु हिंसाको उजूरीमा गरिने छलफलमा दुवै पक्ष औषधोपचार खर्च र क्षमायाचना पछि मिल्न राजी हुने हुँदा अधिकांश उजूरीमा सहमति हुने गरेको प्रहरी निरीक्षक तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार निवेदकले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाब सिर्जना भई सहमतिको सम्भावना बढने गरेको छ ।

२०७४ साउनदेखि २०७५ असारसम्ममा २४५ उजूरीमध्ये खान लगाउन नदिई कुटपिट गरी घर निकाला गरेको ३४, खान लगाउन नदिएको ३१, मादकपदार्थ सेवन गरी कुटपिट गरेको १४, विवाह दर्ता र नागरिकता प्रमाणपत्र बनाएको १२, दाइजो नल्याएको भनी यातना दिएको सात, बहुविवाहको धम्की दिइएको २४, दोस्रो पत्नी ल्याई हेला गरेको तीन उजूरी परेको थियो ।

सेवा केन्द्रका आर्थिक शारीरिक र मानसिक यातना दिएको अन्य १२० उजूरीसमेत दर्ता भएका थिए । मिल्ने अवस्थासम्म प्रहरीमा मिलापत्र गराउने भएका कारण मुद्दाका पीडित र आरोपित पक्षलाई राखी उनीहरुको समस्याबारेमा छलफल गरीे महिला तथा बालबालिका सेवा केन्द्रले सहजीकरण गर्ने गरेको केन्द्रका प्रहरी रामबहादुर मगरले बताउनुभयो ।

मादकपदार्थ सेवन वैदेशिक रोजगार, दाइजो, छोरी जन्मिनु र पति पत्नी र घरपरिवारका सदस्यबीचको मनमुटावका कारण घरेलु हिंसा भई प्रहरीमा उजूरी पर्ने गरेको सेवा केन्द्रले जनाएको छ ।

केन्द्रमा परेका उजूरीमध्ये धेरैजसो घटना घरायसी झैँंझगडाका कारण घरमा खान नदिने विवाह दर्ता, नागरिकता नबनाई हेला गर्ने, कुटपिट गर्ने गरेको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकले देखाइएको छ ।

(Visited 220 times, 1 visits today)

टिप्पणी

comments