Main Menu

पारिजातका समग्र कृतिहरुमध्ये उत्कृष्ट कृति ‘अनिँदो पहाडसँगै’ नै हो—निनु चापागाईं

(वि.सं. २०५० वैशाख ५ गते निधन भएकी सुप्रसिद्ध साहित्यकार पारिजातको निधन भएको पच्चीस वर्ष बितेको छ । हरेक वर्षझैं हिजो वैशाख ५ गते उनको स्मृतिमा उनको प्रतिमा स्थल काठमाडौं म्हेपिस्थित ‘पारिजात स्मृति केन्द्र परिसर’को सभा हलमा माल्यार्पण र सभा गरी पारिजातलाई सम्मान एवं आदरका साथ स्मरण गरिए । प्रतिष्ठानका वर्तमान अध्यक्ष एवं वरिष्ठ जनगायक एवं संगीतकार रायन श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त सभामा माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर र प्रदेश सभासद बसन्त मानन्धरले पारिजातका योगदानहरु र उनीसँग विगतमा आफूहरुले बिताएका क्षणहरुको चर्चा गरे । निकै छोटो समयमा सम्पन्न उक्त सभामा साहित्यकार पारिजातको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आइरहेको बिभिन्न पुरस्कारबाट यसवर्ष पुरस्कृत हुने व्यक्तित्वहरुको नामावली सभा सञ्चालक एवं प्रतिष्ठानका वर्तमान सदस्य सचिव स्नेह सायमीले पढेर सुनाए ।

पारिजात स्मृति सभामा बोल्दै माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेल ।

घोषणा गरिए अनुसार पारिजात सिर्जन सम्मान -२०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान – २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान-२०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान -२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिने भएको छ ।

यसै सन्दर्भमा सुप्रसिद्ध साहित्यकार पारिजातको निधनको एक महिनापछि वि.सं.२०५० जेठमा पारिजातसँग धेरै नजिक रही प्रगतिवादी साहित्य एवं साँस्कृतिक आन्दोलनमा निरन्तर लाग्दै आएका समालोचक निनु चापागाईंसँग पारिजातबारे मूल्याङ्कन मासिक पत्रिकाले लिएको अन्तर्वार्ता यहाँ पुनः प्रकाशित गरिन्छ ।—सम्पादक)

निनु चापागाईं

राल्फा आन्दोलनदेखि पारिजातसँग निकट रहनुभएको र पछि पनि उहाँका कृतिहरूको अध्ययन गरिरहेको एउटा समीक्षकको हैसियतले पारिजातको समग्र साहित्ययात्राप्रति तपाईंको निचोड के रहेको छ ?

पारिजातसित मेरो भेट २०२२ सालको बीचतिर भएको हो । त्यतिखेर पारिजातले आफ्नो जीवनका अत्यन्त कष्टप्रद दिनहरू गुजारेर ‘शिरीषको फूल’ उपन्यास लेखिसक्नु मात्र भएको थियो । त्यतिखेर उहाँलाई गम्भीर रूपमा बुझेर, आकर्षित भएर म उहाँकहाँ गएको थिइनँ । आकस्मिक रूपमा एक जना साथीले मलाई उहाँकहाँ लिएर गएका थिए । अहिले आएर पारिजातको सम्पूर्ण जीवनलाई केलाएर हेर्दा मलाई कस्तो लाग्दछ भने उहाँ अत्यन्तै संवेदनशील र प्रखर आत्मबल भएकी व्यक्ति हुनुहुन्थ्यो । उहाँ जे कुरामा लाग्नुहुन्थ्यो भित्री दिलदेखि र पूर्ण रूपमा लाग्ने गर्नुहुन्थ्यो । यस अतिरिक्त, पारिजात त्यस्तो व्यक्ति हुनुहुन्थ्यो जसमा केही गरेर देखाउने तीव्र महत्त्वाकाङ्क्षा हुन्छ । यस महत्त्वाकाङ्क्षाले उहाँलाई ठुल्ठुला विवादमा पनि मुछेको छ । सानैदेखि उहाँमा रहेको यो महत्त्वाकाङ्क्षा र पाठ्यक्रममा राखिएको साहित्य पढ्दा साहित्यप्रति बढेको अनुरागले नै उहाँलाई साहित्य क्षत्रमा तानेको हो भन्ने मलाई लाग्दछ ।

पारिजातमा संस्कृति, शिष्टता, सौन्दर्यप्रति बढी नै रुचि भएको मैले पाएको छु । नयाँ कुराप्रति उहाँको तीव्र आकर्षण रहेको पनि मैले पाएको छु । उहाँलाई राल्फासम्म ल्याइपुर्याउने काम मूल रूपमा यही विशेषताले गरेको हो र ‘साहित्य सन्ध्या’ मार्फत् नयाँ पुस्ताका कविहरूसित बढी पुग्ने उहाँको लगाव पनि यसैको उपज हो ।

सानैदेखि पारिजात विरोधी प्रकृतिको मानिस हुनुहुन्थ्यो । बाबुले उहाँलाई डाक्टर बनाउन चाहनुभएको थियो । बाबुको साहित्यप्रति पटक्कै रुचि थिएन । साहित्यकार नबनोस् भन्ने उहाँ चाहनुहुन्थ्यो । तर पारिजात डाक्टर नबनेर साहित्यकार नै बन्नुभयो । बाबु र परिवारका विरुद्ध गएका यस्ता थुप्रै घटनाहरू छन् । अर्को कुरो उहाँ अरू कसैसित हार नमान्ने स्वभावको हुनुहुन्थ्यो । यस स्वभावले उहाँलाई बेलाबेलामा हानिसमेत पुर्याउने गरेको थियो । तैपनि उहाँ  हार मान्न तयार हुनुहुन्नथ्यो ।

एक समालोचकको आँखाले तपाईंले पारिजातलाई हेर्दा उहाँको साहित्यिक योगदानलाई कस्तो पाउनुभएको छ ?

नेपाली साहित्यमा खासगरी प्रगतिशील साहित्यमा उहाँले ठुलो र अमूल्य योगदान पुर्याउनुभएको छ । पारिजातले झन्डै झन्डै छत्तीस वर्षको अवधि नेपाली साहित्यको सेवामा लगाउनुभएको छ र यस अवधिमा उहाँले बीसवटा जति कृति दिनुभएको छ । यो सानो योगदान होइन ।

कतिपय समालोचकहरूले पारिजातको मूल्याड्कन गर्ने क्रममा उहाँको साहित्यिक यात्रालाई मोटामोटी दुई खण्डमा विभाजित गरेर हेर्ने गरेका छन् । पहिलो, अस्तित्ववादी, विसङ्गतिवादी अवधि र दोस्रो, प्रगतिवादी पारिजातका रूपमा । म यस किसिमको स्थूल विभाजनको वा समीक्षाको विपक्षमा छु । कसैकसैले सङ्क्रमणकालीन पारिजातका रूपमा राल्फाको अवधिलाई पनि गाँस्ने काम गरेका छन् । पारिजातको समग्र मूल्याड्कनमा यो पनि पर्याप्त हुन्छ जस्तो मलाई लाग्दैन ।

कथा, उपन्यास र संस्मरणमा पारिजातले आफ्नो कौशल देखाउनुभएको छ तापनि उहाँको लेखनको सुरुआत भने कविताबाटै भएको थियो । उहाँको पहिलो कवितासङ्ग्रह ‘आकाङ्क्षा’ २०१४ सालमा प्रकाशित भएको थियो । यो समय भनेको पारिजातको बीस वर्षे युवती हुँदाको अवस्था थियो । यसमा भएका कवितामा उहाँको उमेरको छाप पर्याप्त छ । यसमा भएका कविताहरूलाई म मोटामोटी रूपमा स्वच्छन्दतावादी र भावुक प्रकृतिका रचना मान्दछु ।

त्यसो भए तपाईं पारिजातको लेखनका मोडहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?  

पारिजातको साहित्ययात्रालाई म मूलतः चारवटा मोड वा अवधिहरूमा विभाजित गर्नु उचित ठान्दछु । पछिल्लो अवधिमा उहाँमा केही वैचारिक विचलन आएको छ भन्ने पनि मैले अनुभव गरेको छु ।

मैले भर्खरै उल्लेख गरेको कवितासङ्ग्रह ‘आकाङ्क्षा’मा अभिव्यक्त भएको रोमान्टिक प्रवृत्तिको अवधि उहाँको साहित्ययात्राको पहिलो अवधि हो । यो प्रवृत्ति समालोचक ईश्वर बरालद्वारा सम्पादन गरिएको ‘पारिजातका केही कविताहरू’शीर्षकको कवितासङ्ग्रहका केही कविताहरूमा पनि पाइन्छ । पारिजात बिरामी पर्नुभन्दा अघिका उहाँका कविताहरू यही प्रकृतिका रहेका छन् । तिनमा भावुकता छ, प्रेमयाचना छ, विरह–वेदना आदि छन् । कुनै युवकलाई सम्बोधन गरेर पोखिएका अभिव्यक्तिहरूकै सेरोफेरोमा ती कविताहरू छन् । ईश्वर बरालले यस प्रवृत्तिलाई ‘नव्य रोमान्सेली’ प्रवृत्ति भन्न रुचाएका छन् । मूलतः यो स्वच्छन्दतावादी प्रवृत्तिअन्तर्गत नै पर्दछ र यसको विषयवस्तु बढी प्रेमसँग नै सम्बन्धित थियो ।

पारिजातको लेखनको दोस्रो अवधि हो–२०१९ देखि २०२१ सम्मको अवधि । पारिजात आफैंले यस समयलाई आफुले भोगेका सबभन्दा कष्टप्रद दिनहरू भन्नुभएको छ । उहाँ त्यतिखेर निकै बिरामी पर्नुभएको थियो । २०२२ साल पनि झन्डै यस्तै समय हो । २०२२ सालमा उहाँले मदन पुरस्कार प्राप्त गर्नुभयो ‘शिरीषको फूल’ उपन्यासमा । ‘रोगी प्रेमिकाको पत्र’, ‘मृत्युको अँगालोमा’, ‘नसोध यो घाउ’, ‘मेरो पपलरको रूख’, ‘सँगै मरौं’, ‘उपायहीन साँझ’ जस्ता उहाँका केही चर्चामा आउने गरेका कविता यसै अवधिमा लेखिएका हुन् । एउटा खेमा विशेषले यी कविताको चर्चा बेला–बेलामा गरिरहने गरेको पाइन्छ । उहाँको यो प्रवृत्ति वास्तवमा २०२५ सम्म नै तानिएको छ । ‘आदिम देश’ कथासङ्ग्रहमा भएका कथाहरू र पछि लेखिएको उपन्यास ‘महत्ताहीन’ पनि यही कोटि र प्रवृत्तिभित्र पर्दछ । यस प्रवृत्तिलाई हामी अस्तित्ववादी–विसंतिवादी प्रवृत्ति भन्न सक्तछौं ।

यस अवधिको उहाँको लेखनको प्रवृत्ति बुझ्नका लागि उहाँकै शब्दहरूले हामीलाई मद्दत गर्दछन् । त्यतिखेरको आफ्नो स्थितिका बारेमा उहाँले भन्नुभएको छ– उपचार गर्दागर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरुपाय भएकी म अथवा भनौं उपचारको कुनै विकल्प नपाएकी मैले जीवनलाई त्यसरी नै लिइदिएँ ।..चरम पीडित क्षण…यातना खप्न नसकेर क्रमशः पलायन हुँदै जान्छु–निरर्थकता, अर्थहीनता र विसंगतितिर । मेरो निम्ति तयार थियो एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र उड्नलाई अनास्थाका आवरणहरू । मलाई मान्छेहरूको माया लाग्न छोड्छ र आफ्नै पनि । म आफ्नो जीवनलाई अभिशाप ठान्न थाल्छु ।….हात र गोडाका जोर्नीहरू खुम्चिएर एक ठाउँ भएका छन्, अब कसैले उठाइदिनुपर्छ, सुताइदिनुपर्छ । म सम्पूर्ण रूपमा परजीवी भैसकेको छु । ..रात भने तन्द्रा अवस्थामा बित्छ, सुत्नुको भान नै हुँदैन मलाई । …सोच्छु यस्तै त हो नि जीवन । …आशा, सङ्घर्ष र विश्वासजस्ता मानवीय मूल्यहरू एक एक गर्दै मेरो अघि मर्न थाल्छन् (यौटा चित्रमय शुरुवात) ।

माथि उल्लेख भएका ‘शिरीषको फूल’लगायतका रचनाहरूमा पारिजातले यिनै मानसिकतालाई अभिव्यक्ति दिनुभएको छ । पारिजात स्वयम्ले नै आफुलाई मानवमूल्य र जीवनमूल्यबाट यतिखेर पलायन भएको स्वीकार्नुभएको छ । पछि नकार्नु भएका यिनै अस्तित्ववादी सोचहरू ‘शिरीषको फूल’ लगायतका उहाँका यस अवधिमा लेखिएका रचनाहरूमा हाबी थिए । यही पलायनको मूल्यलाई नै उहाँले यस उपन्यासमा र अन्य रचनामा स्थापित गर्नुभएको छ । यस कारणले नै हो– पछि अर्को मोडमा आइपुगेर उहाँले भन्नुभयो– ‘शिरीषको फूल’लाई च्यातिदिए हुन्छ यो निस्सार र घोर परपीडक उपन्यास हो’ ।

केही समालोचकहरूले त पारिजातको यही ‘शिरीषको फूलवाला मोडलाई नै पारिजातको सम्पूर्ण चीज भनेर अगाडि ल्याउने गरेका छन् नि ?

हो, एक थरी समालोचक र साहित्यकारहरू उहाँको यही लेखनप्रवृत्तिलाई नै सबथोक हो, सम्पूर्ण पारिजात यही नै हो भनेर जोडतोडले प्रचार गर्दैछन् । यो पारिजातलाई अवमूल्यन गर्ने काम हो । पारिजात योभन्दा धेरै अघि बढिसक्नुभएको छ । पारिजात आफैंले भन्नुभएको छ : ‘जीवनको क्रममा आइलाग्ने अर्थहीनता, निराशा, कुण्ठा, भ्रम तथा मानसिक तनावहरूदेखि मुक्त भई त्यस्तै परिस्थितिदेखि उब्जिएका विद्रोह र आकाङ्क्षालाई सही धारामा लगाई जीवनको सही मूल्य र सही बाटो पहिल्याउने क्रममा म प्रगतिशील लेखनतर्फ अग्रसर भएकी हुँ’ (साल्गीको बलात्कृत आँसु’ को भूमिका) ।

पारिजातको जीवनको यही सही मूल्य र सही बाटो पहिल्याउने यही क्रम र यस क्रममा उहाँले दिनुभएको योगदानलाई ढाकछोप गर्नका लागि नै एकतर्फी रूपले बढाइचढाइ यस्तो प्रचार गर्ने प्रयत्न भैरहेको छ भन्ने मलाई लागेको छ ।

पारिजात भन्नासाथ पारिजातको ‘शिरीषको फूल’ उपन्यास र ‘आदिम देश’का केही कथाहरू (जस्तो ‘मैले नजन्माएको छोरो, ‘बीसौं शताब्दी एउटा गल्लीमा’ आदि) लाई मात्र अतिरञ्जित रूपले अघिसार्नखोज्नुका पछाडि पारिजातले औंल्याउनुभएको जीवनमूल्य र सामाजिक मूल्यहरूलाई छोपछाप पार्ने उद्देश्य रहेको छ । साथै पारिजातले यस अवधिमा जोड दिनुभएको साहित्य–कलाको सामाजिक उपादेयतालाई उपेक्षा गर्ने सोच पनि देखिन्छ । समाजको परिष्कार र परिवर्तनका लागि साहित्य–कलाको भूमिका हुन्छ भन्ने पारिजातको भनाइलाई लुकाउन खोज्ने र सारांशमा यथास्थितिलाई जोगाइराख्न खोज्ने राजनीतिको यो एउटा अभिन्न अंग हो ।

अब तेस्रो चरणको कुरातिर लागौं । यस चरणको व्याप्ति र विशेषता के के हुन् ?

मेरो दृष्टिमा तेस्रो चरण पाँच, छ वर्षको चरण हो । खासगरी २०२२ देखि २०२९ सम्मको कालखण्ड । यो राल्फाकालीन अवधि हो । यसलाई पारिजातको सङ्क्रमणकालीन अवधि पनि भन्न सकिन्छ । अस्तित्ववादबाट मार्क्सवादसम्म सङ्क्रमण हुने कालखण्ड ।

यस अवधिमा पारिजात पहिलेको सापेक्षतामा यथार्थतिर केही मात्रामा उन्मुख हुनुभएको छ । तीब्र आक्रोश छ, चर्को विद्रोह छ । तर त्यो विद्रोह र आक्रोशले व्यक्तिगत सीमालाई नाघ्न सकेको छैन । विद्रोह र आक्रोशले दिशा लिइसकेको अवस्था पनि छैन, कुन दिशा लिने हो निश्चित पनि छैन । इतिहास, सामाजिक मूल्य र परम्परामाथि अराजक आक्रमण र प्रहार पाइन्छ ।

निश्चय नै, जेलाई हामीकहाँ त्यतिखेर इतिहास भनिन्थ्यो अधिकांश झुठमा आधारित थियो । नेपाली परम्परा भनेर शासकवर्गकै सामन्ती परम्परालाई स्थापित गर्न खोजिएको थियो र स्थापित गर्न खोजिएका सामाजिक मूल्यहरू पनि सामन्ती मूल्य–मान्यता नै थिए । त्यसैले पारिजातमा यीप्रति विरोध र विद्रोह जन्मनु सान्दर्भिक नै थियो । तर ती सामन्ती मूल्य–मान्यता र परम्पराका केही सकारात्मक र राम्रा पक्ष पनि त थिए । तिनलाई केलाउने काम भएन । नकेलाई गरिएको एकोहोरो विरोध भएकाले त्यो सर्वांशमा ठिक थिएन ।

पारिजातको यस अवधिको विचारलाई सबभन्दा राम्ररी साहित्यिक अभिव्यक्ति दिने कृति ‘बैंसको मान्छे (२०२९) उपन्यास नै हो । कृतिमा विद्रोह त छ तर अस्तित्ववादी चिन्तनको तुस पनि निख्रीसकेको छैन । निम्नवर्गप्रति सहानुभूति र सामाजिक संरचनामा परिवर्तनको आकाङ्क्षा कृतिमा छ । तर सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउन सङ्गठित जनशक्तिको आवश्यकताको बोध भने छैन । व्यक्तिगत आक्रोश, व्यक्तिगत विद्रोह र व्यक्तिहत्याको उग्रता मात्र यसमा छ ।

यही अवधिमा लेखिएका उहाँका केही कथा पनि छन् । ‘सडक र प्रतिभा’ कथासङ्ग्रह (२०३२) का कथाहरूले पारिजातको सङ्क्रमण कालको झलक दिन्छन् । यस कृतिमा केही विसंगतवादी मोडका कथा छन् भने ‘सिटीहलको बूढो ज्यामीसित’, ‘वर्कशपभित्र’, ‘सँघारनेर’ जस्ता प्रगतिशील कथालेखनका प्रारम्भिक कालका कथाहरू पनि छन् । यी कथा प्रगतिशील आन्दोलनमा प्रवेश गर्ने क्रममा लेखिएका सुरुका कथा हुन् । यिनै कथाबाट प्रगतिशील आन्दोलनमा पारिजातको प्रवेश भएको हो । राल्फाकालीन अवधिलाई पारिजात स्वयम्ले आफुलाई प्रगतिशील लेखनतर्फ उन्मुख हुन वस्तुगत र आत्मगत स्थिति सृजना गर्ने महत्त्वपूर्ण मोड मान्नुभएको छ ।

यस मोडमा आइपुग्न उहाँभित्र चलेको आन्तरिक द्वन्द्वले पनि भूमिका खेलेको छ । थला पर्ने गरी बिरामी भएको अवस्थामा उहाँ निस्सारता र निराशाको चरम सीमामा पुग्नुभएको थियो । तर उहाँले अन्तमा के बुझ्नुभयो भने निराशा नै जीवनको अन्त होइन रहेनछ । यो स्वयम् उहाँ आफैंभित्र चलेको द्वन्द्वको परिणाम थियो । यथार्थतिर उहाँभन्दा बढी समर्पित अन्य राल्फाहरूसितको उठबस र सम्पर्कले, तिनमा भएको युवकोचित जोस र नयाँपनले, जनतासित जाने क्रमले उहाँलाई प्रगतिशील लेखनतिर उन्मुख गराएको हो भन्ने लाग्दछ ।

चौथो चरण अर्थात् प्रगतिशील लेखनक्षेत्रमा पारिजातको प्रवेशको प्रस्ट अभिव्यक्ति चाहिँ उहाँको कुन रचनाले दिन्छ ?        

मैले माथि उल्लेख गरिसकेको छु प्रगतिशील लेखनमा पारिजातको प्रवेश कथाबाट भएको हो । कृतिगत हिसाबले भन्ने हो भने यसको अभिव्यक्ति ‘तोरीबारी बाटा र सपनाहरू (२०३२) ले दिन्छ । सायद यसअघि ‘पर्खालभित्र र बाहिर’ लेखिएको हो कि जस्तो लाग्दछ, तर यसको प्रकाशन चाहिँ २०३५ सालमा मात्र भएको हो ।

प्रकाशनका दृष्टिले पहिले छापिएको ‘तोरीबारी बाटा र सपनाहरू’लाई प्रगतिशील चेतले अभिप्रेरित रचना मैले किन मानेको हुँ भने यसमा मानवसभ्यता र संस्कृतिको विकासको एकमात्र स्रोत श्रमजीवी जनता हो र यो वर्ग नै संस्कृति र सभ्यताको अगुवा र मालिक बन्नुपर्छ भन्ने बोध छ, विपन्न वर्गप्रति प्रेम र सहानुभूति छ । यस कृतिमा वस्तुगत यथार्थलाई प्राथमिकतामा राखिएको छ र जीवनका समस्याहरूलाई खोतल्ने प्रयास भएको छ । जातिभेद र यसको कारक तत्त्व धर्मको पनि यसमा विरोध भएको छ । नारी समस्याको समाधान वर्गीय समस्याको समाधान नभै हुन सक्तैन भन्ने चेत यसमा छ । साथै कृतिमा समाजमा विद्यमान सबै समस्याहरूको निदानका निम्ति आमूल परिवर्तन आवश्यक हुन्छ भन्ने बोध पनि छ । सामाजिक यथार्थलाई जति गहनताका साथ प्रस्तुत गर्नुपर्थ्यो त्यति भएको छैन तापनि यस कृतिलाई सुन्दर कृतिका रूपमा लिन सकिन्छ । शैली, शैली भनेर आकर्षक शैलीको माग गर्ने एक थरी साहित्यकार र समालोचकहरूले ‘शिरीषको फूल’ को शैलीको खुबै तारिफ गर्ने गरेका छन् । तर यथार्थ के हो भने ‘तोरीबारी बाटा र सपनाहरू’को शैली ‘शिरीषको फूल’को भन्दा कम स्तरको छैन । यात्राका क्रममा पात्रहरू आउने–जाने उपन्यासको बनोट, भाषिक मिठास र गम्भीर विषयलाई पनि रोचक शब्दसंयोजनबाट सरल तरिकाले व्यक्त गर्ने शैली यसको खास विशेषता हो ।

‘शिरीषको फूल’लाई शैलीको दृष्टिकोणले उत्कृष्ट मान्नेहरूले पारिजातका कृति सम्पूर्ण पढ्दै नपढी पूर्वाग्रह र पूर्वाग्रही दृष्टिकोणका आधारमा गलत धारणा बनाएका छन् र अतिरञ्जित प्रचार–प्रसार गरेका छन् भन्ने मलाई लाग्दछ । ‘पर्खालभित्र र बाहिर’ पारिजातको लेखनको ढाँचा र नेपाली साहित्यकै ढाँचा र प्रस्तुतिका हिसाबले नवीनतम र विशेष महत्त्व राख्ने उपन्यास हो । पात्रलाई केन्द्रमा राखेर नेपालको गहनतम यथार्थलाई प्रतिबिम्बन गर्नु यसको विशेषता हो । केही कमजोरी भएर पनि नेपालमा त्यतिखेर देखापरेको वामपन्थी आन्दोलनका दुई धारा–क्रान्तिकारी धारा र उग्र वामपन्थी धाराको द्वन्द्वलाई दुई विशिष्ट प्रमुख पात्रको माध्यमबाट यस कृतिले प्रस्तुत गरेको छ । भाषा र शैलीका दृष्टिले पनि उत्तम कृति हो यो ।

अब यसपछिको चौथो चरण वा प्रवृत्तिको विकासक्रम कसरी अघि बढेको तपाईंले पाउनु भएको छ ?

उहाँका रचनाहरू ‘उसले रोजेको बाटो’, ‘अनिँदो पहाडसँगै’, ‘साल्गीको बलात्कृत आँसु’, ‘परिभाषित आँखाहरू’, ‘बोनी’, ‘बधशाला जाँदा आउँदा’, ‘आधी आकाश’ र संस्मरणका कृतिहरूले पारिजातको यस चरणको प्रतिनिधित्व गर्दछन् । यसमध्ये ‘परिभाषित आँखाहरू’ र ‘बोनी’ केही कमजोर रचना हुन् ।

यस चरणको मूल स्वरूप कस्तो रहेको छ र यसको प्रतिनिधि रचना तपाईं कुन कृतिलाई मान्नुहुन्छ ?

यस चरणको प्रतिनिधि रचना र पारिजातका समग्र कृतिहरूमध्ये उत्कृष्ट रचना ‘अनिँदो पहाडसँगै’ हो । यो रचना नै उहाँको सबभन्दा राम्रो कृति हो । मैले यसलाई सबभन्दा राम्रो मान्नुको कारण यो व्यक्तिवादी आक्रोश र विद्रोहको स्तरभन्दा माथि उठेको छ । नेपाली समाजको यथार्थको राम्रो चित्रण यसमा भएको छ । सामाजिक वर्गहरू र तिनका बीचको द्वन्द्वहरूलाई निकै राम्ररी प्रस्तुत गरिएको र श्रमजीवी वर्गको विजयमाथि आशावादिता र पूर्ण विश्वास राखिएको छ । यस रचनामा नेपालका पहाड, तराई र उपत्यकाको जनजीवनका मर्म र पीडाहरूलाई सामाजिक सन्दर्भसित गाँसेर हेर्ने प्रयास भएको छ ।

यो उपन्यास ऐतिहासिक अभिलेख पनि हो । यसकारण पनि यसको महत्त्व अझ बढी थपिएको छ । २०३५/०३६ सालको जनआन्दोलन यसमा समेटिएको छ । नेपालको त्यतिखेरको विद्यार्थी आन्दोलन र यसले लिएको राजनैतिक रूप, ठाउँठाउँमा भएका जनसङ्घर्षहरू, जनमतसङ्ग्रह, पञ्चायतको विजयको घोषणा र त्यसपछिका दमनकारी क्रियाकलापहरूको चित्रसहित यसमा तात्कालीन राजनीतिक कार्यदिशा सिंगै उपन्यासमा आएको छ । पारिजातले लेखेका उपन्यासहरूमा यस उपन्यासले नै सबभन्दा बढी सामाजिक परिवेशलाई समेट्ने काम गरेको छ । मलाई लाग्दछ–पारिजातको लेखनयात्रामा मात्र हैन नेपालको प्रगतिवादी साहित्यमा नै उत्कृष्ट पात्रहरूको सिर्जना यस उपन्यासमा भएको छ । त्यसमध्ये पनि नायिका सुवानीलाई नेपाली प्रगतिशील आन्दोलनकै उत्कृष्ट पात्रका रूपमा लिन सकिन्छ ।

यसपछिको उहाँको उत्कृष्ट रचना ‘साल्गीको बलात्कृत आँसु’ कथासङ्ग्रह हो । २०३१ र २०४३ सालका बीचमा लेखिएका पन्ध्रवटा कथाहरू यसमा सङ्ग्रहित छन् र यी कथाले नेपाली जनजीवनका विविध सन्दर्भलाई मर्मस्पर्शी रूपमा चित्रण गरेका छन् । वर्तमान सामाजिक व्यवस्था ठिक छैन, यसबाट मुक्त नभै सुन्दर भविष्यको सृजना गर्न सकिन्न भन्ने कुराको छाप छोड्ने यी कथाहरू पारिजातका यसअघि र पछि लेखिएका कथाहरूभन्दा उत्कृष्ट छन् । यी कथालाई पारिजातका प्रतिनिधि कथा पनि भन्न सकिन्छ ।

उपन्यास ‘परिभाषित आँखाहरू’ र ‘बोनी’ बारे तपाईं थप केही टिप्पणी गर्न चाहँदै हुनुहुन्थ्यो ।

२०४३ को केही समयपछिदेखि पारिजातमा केही विचलन देखिन थालेको छ भन्ने कुरा सम्भवतः मैले ‘वेदना’ साहित्यिक पत्रिकामा लेखिसकेको पनि छु । कुन आधारमा यस्तो भन्न खोजिएको हो भनेर प्रश्न पनि नउठेको होइन । मलाई लागेको मूल कुरो के हो भने उहाँमा यता आएर आफ्ना कमाउपुत्रका रूपमा देखिएका पुस्तकप्रति र  सम्पत्ति सम्बन्धप्रति मोह बढेको छ, पुराना कृतिहरूको पुनर्मूल्याड्कन गरिनुपर्छ भन्ने प्रबल र तीव्र इच्छा व्यक्त हुन थालेको छ र आन्दोलनबाट अलि पररहने र साथै रचनाहरूमा ‘कस्तो छ ?’ मा बढी सीमित हुने र ‘कस्तो हुनुपर्ने हो ?’ भन्ने कुरामा त्यति ध्यान नदिने प्रवृत्ति बढ्न थालेको पाइन्छ । मैले यिनै कुरालाई देखेर यस्तो भनेको हुँ । समाजमा व्याप्त हुँदै गएको अमानवीयकरणको चिरफार गर्नुभन्दा अमानवीयकरणतिर नै पात्रहरूलाई प्रवृत्त गराउने प्रवृत्ति देखिन्छ, खासगरी ‘परिभाषित आँखाहरू’मा । यसकारणले पनि उहाँमा केही विचलन आएको र उहाँको लेखन केही खस्कन लागेको छ भन्ने मलाई लागेको हो ।

‘बोनी’ उपन्यासमा पारिजात स्वयम् फस्नुभएको हो कि भन्ने मलाई लाग्दछ । समाजको माथिल्लो वर्गमा रहेको भ्रष्ट चरित्रले किशोर–किशोरीहरूमा पर्ने गलत प्रभावका विरुद्ध र त्यस प्रभावबाट नायिका बोनीलाई बाहिर ल्याउन पारिजात उपन्यास लेखनमा अभिमुख भएको हो । तर लेखनका क्रममा उहाँले बोनीलाई त्यसबाट बाहिर ल्याउन सक्नुभएन र आफैं अन्यौलमा पर्नपुग्नुभयो । अर्को कथाका रूपमा शृङ्खलाबद्ध रूपबाट लेखिएको ‘बोनी’लाई उपन्यासको रूप दिन खोज्ने रहरले पनि यस्तो भएको हुन सक्तछ । वास्तवमा यो कृति उपन्यासभन्दा बढी कथासङ्ग्रह नै हो ।

‘परिभाषित आँखहरू’ की पात्र बिज्जीको प्रस्तुति जुन रूपमा भएको छ र त्यसको अन्त्य जसरी गराइएको छ त्यो ठीक भयो भन्ने मलाई लाग्दैन । यसलाई पारिजात स्वयम्ले नै पनि अप्रत्यक्ष रूपले स्वीकार गरेको हो कि भन्ने मलाई लागेको छ । यस उपन्यासका बारेमा ‘जनमत’ पत्रिकामा दिएको अन्तर्वार्तामा उहाँले ‘प्रस्तुति राम्रो भएन भन्ने त समालोचकहरूको आआफ्नो दृष्टिकोण हो, तर घटना, पात्र, समसामयिक सन्दर्भलाई हेर्दा मैले धेरै अशोभनीय चीज लेखेंजस्तो लाग्दैन’ । अर्थात् मैले राम्रै गरेको छु भन्ने दृढ अडान उहाँको थिएन । यसको अर्थ उहाँले यस बारेमा आत्ममूल्याड्कन गरेको हुनुपर्छ ।

जम्माजम्मीमा भन्नुपर्दा नेपाली साहित्यमा पारिजातको योगदानका बारेमा तपाईंको के धारणा छ ?

समग्रमा भन्दा पारिजात नेपाली साहित्यको अनुपम प्रतिभा हुनुहुन्थ्यो । प्रगतिशील साहित्यिक आन्दोलनको २०३० पछिको उहाँ अग्रणी र मूर्धन्य हस्ताक्षर हुनुहुन्थ्यो । उहाँकै सेरोफेरोभित्र अधिकांश अरू साहित्यकारहरूले हुर्कने मौका पाए खासगरी २०३६ पछाडि ।

पारिजातका सम्बन्धमा भन्नैपर्ने कुरा के छ भने जतिखेर उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो र महिलामुक्तिआन्दोलनको शीर्ष स्थानमा आउनुभएको थियो त्यतिखेर नै उहाँ बढीभन्दा बढी जनजीवनसित भिज्नुभएको थियो र त्यतिखेर नै पारिजातमा बढी ऊर्जा देखिएको थियो ।

पारिजातमा निश्चय नै, केही कमीकमजोरी नभएका होइनन् तर ती उहाँको योगदानका तुलनामा नगण्य छन् ।

जेठ २०५० मा प्रकाशित मूल्याङ्कन पत्रिकाबाट साभार ।

(Visited 1,654 times, 1 visits today)

टिप्पणी

comments