Main Menu

एउटै विषयको काव्य भएर पनि ‘मुनामदन’ र ‘सँदेया लिसः’ फरक छन्– सत्यमोहन

फागुन ८, काठमाडौं

munamadan-sadeya-lisa-different-satyamohan-joshi

खस भाषा (नेपाली) मा लेखिएको ‘मुनामदन’ र नेपाल भाषामा लेखिएको ‘सँदेया लिसः’ तिब्बतमा व्यापार गर्न गएका नेपालीहरुको कहानी समेटेर लेखिएको एउटै विषयका खण्डकाव्य भएर पनि ती दुई कृति फरक भएको बिचार संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् ।

नेपाल भाषाको साहित्यमा ख्याति कमाएका नेपाली साहित्यकार बितेका धर्मरत्न यमीको ‘सँदेया लिसः’ खण्डकाव्यको अङ्ग्रेजी संस्करण Reply from Tibet को हिजो राजधानी काठमाडौंमा सम्पन्न बिमोचन कार्यक्रमलाई सम्वोधन गर्दै सन्तानब्बे वर्षे संस्कृतिविद जोशीले उक्त बिचार व्यक्त गरेका हुन् ।

उनले भने, “महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ नेपाली जनमानसमा अति नै लोकप्रिय छ । र, झ्याउरे संगीतमा ढालेर रचना गरिएको त्यो कृति अति नै सुन्दर, माधुर्य र लोकप्रिय शैलीमा छ । तर, उनले स्वयं आफू नै तिब्बतमा गई त्यहाँको वास्तविकतालाई आफूले नै भोगेर त्यो कृति सिर्जना गरेका होइनन् । धर्मरत्न यमी आफै तिब्बतमा गई ब्यापार व्यवसाय गरेर नेपाल फर्केका व्यक्ति हुन् । उनले राणाशाहीबिरुद्ध राजनीतिक गतिविधिमा संलग्न हुँदा जेल परेको बेला जेलमै ‘सँदेया लिसः’ कृति सिर्जना गरे । त्यस कृतिमा उनले आफैले भोगेका कथा–व्यथा समेटेका छन् । त्यस अर्थमा ‘मुनामदन’ र ‘सँदेया लिसः’ दुई महान कृतिहरु भएर पनि फरक छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले भने, “नेपाल भाषा आन्दोलनका दुई महारथीहरुमा कवि केशरी चित्तधर ‘हृदय’ र कवि धर्मरत्न यमीलाई मान्नुपर्छ । कवि केशरी चित्तधरले विश्व शास्त्रीय साहित्यमै योगदान पुर्याएको महाकाव्य ‘सुगत सौरभ’ सिर्जना गर्नुभयो भने कवि धर्मरत्न यमीले ‘अरहतनन्द’ महाकाव्य सिर्जना गर्नुभयो । र, ‘सँदेया लिसः’ कवि यमीको अर्को महत्वपूर्ण र लोकप्रिय खण्डकाव्य हो । यसमा प्रयोग गरिएको भाषाशैली र संगीतले अब्बल माधुर्यता दिएको छ । अङ्ग्रेजी साहित्यमा narrative story को महत्व धेरै छ । त्यसैले नेपाल भाषाको कृति ‘सँदेया लिसः’ को नेपाली भाषामा गरिएको अनुवाद ‘ल्हासा बोल्छे’ लाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गर्ने काम जुन भएको छ, यसले अङ्ग्रेजी साहित्यमा पनि अवश्य नै लोकप्रियता हासिल गर्नेछ ।

कार्यक्रममा बोल्दै नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यको गलत भाषा नीतिको कारणले गर्दा नेपाल भाषामा रचित ‘सँदेया लिसः’ खण्डकाव्यलगायत नेपाल भाषाका थुप्रै सुन्दर कृतिहरु आम नेपालीहरुले पढ्न नपाएको बिचार व्यक्त गरे । उनले ‘मुनामदन’ सुन्दर, लोकप्रिय र स्वयं आफूलाई पनि अति मनपर्ने कृति भएको बताए । तर, यी कुराहरु हुँदाहुँदै पनि खस भाषामा लेखिएकोले नै त्यसको संरक्षण, विकास र प्रचार प्रसार राज्यबाट भयो, तर उतिकै स्तर र महत्वकै कृति भएर पनि ‘सँदेया लिसः’ को लागि राज्यले केही पनि नगरेको उनले गुनासो गरे ।

‘आफू कवि धर्मरत्न यमीका ज्वाईं भएकाले अलि बोल्न अप्ठेरो त छ, तर सत्य कुरो त्यही नै हो,’ उनले भने ।

कार्यक्रममा अतिथिका रुपमा उपस्थित प्राध्यापक अभि सुवेदी, अनुवादक डिल्ली गुरुङ, पत्रकार सुप्रिया मानन्धर, पुस्तक प्रकाशनमा पहल गर्ने ‘धर्महिरा प्रतिष्ठान’ का अध्यक्ष एवं विमोचन समारोहका सभापति प्राध्यापक तिमिला यमी थापा र पुस्तक प्रकाशन संस्था बज्र बुक्सका बिदूरले संयुक्त रुपमा विमोचन गरिएको उक्त कृति Reply from Tibet बारे संक्षिप्त विवेचना नेपाल भाषाका अभियन्ता केशवमान शाक्यले गरेका थिए ।

सो कृतिको विवेचना गर्दै उनले भने, “देवकोटाको ‘मुनामदन’ ले वास्तविक घटनाको प्रतिविम्बन गर्न सकेन, धर्मरत्न यमीको ‘सँदेया लिसः’ ले गर्यो । यमी र देवकोटाका कृतिहरुले फरकफरक आयामहरुलाई प्रतिनिधित्व गरे ।”

स्मरणीय छ, कवि धर्मरत्न यमीको ‘सँदेया लिसः’ खण्डकाव्यलाई ‘ल्हासा बोल्छे’ शिर्षकमा जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषाबाट खस भाषामा अनुवाद गरेकोलाई मूल्याङ्कन प्रकाशन गृह (प्रा.) लि. ले केही वर्षअगाडि प्रकाशन गरी बजारमा ल्याएको हो । सोही पुस्तकबाट अङ्ग्रेजी भाषामा अनुवाद गरी अहिले ‘बज्र बुक्स’ ले Reply from Tibet बजारमा ल्याएको छ ।

पुस्तक विमोचन कार्यक्रममा लोककवि राजभाई ‘जकमी’ ले कवि धर्मरत्न यमीबारे नेपालभाषामा कविता सुनाए भने कवि यमीले रचना गरेको बाल गीतलाई रत्नशोभा महर्जनलगायतका कलाकारहरुले सङ्गीतसहित प्रस्तुत गरिन् । सो बिमोचन कार्यक्रमलाई अनुवादक डिल्ली गुरुङ, पत्रकार सुप्रिया मानन्धर, बिदुरलगायतका वक्ताहरुले पनि सम्वोधन गरेका थिए ।

(Visited 508 times, 1 visits today)

टिप्पणी

comments