शहरबासीका नाममा जारी सन्देश [कविता]
- रजनीमिला
यो आदिम वस्ती भित्रका भित्ताहरुमा
कोरिएका नक्साहरुमाथि
आतंकपूर्वक परेड खेलिरहेका छन् उनीहरु ।
यो आदिम शहर
उनीहरुको बूटले
कुल्चिएर क्षत विक्षत छ
चिच्याएर यहाँ भाषा रुन्छ सूर्योदयदेखि सूर्यास्तसम्म
ऊ भने यो शहरको भाषा मरोस् भन्दै
बूटले किचिकिचि गर्छ
कमिलालाई झैं ।
सभ्यता सजाएर
हाकु पतासिको झलमलीसंग
इतिहास रच्ने
एउटी नारीको देहलाई
चिथोर्दै बलात्कारीहरुले
विरुप पारे झैं
यो शहरको
देगः र फल्चालाई चोक्टा चोक्टामा
निलिरहेका छन् उनीहरु ।
थाहा छ
यो शहरलाई कि
उनीहरु हत्यारा हुन् ।
किनकि उनीहरुसंग राज्य छ
तर उनीहरुलाई यो थाहा छैन
यो शहरै एउटा देश हो ।
यहाँ हजार युग बिते,
यहाँ हजार जुनी फेरिए,
हजार मौसम बदले
तर नबदलेरै
परिवर्तनका अनेक यामहरुको अनुभूत दिलाउने
यो शहरका वस्तीहरु
जंगली हात्तीले झैं
आतंकित पारी
घरहरुमाथि जाइलागेका छन् ।
घरलाई उनीहरुले केवल बूटको हैसियतले हेरे
त्यसैले मात्र माटो र ईंटा देखे ।
तर देखेनन् उनीहरुले
ती घरका हर एक ईंटामा शहरका ज्यानहरु ।
बडो वीरताका साथ लडाए
उनीहरुले घरहरु ।
अब शहर
उनीहरुको बूट थाप्न
आज भोलि सडकमा
मूर्दाशान्ति जलाएर बसिरहेको छ ।
सडकमा आउन शहरबासीका नाममा
सन्देश जारी गरिरहेको छ ।
कीर्तिपुर
२०७४ चैत्र १६
तस्बिर कला – सेभ नेपा भेली मुभमेन्टको फेसबुक पेजबाट