सिरियाकी कोपिला ! [कविता]
- बलराम तिमल्सिना ‘विप्लब’
च्यातिएर पत्र पत्र जब
खसिरहेकी हुन्छ्यौ तिमी सडकमा
चुहेर फाल्सा फाल्सा जब
बगिरहेकी हुन्छ्यौ तिमी
मलाई ठ्याक्कै छोरीजस्तै लाग्छ तिमी
आङ्ग सिरिङ्ग हुन्छ
म हतार हतार छाम्छु छोरीलाई
छोरी नि:शब्द हेरिरहेकी छिन तिमीलाई !
तिमी सिरियाकी कोपिला
म नेपालको अङ्कल
किन छोरीजस्तै लाग्छ तिमी मलाई ?
आकाशभरि उडिरहेछ मृत्यु
भर्खरै तिम्रो भाइलाई निल्यो
हिजो आमालाई
अस्ति बाबालाई
तिमी एक्ली एक्ली
बाबा-आमाको कव्रिस्तानको बीचमा
संभावित मृत्युको पर्खाइमा छ्यौ
यस्तो लाग्छ –
चढेर हाइपरसोनिक विमान
एकाध घण्टामै पुगौं तिमीनिर
उध्दार गरौं तिमीलाई
खसालौं जङ्गली विमानहरू आकासबाट
जसले केवल
वम खान्छ र वम नै विस्ट्याउँछ
तिम्रो देशको छात्तीमाथि !
सपनामा पनि आउने र रोइरहने
ए सिरियाकी कोपिला !
यो समय सम्झ
तिम्रो रुवाईमा भक्कानिने पनि छन्
जुन विपत्तिमा छौ तिमी आज
यस्तो एक दिन आउने छ –
याङ्की भाग्ने छ र
हामी लखेट्ने छौं
भाग्ने ठाउँ सकिएपछि सबै
हात उठाउनेछ उसले
अर्को शताब्दीमा
हरेक अमेरिकी बच्चाहरू
आफ्ना पुर्वजको नाममा
माफी मागेर घरबाट निस्कने छन्
माफी माग्दै घरभित्र पस्ने छन् ।
हो सिरियाकी कोपिला
हो मेरी प्यारी छोरी
सिङ्गो विश्व त्यही पर्खाइमा छ
एक दिन त्यो याङ्कीको पनि मिति पुग्नेछ
हामीले चिहानमा गाड्ने छौं त्यसलाई !
२०७४-११-१६
ढल्को