Main Menu

लेनिनको मृत्युमा एक कैन्टाटा [कविता]

कवि बर्तोल्त ब्रेख्त

१.
जुन दिन लेनिन रहनु भएन
भन्छन , शवको हेरविचारमा खटिएका एक सैनिक
आफ्ना साथीहरूलाई:
म ठ्याक्कै भन्न सक्तिनथें यसमा 
म भित्र गएँ र उनको कानमा चिच्याएँ :
‘इलिच शोषक आँउदैछ’
उनी हल्लिएनन् पनि
तब मैले बुझें कि उनी मरिसकेछन्

२.
जब कुनै असल मान्छे जान चाहन्छन्
त तपाईं कसरी उनलाई रोक्न सक्नुहुन्छ ?
उनलाई अहिले उनको किन खाँचो छ भन्नुहोस्
यही तरिका हो उनलाई रोक्ने 

३.
र,  के कुराले लेनिनलाई जानबाट रोक्न सक्थ्यो ?

४.
ती सैनिकले सोचे
जब उनले शोषक आउंदै छ भन्ने सुन्नेछन्
जतिनै विरामी भए पनि उठ्नेछन्
सायद उनी वैशाखी टेकेर आउनेछन्
सायद उनले बोकेर ल्याउन आदेश दिन्छन् 
तर, 
उठ्ने नै छन् र आएर
शोषकहरूको सामना गर्ने छन् 

५.
लेनिन पूरै उमेर
शोषकहरूको विरुद्ध लडिरहेका थिए
सैनिक जान्दथे 

६.
र, ती सैनिक सामेल थिए
शीत प्रसादको आक्रमणमा
र घर फर्कन चाहन्थे
किनकि वहाँ जमीन वितरण हुँदै थियो
तब लेनिनले उनलाई भने : अहिले यहीँ बस !
शोषक अझै बाँकी छ 
र जहिलेसम्म शोषण बाँकी रहन्छ
त्यसको विरुद्ध लडिरहनुपर्छ
जहिलेसम्म तिम्रो मौजूद छ
तिमीले उसका विरुद्ध लड्नुपर्छ /

७.
जो कमजोर छ ऊ लड़दैन
केही बलियो सायद केही घण्टा लड़छ
जो अझ बलियो छ
ऊ कैयन् वर्षसम्म लड्छ
सवैभन्दा बलियो त्यो हुन्छ
जो जीवनभर लडिरहन्छ
त्यही हो जो नभई दुनियाँ चल्दैन 

८ .
इन्क्लाबिको शानमा कसीदा
जव शोषण बढ्न थाल्छ
धेरैको हौसला घट्छ
तर, उसको हिम्मत अझ बलियो हुन्छ/

ऊ आफ्नो संघर्षलाई संगठित गर्छ
मजदूरको लागि रोटी र चियाको लागि
र अझ सत्ता कव्जा गर्नको लागि 
ऊ सम्पत्तिलाई सोध्छ:
कहाँबाट आएको तिमी ?
दृष्टिकोणलाई सोध्छ :
तिमी कसको सेवा गर्छौ ?
जव सुनसान छाएको छ
ऊ बोल्न थाल्छ
जहीं पनि अत्याचार हुन्छ , र मानिसहरू भाग्यको कुरा गर्छन्
उनीहरू चिजलाई उसको सक्कली नामले पुकार्छन् 

जहाँ ऊ खाने मेचमा बस्छ
असन्तोष पनि सँगै बस्छ
खाना खराब लाग्न थाल्छ
कोठा अझ बढी उराठ
जहाँ उसलाई भगाए पनि
उथल पुथल पछिपछि आउँछ
र अशान्ति बनिरहन्छ
जहाँ उसलाई शिकार बनाइन्छ /

९ .
जब लेनिन रहनु भएन र
मानिसहरूलाई उनको सम्झना आयो
जीत हांसिल भैसकेको थियो तर
देश अस्तव्यस्त र वर्वाद थियो
मानिसहरू उठेर हिँडेका थिए तर
बाटो अँध्यारो थियो
जव लेनिन रहेनन् 
फूटपाथमा बसेर सैनिक रोए र
मजदूरहरूले आफ्नो मेशीनामा काम बन्द गरे
र मुठ्ठीहरू कसे 

१० .
जब लेनिन जानु भयो
तब त्यो यस्तो थियो
जस्तो रुखले भन्यो पाताहरूसँग
मा जान्छु 

११ .
त्यसपछि बित्यो पन्ध्र वर्ष
संसारको छ भाग
शोषणबाट मुक्त छ अब
‘ शोषक आउंदै छ !’ यो पुकारमा
जनता फेरि उठ्नेछन्
हमेसाको जस्तै
लड्नको लागि तैयार 

१२ .
लेनिन बस्नुहुन्छ
मजदूर वर्गको विशाल हृदयमा ,
उनी हाम्रा गुरु थिए
उनी हामीहरूसँग मिलेर लडिरहे
उनी बस्छन् 
मजदूर वर्गको विशाल हृदयमा 

(१९३५)
कैन्टाटा : वाद्य संगीतको साथमा गाइने संगीत रचना , जुन प्राय : वर्णनात्मक र कैयन भागमा हुन्छ । यो कैन्टाटाको संगीतलाई अन्तिम रुप ब्रेख्तका साथी महान जर्मन संगीतकार हान्स आइस्लरले दिएका थिए । यो रचनाको आठौँ भाग ‘इन्क्लावीको शानमा कसीदा’ ब्रेख्तले १९३३ मा गोर्कीको उपन्यास ‘आमा ‘मा आधारित आफ्नो नाटकको लागि लेखेका थिए ।

(भारतीय लेखक सत्यम वर्माले हिन्दीमा अनुवाद गरी प्रस्तुत गरेको जर्मन क्रान्तिकारी कवि बर्तोल्त ब्रेख्तको यो कवितालाई  नेपालीमा भावानुवाद गरेर प्रस्तुत गरिएको हो ।) 

नेपालीमा भावानुवाद : बलराम तिमल्सिना ‘विप्लव’ 

(Visited 412 times, 1 visits today)

टिप्पणी

comments