Main Menu

सम्पादकीय

सन्दर्भ लेनिन र नेकपाको स्थापना दिवस : विश्वले नयाँ युगको लेनिन खोजिरहेछ

सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलतापछि विश्वमा लेनिनको चर्चा त व्याप्त भयो भयो, मुख्य कुरो के भयो भने त्यसअघिको समयसम्म विश्वमा हालीमुहाली गरिरहेका पुँजीजिबी वर्गको चाहिँ लेनिनको नामैबाट सातो जान थाल्यो । त्यसको उल्टोमा विश्वका श्रमिक वर्गमा भने लेनिनको नाम आउनासाथ उत्साह, उमङ्ग र ऊर्जा उत्पन्न हुन थाल्यो । मजदुर मात्र होइन किसान, उत्पीडित जाति, क्षेत्र सबै ठाउँका गरीखाने वर्गहरुमा लेनिनको नामले पे्ररणाको भाव सञ्चार हुन थाल्यो । हुन पनि शोषित र उत्पीडित श्रमिक जनताले लडेर पुँजीजिबी वर्गको हातमा रहेको राज्यसत्ता आफ्नो हातमा लिन सकिन्छ र त्यसपछि नै समाजबाट शोषणको प्रथालाई निमिट्यान्न पार्ने प्रक्रिया आरम्भ गर्न सकिन्छ भन्ने मार्क्स र एंगेल्सको भविष्यवाणी त्यसअघिसम्म परिकल्पनाको कुरो मात्र थियो । पुँजीजिबी वर्गले त कार्ल मार्क्स र एंगेल्सलाई दार्शनिकको रुपमा स्विकारे पनि उनीहरुको सिद्धान्तलाई कहिल्यै पूरा नहुने मिथ्याको रुपमा प्रचार गरिरहेका थिए । तर, पुँजीजिबी वर्गले सोच्दै नसोचेको क्रान्ति रुसमा सन् १९१७ को अक्टोबरमा भयो, जसले पुँजीवादी एवं वर्गीय शोषणमा आधारित हजारौं वर्षदेखि चल्दै आएका विश्वका सम्पूर्ण राज्यसत्ताहरुलाई खतराको घण्टी बजाइदियो ।

हो, मार्क्स र एंगेल्सले प्रतिपादन गरेको मार्क्सवादलाई व्यवहारिक रुपमा सम्भव दर्शनको रुपमा प्रयोग गरी आधुनिक जमानामा सम्पूर्ण मानवको मुक्तिको बाटो नै यही हो भन्ने सन्देश दिने क्रान्ति ‘रुसी अक्टोबर समाजवादी क्रान्ति’ थियो । त्यस क्रान्तिका नायक महान् लेनिन हुन् । १ सय ४८ वर्षपहिले आजकै दिन अर्थात् सन् १८७० अप्रिल २२ मा जन्मेका लेनिनको आज जन्म दिवस हो । विश्वभरका कम्युनिस्ट एवं श्रमिक जनताले आज लेनिनको १ सय ४८ औं जन्म दिवस मनाइरहेका छन् । नेपालमा पनि बिभिन्न कम्युनिस्ट पार्टी, समूह वा आस्थावान व्यक्ति एवं व्यक्तित्वहरुले आज लेनिन दिवस मनाइरहेका छन् ।

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोबिन्द वैद्य र नारायण बिलास जोशी ।

नेपालको सन्दर्भमा अप्रिल २२ को दिन थप महत्वको दिन हो । किनकि, लेनिन दिवसकै दिन पारी वि.सं.२००६ सालमा कलकत्तामा चारजना कम्युनिस्ट अगुवाहरु पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोबिन्द वैद्य र नारायण विलास जोशीले नेपाल कम्युनिस्ट पार्टीको विधिवत स्थापना गरेका थिए । राणा शासन ढालिनु एक वर्षअगाडि स्थापना भएको कम्युनिस्ट पार्टीले २००७ सालको राणातन्त्रको अन्त्य गरी भएको पुँजीवादी क्रान्तिमा निर्णायक भूमिका त खेल्न सकेन, तर त्यसपछिका दिनहरुमा नेपाली क्रान्तिका हरेक पाइलामा नेपाली कम्युनिस्टहरुलाई आन्दोलनमा उतार्ने काम भने त्यस पार्टीले गर्दै आयो । स्थापनाको ९ वर्षपछाडि २०१५ सालमा भएको संसदीय चुनावमा नेपाली कम्युनिस्टहरुले संसदमा ४ वटा सिट जितेर नेपाली राजनीतिमा आफ्नो उल्लेखनीय उपस्थित जनाए । ००७ सालमा राणा शासनलाई हटाएर गरिएको पुँजीवादी क्रान्ति अत्यन्त कमजोर अवस्थामा गुज्रियो । राजा त्रिभुवन र भारतसँग मिलेर पुँजीवादी बिचारधाराको नेपाली कांग्रेस पार्टीको मुख्य भूमिकामा भएको उक्त पुँजीवादी क्रान्ति अत्यन्त कमजोर अवस्थाको थियो । २०११ सालमा राजा त्रिभुवनको निधनपछि राजा बनेका महेन्द्रले २००७ सालको पुँजीवादी क्रान्तिलाई आफ्नो नियन्त्रणको सामन्ती शासनमा पुनः फर्काउने दाउ हेरिरहेका थिए । चेतनशील जनताको हिस्सा कमजोर थियो । त्यसैले दाउ हेरेर बसेका सामन्ती राजा महेन्द्रले मौका आउनासाथ जननिर्वाचित नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको नेपालको पहिलो पुँजीवादी सरकारलाई २०१७ सालमा सत्ताबाट हटाई शासनसत्ता आफ्नो हातमा लिए ।

राजा महेन्द्रले ‘कू’ गरी निर्दलीय पंचायती व्यवस्थाको नाममा राजाको प्रत्यक्ष निरंकुश सामन्ती शासनको प्रारम्भ गरेबाट २००७ सालमा भएको नेपाली पुँजीवादी क्रान्ति पूरै धरापमा पर्यो । सामन्ती राजाको प्रत्यक्ष शासन भएको पंचायती शासन प्रणालीलाई परास्त गर्न नेपाली जनताले २०४६ सालसम्म कुर्नुपर्यो । २०४६ सालको क्रान्ति नेपाली कम्युनिस्टहरु र नेपाली कांग्रेसले संयुक्त मोर्चा बनाई नेतृत्व गरेको वृहत जनआन्दोलनको कारणबाट सफल भयो । त्यो क्रान्तिले स्थापना गरेको राजा सहितको बहुदलीय व्यवस्थाले सामन्ती राजालाई स्वेच्छाचारी हुनबाट रोक्ने र जनतालाई शासनसत्तामा जाने बाटो त खोल्यो, तर सामन्ती शासनलाई पूरै फाल्न भने सकेन । त्यसैले त्यो क्रान्ति झण्डैझण्डै २००७ सालको क्रान्तिको पुनरावृत्ति थियो । फरक यति भयो कि २००७ सालमा नेपाली कम्युनिस्टहरु अत्यन्त कमजोर अवस्थामा थिए र नेपाली जनताको चेतनास्तर पनि निकै पछौटे अवस्थामा थियो, तर २०४६ सालको क्रान्ति त कम्युनिस्टहरुकै मुख्य बलमा सम्पन्न भयो । साथै २०४६ सालको क्रान्तिले नेपाली श्रमिक वर्ग र आम जनताको चेतना स्तरलाई ह्वात्तै धेरै माथि पुर्याई दियो ।

शक्ति सन्तुलनमा राजा सहितको बहुदलीय संसदीय व्यवस्थालाई स्वीकार गर्नु परे पनि नेपाली सर्वहारा श्रमिक वर्गलाई के कुरा थाहा थियो भने चाँडै नै नेपाली जनता माझ त्यो व्यवस्था अलोकप्रिय हुनेछ, किनकि त्यसले वर्गीय शोषणलाई हल गर्ने होइन बरु ठूला ब्यापारी, बिदेशी एजेन्टहरु र दलाल पुँजीजिबी वर्गहरुले नै पार्टीहरुको नाममा शासनसत्तामा हालीमुहाली गर्ने निश्चित थियो । नभन्दै नेपाली कम्युनिस्टको एक हिस्साले २०५२ सालबाट गाउँका किसान, श्रमिक तथा उत्पीडित वर्गहरुलाई साथमा लिई श्रमिक वर्गको शासनसत्ता स्थापना गर्ने उद्देश्य राखी जनयुद्ध थालनी गरी हाल्यो । दश वर्ष जनयुद्ध चलाएपछि त्यसकै जगमा उभिएर २०६२÷६३ मा कम्युनिस्टहरु र पुँजीवादी पार्टीहरु दुई खाले शक्तिहरुको संयुक्त जनआन्दोलन भई सुरुमा राजाको निरंकुशताको अन्त्य र पछि आमनिर्वाचनबाट निर्मित संविधानसभाबाट गणतन्त्रको नै स्थापना भयो र नेपालमा राज्यसत्ताको तहमा सामन्तवाद पूर्ण रुपमा अन्त्य हुन पुग्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनको उमेर ६९ वर्ष भइसक्यो । यो समयावधिमा कम्युनिस्ट पार्टी धेरै पटक टुटफुट, एकता, टुटफुटको श्रृङ्खला हुँदै अगाडि बढ्दैछ । अहिले नै कम्युनिस्ट पार्टीहरु धेरै छन् । बिचार, संस्कृति र व्यवहारको दृष्टिबाट हेर्दा पनि उनीहरु अनेकका रुपमा छन् । मार्क्सवाद र लेनिनवाद सबैले मान्दछन् । तर, धेरैको गन्तव्य अब छोटिसकेको अनुभूति स्वयं कम्युनिस्ट अभियन्ताहरु नै बताउँछन् । गन्तव्य छोटिनुको अर्थ अब वैज्ञानिक समाजवाद र साम्यवाद उनीहरुको कथ्यमा त छन् तर लक्ष्यको रुपमा रहेनन् । मार्क्सवाद सम्पूर्णमा दर्शन हो, जसले मानव समाजमा विद्यमान वर्गीय शोषणको अन्त्य र वर्गहरु नै नभएको साम्यवादी समाजको लक्ष्य निर्धारण गरेको छ । साथै त्यस लक्ष्यमा पुग्नका लागि कोर्नुपर्ने बाटोको लागि सैद्धान्तिक आधार दिएको छ ।

बुद्धले मानव समाजमा भएको दुःखको अन्त्यका लागि मानिसले लोभ, मोह, तृष्णा र क्रोधलाई त्यागी पे्रम, शान्ति र त्यागको मार्गलाई अङ्गाल्न सुझाए । मार्क्सवादले त्यसो हुनका लागि वर्गीय समाजको नै अन्त्यको आवश्यकतालाई औंल्यायो । वर्ग समाज रहँदासम्म यो मानव समाजले सम्पूर्णमा बुद्धको मार्ग पक्रन सक्दैन । वर्ग समाज अन्त्यका लागि शोषणमुखी राज्यसत्ता, अर्थ प्रणाली र संस्कृतिको अन्त्य हुनु जरुरी छ । त्यो भनेको अहिले विश्वमा रहेको नाफाको नाममा बसीखाने अर्थात् हुनेखाने वर्गको हित गर्ने पुँजीवादको अन्त्य भई गरीखाने वर्गको हित गर्ने वैज्ञानिक समाजवादको स्थापना गर्नु जरुरी छ । वैज्ञानिक समाजवादले नै वर्ग विहीन साम्यवादी समाजमा मानव समाजलाई पुर्याउँछ । त्यो चरणमा नै मान्छेमा लोभ, मोह, तृष्णा र क्रोधको सीमितीकरण हुन्छ । त्यहाँ नै युद्ध, अशान्ति, झैझगडा अन्त्य भई पे्रम र शान्तिको समाज निर्माण हुन्छ ।

अहिले २१ औं शताव्दीमा आएर संसार धेरै फेरिसकेको छ । विश्वमा बिसौं शताब्दीको दोश्रो दशकबाट सुरु भएको समाजवादी क्रान्तिले यतिञ्जेलसम्म धेरै उतारचढाव पार गरिसेकेको छ । समाजवादी क्रान्तिलाई रोक्न पुँजीवादी विश्वले विज्ञान प्रविधि र ज्ञानको सम्पूर्ण क्षेत्रमा विकास भएका उच्च सिद्धान्तहरुलाई प्रयोग गरिरहेका छन् । पुँजीवाद पनि अब बिसौं शताव्दीको स्तरमा छैन । अब यो एउटा देशबाट फैलिई भूमण्डलीकृत भएको छ । हिजो पुँजीपति वर्ग आफूआफूबिच नाफाका लागि प्रतिस्पर्धा गर्थे । देशदेशबिच नाफाका लागि व्यापारमा प्रतिस्पर्धा र त्यसै क्रममा लडाईं झगडाहरु हुन्थे । आज त्यो स्थिति फेरिएको छ । उनीहरु आफूआफू झगडा होइन मिलेर नै विश्वमा नाफा कमाउने वातावरण चीरस्थायी गर्न लागी परेका छन् । त्यसैले अहिलेको पुँजीवाद भूमण्डलीकृत पुँजीवाद हो ।

यस्तो अवस्थामा अबको समाजवादी क्रान्तिको स्वरुप हिजोको जस्तो नहुने निश्चित छ । विश्वमा पहिलो समाजवादी क्रान्ति सम्पन्न गर्न नेतृत्व गरेका महान् लेनिनको जन्म दिवस मनाइरहँदा विश्वका कम्युनिस्टहरुलाई क्रान्तिको नयाँ तरिका निर्माण गर्नुपर्ने महसुस हुनु जरुरी छ । त्यसैले अहिलेको विश्वले मानव जातिको मुक्तिका लागि नयाँ लेनिन खोजिरहेको अनुभूति हुन्छ । १ सय ४८ औं लेनिन दिवस र नेपाली कम्युनिस्ट आन्दोलन अर्थात् नेपाल कम्युनिस्ट पार्टीको ६९ औं जन्म दिवसको उपलक्ष्यमा सम्पूर्ण कम्युनिस्ट एवं मानतावादी व्यक्ति तथा व्यक्तित्वहरुमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

(Visited 359 times, 1 visits today)

टिप्पणी

comments