Main Menu

सम्पादकीय

विकास र समृद्धिको नाराभित्र लुकेको गैरमार्क्सवाद

विकास र समृद्धिका कुरा !

हरेक सर्वसाधारणले खोज्ने पहिलो चाहना भनेको उसको जीवन निर्वाहका आधारभूत आवश्यकताहरु गाँस, वास र कपासको प्राप्ति होस् भन्ने हो । अर्थात् ती कुराहरुका लागि रोजगारी र त्यसबाट जीवन धान्ने आम्दानी होेस् भन्ने सबैको चाहना हुन्छ । तर, रोजगारी कसरी प्राप्त हुन्छ र धान्ने हुन्छ त ? अर्को, रोजगारीका लागि श्रम नै गर्न नसक्ने बच्चाबच्ची र बुढाबुढीहरु कसरी बाँच्ने त ? यी प्रश्नहरु विकास र समृद्धिका प्राथमिक चरणमा आउने कुराहरु हुन् । तर, यी कुराहरु सर्वसाधारण जनताले कसरी प्राप्त गर्छन् त ?

राज्यले कि प्रत्यक्ष रोजगार कि त स्वरोजगारको अवसर प्रदान गरेर जनतालाई अर्थ उपार्जनको बन्दोवस्त गर्न सक्छ । अर्को, जसले आर्थिक क्रियाकलापमा भाग लिन सक्दैन तिनीहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गरी बाँच्ने आधार प्रदान गर्न सक्दछ । विकास र समृद्धिमा यी कुराहरु आउँदछन् । तर, यति काम गर्नका लागि पनि राज्यको तहमा जाने व्यक्ति, पार्टी वा समूहले उत्पादन, उत्पादन प्रक्रिया, उत्पादनको फल आदि सम्मिलित सिद्धान्त बुझ्नु र प्रयोग गर्नु जरुरी हुन्छ । चाहना, नारा र सपनाले मात्र विकास तथा समृद्धि हासिल हुन सक्दैन । विकास र समृद्धि आम जनताको तहमा आउँदैन ।

आम जनताले रोजगारी प्राप्त गर्ने भनेको उनीहरु उत्पादन कार्यमा लाग्ने हो । अहिलेको समयमा उत्पादन भन्नाले मानवले शारीरिक एवं बौद्धिक श्रमको बलमा प्रविधिको औजार प्रयोग गरी प्राकृतिक स्रोत साधनको दोहन गरेर त्यसबाट मानव उपयोगी वस्तु निर्माण गर्नु हो । प्राकृतिक स्रोत साधनमा जल, जमिन र जङ्गल पर्दछन् । जल भन्नाले नदीनाला, तालतलैया, र समुद्र एवं महासागर पर्दछन् । जमिन भन्नाले उब्जाउशील भूमि, पहाड र त्यसभित्र खनेर प्राप्त हुने खनिज पदार्थ आदि पर्दछन् । त्यस्तै गर जङ्गल भन्नाले बनजङ्ल र त्यसभित्र पाइने जडिबुटी आदि पर्दछन् । यीबाहेक प्रकृतिमा पाइने हर चीज जसलाई मानव श्रम अर्थात् आधुनिक जमानामा विज्ञान प्रविधिले आविष्कार एवं निर्माण गरेका औजार प्रयोग गरी दोहन गर्न सक्ने मानवपयोगी सबै वस्तुहरु प्राकृतिक स्रोत साधनमा पर्दछन् । उत्पादन गर्नका लागि मानवले प्रयोग गर्ने प्राकृतिक स्रोत—साधन, औजार र प्रविधि उत्पादनका साधनहरु हुन् भने ती उत्पादनका साधनहरु र तिनीहरुलाई सञ्चालन गर्ने मानवीय शारीरिक एवं बौद्धिक श्रमको समुच्चय उत्पादक शक्ति हो ।

प्राकृतिक स्रोत साधनको दोहन गरी मानवपयोगी वस्तु निर्माण गर्न मानवीय शारीरिक एवं बौद्धिक श्रमको प्रयोगबाट नै उत्पादन प्रकृया संचालन हुन्छ । र, यही प्रकृयामा नै रोजगार सिर्जना हुने तथा अर्थ उपार्जन हुने हुन्छ ।

लाखौं वर्ष पहिले भएको मानव विकासको प्राथमिक चरणदेखि अहिलेसम्म उत्पादन प्रकृया, रोजगार र अर्थ उपार्जन यही सिद्धान्तको आधारमा नै हुँदै आएको छ । अर्थभित्र मानव जीवन निर्वाह र सुविधाका लागि आवश्यक वस्तु प्राप्तिको सामथ्र्य हुन्छ । उत्पादन नभई अर्थ उपार्जन हुन सक्दैन । वास्तवमा पशुबाट मानव जातिमा छलाङ मार्दा मानव जातिको पहिलो प्रजाति ९कउभअष्भक० ले हासिल गरेको विशेषता नै उत्पादन क्षमता हो । अर्थात् उत्पादन क्षमताले नै पशुबाट मानवलाई अलग्यायो ।

मानव विकासको सुरु चरणमा उत्पादन र त्यसबाट प्राप्त हुने वस्तु प्रयोगको हकमा सबै मानिसहरु समान थिए । यस अर्थमा सबै मानिस आर्थिक हैसियतमा समान थिए । तर, अहिले कोही मानिस धनी र कोही गरिब किन भए त ? कोही उन्नत र कोही पछौटे किन भए त ? के शारीरिक सक्षमता र असक्षमता नै यसको मुख्य कारण हो त ? के बौद्धिक सक्षमता र असक्षमता नै कारण हो त ?

मानव इतिहासलाई केलाउँदा त्यस्तो देखिँदैन । आधुनिक मानव इतिहास सुरु भएको १० हजार वर्षभन्दा बढी भएको छैन । यो दश हजार वर्षको समय अन्तरालमा मानव समाजले बिभिन्न चरण पार गरिसकेको छ ।
मानव समाजमा जबदेखि उत्पादनका साधनहरु कुनै मान्छेको समूहले आफ्नो मात्र हक लाग्ने गरी कब्जा गरी निजी सम्पत्तिलाई जन्म दिए र उत्पादक शक्तिलाई आफ्नो नियन्त्रणमा लिई आफूखुशी संचालन गरेर उत्पादित वस्तुमाथि कब्जा जमाउन सफल भए तबबाट गरीखाने र बसीखाने वर्ग बिभाजन सुरु भयो । बसीखाने वर्गले उत्पादित वस्तुहरुमाथि आफ्नो कब्जा जमाई केबल बाँच्नका लागि पुग्ने मात्रामा गरीखाने वर्गलाई दानको शैलीमा उपलब्ध गराउन थालेबाट मानव समाजमा धनी र गरिबको रेखा कोरिन थाल्यो । दास युग, सामन्तवादी युग हुँदै अहिले पुँजीवादी युगमा मानव समाज पुगिसक्दा पनि गरीखाने र बसीखाने वर्गहरु बिचको बिभाजन कायम छ । त्यसैले गरिब र धनी मानिसहरु समाजमा रहिआएका छन् ।

मानव समाज अहिले अत्याधुनिक वैज्ञानिक युगमा प्रवेश गरेको छ । मानव जीवनलाई सहज बनाउने जुत्ता, लुगाफाटा, आधुनिक घर, मोटरगाडी, रेल, हवाईजहाज, रेडियो टेलिभिजन, कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट सेवा, स्मार्ट प्रविधि आदि असङ्ख्य औजार र प्रविधिहरुको विकास भइसकेको छ । ती सबैको आविष्कार, विकास र उत्पादन कसले गरे त ? सपाटमा हेर्दा यस प्रश्नको उत्तर खोज्न अलि जटिल होला । तर, यसको सूक्ष्म विश्लेषण गर्ने हो भने ती सबै काम आधारभूत रुपमा गरीखाने वर्गले गरेको दृष्टान्त हामी पाउँदछौं । तर, ती सबैमा कब्जा कसको छ त ? स्पष्ट छ ती सबै बसीखाने वर्गको मुठ्ठीमा छ ।

हो, यहीँबाट गरिब र धनी वर्ग बिभाजित हुने । चाहे त्यो कुनै मुलुक भित्रका जनता हुन्, चाहे त्यो विश्वका सिङ्गो मुलुकहरुको सन्दर्भमा होस् । सैद्धान्तिक कुरा एउटै हो । धनी र गरिब मान्छे, धनी र गरिब क्षेत्र, जाति, देश वा महादेश सबैको निर्माण बसीखाने र गरीखाने वर्ग बिभाजित मानव समाजकै उपज हो ।

मानव समाजमा गरीखाने र बसीखाने वर्ग बिचको अन्तर समाप्त नहुँदासम्म यानी कि बसीखाने वर्ग समाप्त नहुँदासम्म विकास र समृद्धिको फल चाख्ने भनेको आधारभूत रुपमा नै बसीखाने वर्गले गर्ने हो । र, मानव समाजमा दुःख, दर्द, अन्याय, पछौटे, लडाईं—झगडा आदि सबैको स्रोत पनि यही वर्ग बिभाजित समाज नै हो ।
वर्ग बिभाजित समाजलाई ज्युँकात्युँ राखेर आर्थिक उत्पादनको कुरा मात्र गर्ने भनेको गरीखाने वर्गलाई काम गराएर उत्पादन गर्ने र त्यसको फल बसीखाने वर्गलाई उपहार दिने भनेको हो । बढी भएमा हुने के हो भने बसीखानेले उपभोग गरेर बाँकी हुने केही भाग जसरी भोजमा खाएर बढी भएको जुठो खाना मगन्तेलाई ख्वाइन्छ त्यसरी नै गरीखाने वर्गलाई हिजोभन्दा केही बढी सुविधा दिइने हुन्छ । यो संसारभरमा लागु हुने कुरो हो ।

त्यसैले वर्गीय दृष्टिकोण सून्य बिचारको रुपमा अहिले आफूलाई मार्क्सवाद र लेनिनवादका अनुयायी ठान्ने नेकपा (एमाले) र थप माओवादका समेत अनुयायी ठान्ने नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरुले विकास र समृद्धिको जुन नारालाई रटान गरिरहेका छन्, त्यो गरीखाने वर्गका लागि झूठा सपनाबाहेक केही होइन ।

मुलुक विशेषकै कुरा गर्ने हो भने पनि अहिलेको भूमण्डलीकृत पुँजीवादको कब्जामा रहेको विश्व अर्थतन्त्रमा नवउदारवादको एक हिस्सा बनिसकेको र अहिले पनि त्यो चङ्गुलबाट बाहिर आउने कुनै कार्यक्रम र साहस नभएको अर्थनीति बोकेर जनतालाई विकास र समृद्धि दिने सपना बाँड्नु भनेको नेपाललाई विश्व पुँजीवादको बेरोकतोक बजार बनाई नेपाली जनतालाई थप शोषणको चङ्गुलमा फसाउने चालबाजी बाहेक अरु केही हुन सक्दैन । एमाले र माओवादी केन्द्रका नेताहरु विश्व पुँजीवादको चङ्गुलमा नजानेर फस्न पुग्दैछन् भने उनीहरुमा चेतना आउन्, जानीजानी उनीहरु त्यसो गर्दैछन् भने इतिहासले उनीहरुलाई माफी दिने छैनन् भन्न सकिन्छ ।

(Visited 391 times, 1 visits today)

टिप्पणी

comments