Main Menu

सम्पादकीय/प्रकाशकीय

मूल्याङ्कन अनलाइन अब निरन्तर

विगत २५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको मूल्याङ्कन मासिक मूलतः अन्तर्क्रियामुखी बिचार–प्रधान पत्रिका हो । २०४६ सालको जनआन्दोलनपछि पुनर्सथापित भएको राजतन्त्रात्मक बहुदलीय व्यवस्थाले नेपाली समाजमा बिचार विमर्श गर्ने वातावरण सिर्जना गर्यो । जनआन्दोलनमा नेपाली जनताले सामन्ती राजतन्त्रलाई समूल अन्त्यको नारा लगाएका थिए । तर, जनआन्दोलनले त्यो उचाइ लिन सकेन । जनआन्दोलनका नेतृत्वकर्ता प्रजातान्त्रिक तथा वामपन्थी राजनीतिक दलहरुले जनतालाई स्पष्ट र प्रभावशाली बिचारसहित अगुवाइ गर्न सकेनन् । जनआन्दोलनले जनचाहना अनुरुप राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न नसक्नुमा यो महत्वपूर्ण कारण बन्यो । यसैलाई मनन गरी नयाँ नेपाल निर्माणको जनचाहनालाई आत्मसात गरेका बौद्धिक एवं जागरुक नेपालीहरुलाई चिन्तनमनन गर्ने तथा गराउने चौतारीको रुपमा २०४८ सालमा मूल्याङ्कन मासिकको जन्म भयो । जुन परिवेश र लक्ष्यमा यसको जन्म भयो, त्यही अनुरुप नै यो पत्रिका अन्तर्क्रियामुखी बिचार–प्रधान बन्यो र २५ वर्षसम्म पनि यो त्यही बाटो र दिशामा हिँड्दै अगाडि बढ्दैछ ।

व्यक्ति, समाज, राष्ट्र, राज्य र देश अगाडि बढ्नका लागि जनता जागृत बन्नुपर्दछ । जागृत हुनका लागि ज्ञानको समग्र क्षेत्रमा जनताको उतिकै पहुँच हुनु जरुरी छ । त्यसैले मूल्याङ्कन मासिकका विषयहरु समसामयिक घटना–विश्लेषण, बिचार, दर्शन, राजनीति, अर्थतन्त्र, इतिहास, कला–संस्कृति, साहित्य, विज्ञान आदि बने । प्रकाशनको केही वर्षपछि नै देशभरिका ठूलै बौद्धिक एवं जागरुक जनसमुदायलाई यसले आफ्नो अभियानमा सामेल गराउन सफलता हासिल गर्यो । यानिकि देशव्यापि रुपमा हजारौं पाठकहरुको यो प्रिय पत्रिका बन्यो । धेरैको यो पथप्रदर्शक नै बन्यो । यसले पस्कने राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिवेश, श्रमजीवि एवं उत्पीडित जनसमुदाय तथा राष्ट्रहरुको न्यायप्रेमी संघर्षहरुको समाचार, विज्ञानमा आधारित दर्शन, राष्ट्रिय एवं विश्व अर्थतन्त्रका प्रवृत्तिहरु, श्रमजीवि जनसमुदायलाई न्यायपूर्ण आन्दोलनमा अगाडि बढ्न प्रेरित गर्ने कला–साहित्य एवं सँस्कृतिसम्बन्धी बिचारहरुजस्ता लोकप्रिय सामग्रीहरुले गर्दा धेरैको लागि यो पत्रिका पाठ्यसामग्री नै बन्यो । माओवादी जनयुद्ध र ०६२/६३ को दोश्रो जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको वातावरण बन्यो । त्यही क्रममा भएको मधेस आन्दोलनले अढाइसय वर्ष पुरानो एकात्मक शासन प्रणालीको अन्त्य गरी संघीय शासन व्यवस्था स्थापनाको आधार भूमि तयार गर्यो । परिणामतः ७० वर्षदेखि आफ्नो संविधान आफै लेख्ने नेपाली जनताको चाहनालाई पूरा गर्दै २०६४ सालमा आमनिर्वाचन मार्फत् जनताले निर्माण गरेको संविधानसभाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । र, नेपाली जनतालाई यो स्थितिसम्म आन्दोलित गर्नमा मूल्याङ्कन मासिकको पनि एक हिस्सा योगदान रह्यो भन्दा अत्युक्ति नहोला ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै एक दशक भएको छ । पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकी दोश्रो संविधानसभाको निर्माण भयो र त्यसले २०७२ सालमा नयाँ संविधान जारी गर्यो । नयाँ संविधान दोश्रो वर्षमा हिँड्दैछ । तर, यसको पूर्ण कार्यान्वयन हुन स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न हुनु जरुरी छ । संविधानले २०७४ माघ ७ गते सम्ममा तिनै तहको निर्वाचन भइसक्नुपर्ने समय सीमा तोकिदिएको छ । तर, संविधान अझै सर्व स्वीकार्य भइसकेको छैन । संघीय शासन प्रणालीको व्यवस्था संविधानमा भए पनि बहुजातीय, बहुधार्मिक, क्षेत्रीय एवं भौगोलिक विविधतायुक्त देश हुनुको स्थितिमा नयाँ संविधान समानुपातिक तथा समावेशी बन्न नसकेको यथार्थतालाई मधेसी, जनजाति एवं पिछडा क्षेत्र तथा वर्गहरुले अहिले चलाइरहेका बिभिन्न आन्दोलनहरुले उजागर गरिदिएका छन् । त्यसैले संविधानले तोकिदिएको समय सीमा लगभग एक वर्ष मात्र बाँकी छँदाको अहिलेको घडीसम्म पनि यो संविधान सफल होला नहोला भनी प्रश्न चिन्ह खडा गर्नेहरु कम छैनन् ।

देशको परिस्थिति सहज छैन । नेपाली जनताको आन्दोलनको उपलब्धी र चाहना अझै सुरक्षित भयो भन्न सक्ने स्थिति छैन । त्यसैले २०४८ सालमा मूल्याङ्कनले सुरु गरेको बिचार अन्तर्क्रियाको अभियानको औचित्य अझै नसकिएको मात्र नभई यसको महत्व अहिलेको नयाँ परिवेशमा थप बढेको छ । तर, अहिलेको समय प्रविधिको दृष्टिमा हिजोभन्दा फरक भइसकेको छ । संसारभरि अहिले अनलाइनमा आधारित मिडिया सुरु भएका छन् । नेपालमा पनि एक दशकअघिबाट सुरु भएको अनलाइन मिडिया अहिले सूचनाको मूल साधन बनिसकेको छ । यसैलाई मनन गरी मूल्याङ्कन प्रकाशन गृह (प्रा.) लि.ले पनि २०७१ भदौबाट मूल्याङ्कन अनलाइनलाई परीक्षणको रुपमा सुरु गर्यो । झण्डै एक वर्षको परीक्षण प्रकाशनपछि व्यवस्थापनमा थप चुस्तता ल्याउन यसले तयारीका लागि आफ्नो अनलाइन प्रकाशनलाई स्थगित गर्दै आयो । यही क्रममा व्यवस्थापनमा आवश्यक तयारी गरी अब यसको निरन्तर प्रकाशन आज २०७३ माघ १ देखि गर्ने जमर्को देखाउन पाउँदा हामी मूल्याङ्कन परिवार हर्षित छौं । हामी तपाईं समस्त पाठकहरुबाट प्रिन्ट संस्करणमा जतिकै यस अनलाइन संस्करणमा पनि माया पाउने आशा गर्दछौं ।

(Visited 684 times, 1 visits today)

टिप्पणी

comments