Main Menu

मूल्याङ्कन अनलाइनको शुभकामना

२०४८ मा प्रकाशित मूल्याङ्कन मासिकको पहिलो अङ्क ।

विगत डेढ दशकको वरपरबाट चलेको अनलाइन पोर्टलहरु अब लगभग आम मिडियाको रुपमा विकसित भइसकेका छन् । खासगरी युवा पुस्ता त अहिले पढ्ने लेख्ने र आफ्ना भावना पोख्ने कुरा अब कपि र कलमको मसी खर्च नगरी सामाजिक सञ्जालहरु नै प्रयोग गर्नमा अभ्यस्त भइसके । त्यसैले युवा पुस्ताको हकमा पत्रपत्रिका पढ्ने, लेखरचना पढ्ने र प्रतिक्रिया जनाउने सबै कुरा अब अनलाइन मिडियामा भइसकेको छ ।

शहरमा मात्र होइन इन्टरनेटको सञ्जाल त अब गाउँको हरेक कुनाकाप्चामा पुगिसकेको छ । मोटर गुड्ने बाटोघाटोको सुविधा नपुगेको दुर्गम गाउँहरुमा पनि मोबाइल फोनको पहुँच पुगेको छ । मोबाइलमै डाटाबाट इन्टरनेट चलाउन सक्ने भएकोले अनलाइन मिडिया अब नपुग्ने स्थान मुलुकमा सायद भेटाउन गाह्रो नै हुन्छ होला । अनलाइन मिडियाको युग आउँदा अब छापा पत्रपत्रिकाहरुको प्रचलन ह्वात्तै घटेको छ । बजारमा देखिने सबैजसा दैनिक खबर एवं साप्ताहिक, पाक्षिक एवं मासिक पत्रिकाहरु सबै सबै नै अब अनलाइन संस्करणका साथ उपस्थित हुन बाध्य छन् ।

त्यसैले मिडियामा अबको युग अनलाइनको हो । यसमा कसैको दुई मत नहोला । किनकि, यथार्थलाई कसैले काट्न सक्दैन ।

०४६ सालको जनआन्दोलनले तत्कालीन निरंकुश पञ्चायती शासन व्यवस्था फालेर संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको स्थापना गर्दाको क्षणमा नेपाली आन्दोलनमा समाजवाद र साम्यवादको प्राप्तीका लागि समय सापेक्ष दर्शन, सिद्धान्त, बिचार, संस्कृति, रणनीति र कार्यनीतिको खोजी भयो । किनकि, शोषण रहित, स्वतन्त्र र समृद्ध मानव समाज स्थापनाका लागि त्यो क्रान्ति यात्राको एक चौतारी मात्र थियो । यानी कि थकाइ मार्ने एक चरण मात्र थियो । अगाडि त फेरि जानु नै थियो । यो कामको लागि विज्ञानमा आधारित भई अध्ययन, चिन्तन मनन, बहस, छलफल र अन्तर्क्रियाको जरुरत थियो । यही आवश्यकतालाई पूरा गर्न तत्कालीन समयका सचेत युवाहरुले मूल्याङ्कन मासिक र प्रकाशन गृहको जन्म गरे । यसलाई दोहोर्याई रहनु परेन कि मिडियाको त्यो अभियानले हजारौं र लाखौं नयाँ पुस्तालाई मुलुक र समाजलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाउनका लागि अभियन्ता बन्न प्रेरित गर्यो । राजनीतिक पार्टीहरु जेजस्तो बने पनि, उनीहरुको आन्दोलन जेजस्तो भए पनि, उनीहरुका नामहरु जेजस्ता बने पनि युवाहरुलाई युग परिवर्तनका सर्जक, अभियन्ता, योद्धा र नेताको तहसम्म विकसित हुन मूल्याङ्कन मासिक, यसको सहप्रकाशनको रुपमा रहेको नवयुवा मासिक र उपयोगी पुस्तक प्रकाशनहरुले उत्प्रेरक तथा बलियो सहयोगीको भूमिका खेले । यसमा मूल्याङ्कन संस्थाका सुरुवातकर्ता एवं संलग्न सबै अभियन्ताहरुले गर्व गर्ने ठाउँ छ । चाहे २०५१ सालमा मुलुकमा पहिलो वामपन्थी सरकार बनेको सन्दर्भ होस्, चाहे २०५२ सालबाट दश वर्षसम्म चलेको सामन्तवादी राज्यसत्ता एवं सामाजिक प्रणालीबिरुद्धको सशस्त्र जनयुद्ध होस् र चाहे ०६२/६३ को गणतन्त्र प्राप्तीको संयुक्त जनआन्दोलन होस्, सबै आन्दोलनहरुमा बैचारिक अभियन्ताको रुपमा मूल्याङ्कन प्रकाशनले आफ्नो जिम्मेवारी निभाएको यथार्थ कसैले भुल्न सक्दैन ।

नेपाली समाजलाई अग्रगामी दिशामा लाने आन्दोलनमा अहिले पुनः दार्शनिक, सैद्धान्तिक, बैचारिक, साँस्कृतिक एवं रणनैतिक अन्यौलता आएको छ । राजनीतिक आन्दोलनले सापेक्षिक उचाइ त अवश्यै लिएको छ । मुलुक संघीय लोकतन्त्रात्मक गणतन्त्रमा प्रवेश गरेको छ । धर्म निरपेक्षता, समावेशी लोकतन्त्र र समाजवादको आकांक्षा सहितको संविधान निर्माण भएको छ । हिजोको सामन्तवादी राजतन्त्रात्मक शासन व्यवस्थाको सापेक्षतामा यो अवश्यै प्रगतिशील छलाङ हो, क्रान्ति हो । तर, अझै प्रगतिशील दिशामा यात्रारतहरुका लागि र शोषणरहित तथा स्वतन्त्र मानवहरुको समृद्ध समाज निर्माण गर्ने आमजनताको आकांक्षाको सापेक्षतामा यो एक थकाइ मार्ने चोतारी मात्र हो । यात्रा त अझै तय गर्नु नै छ । यस अर्थमा मूल्याङ्कन अभियानको सान्दर्भिकतालाई यसले फेरि पनि आवश्यकताको अपिल गरेको हामी ठान्दछौं ।

तर, प्रविधिको कोणबाट युग फेरिएको छ, जुन माथि उल्लेख गरिसकिएको छ । अर्को, बिचार निर्माण गर्ने र नयाँ सन्दर्भमा युग हाँक्ने हिम्मत गर्ने नयाँ पुस्ता तयार गर्ने काम अबिच्छिन्न रुपले अगाडि जानु जरुरी छ र त्यो सम्भव पनि छ । यो आवश्यकतालाई यथार्थमा बदल्नलाई नै मूल्याङ्कनले आफ्नो अनलाइन संस्करणको निरन्तरता गत २०७३ को माघ महिनाबाट दिन थालेको हो । तर, यो नयाँ प्रविधिमा नयाँ एवं थप स्रोत साधन जुट्नु र नयाँ पुस्ताको टिम बन्नु जरुरी छ । यो काम पूरा हुन अझै चुनौतिका पहाडहरु छिचोल्न बाँकी छ । हामीलाई आशा छ, यसलाई वर्तमान पुस्ताले गम्भीरतापूर्वक लिनेछ । विक्रमको नयाँ वर्ष २०७५ को पहिलो दिन आज वैशाख १ गते यो सम्पादकीय लेखिरहँदा हामी आशावादी रहेको सन्देश दिइरहेका छौं । वामआन्दोलन, कम्युनिस्ट आन्दोलन र समग्र मानव मुक्तिको आन्दोलन एवं क्रान्तिको लागि सचेत, सजग, मेहनती र समर्पित पुस्ता निर्माणमा मूल्याङ्कन अभियानले खेल्दै आएको भूमिकालाई निरन्तरता प्रदान गर्न अवश्यै थुप्रै सहयोगी र सहभागिताका पाइलाहरु चालिनेछन् भन्ने आशा लिंदै समस्त नेपाली जनता एवं विश्व मानव जगतको कल्याणको शुभकामना दिन्छौं ।

(Visited 228 times, 1 visits today)

टिप्पणी

comments