Main Menu

सम्पादकीय

कार्ल मार्क्सको दुई सय वर्ष

कार्ल मार्क्स जन्मेको २ सय वर्ष भयो आजबाट । सन् १८१८ मे ५ मा जर्मनीको ट्रायर भन्ने स्थानमा जन्मेका उनी बिसौं शताब्दीका मात्र होइनन् मानव ज्ञानको ३ हजार वर्षको इतिहासमै सर्वाधिक चर्चाका व्यक्तित्व हुन् । हजारौं वर्षपहिले कविला समूहहरुको समाजबाट सुरु भएको मानव सभ्यता दास युगमा प्रवेश गर्नासाथ मानवले मानवलाई शोषण गर्ने प्रथा चल्न थाल्यो, जुन आजको अत्याधुनिक विज्ञान प्रविधि सहितको विकसित सभ्यता र समाजसम्म पनि चलिरहेको छ । मानव समाजभित्र दुःख, अन्याय, अत्याचार, हिंसा, युद्ध, पर्यावरणको विनाश आदि सबै खराब कुराहरुको स्रोत नै वर्ग समाज, वर्ग विभेद र वर्गीय शोषण हो । यो तथ्यलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको दर्शन र सिद्धान्त आविष्कार गरी संसार सामु प्रस्तुत गर्ने व्यक्ति कार्ल मार्क्स हुन् । समाजबाट वर्गहरुको अन्त्य नै सम्पूर्ण दुःख, विभेद, शोषण र अन्याय–अत्याचारको अन्त्यको उपाय भएको तथ्य उजार गर्ने सिद्धान्त हुनुको कारणले गर्दा नै आज विश्वभरिका श्रमजीवि जनता एवं सम्पूर्ण मानव जातिकै मुक्तिको मार्ग मार्क्सवाद हुन पुगेको छ । मार्क्सवाद कार्ल मार्क्स एक्लैको आविष्कार होइन, त्यसमा फ्रेडरिक एङ्गेल्सको पनि समान योगदान रहेको छ । त्यसैले मार्क्सवादको कुरा गर्दा फ्रेडरिक एङ्गेल्सको पनि नाम आउँदछ । तर, हामी आज कार्ल मार्क्स जन्मेको २ सय वर्ष बितेको सन्दर्भमा छौं ।

विश्वमा दुई सयभन्दा ज्यादा स्वतन्त्र एवं कसैको प्रत्यक्ष वा परोक्ष औपनिवेशिक मुलुकहरुको अस्तित्व छ । ती सम्पूर्ण मुलुकहरुले नै विश्वको आकार दिएका छन् । तर, सम्पूर्ण सभ्य मानव जातिको कुरा गर्ने हो भने विश्व दुई भागमा बिभाजित छ, एक शोषण गर्ने हुनेखाने वा बसीखाने वर्ग र दुई शोषणमा परेका वा गरीखाने श्रमिक वर्ग । तर, ती दुई वटै वर्गहरु समाजमा विद्यमान वर्ग बिभाजन र वर्ग विभेदबाट दुःखी छन् र उनीहरुको मुक्ति मार्ग केबल मार्क्सवाद नै हो । मार्क्सवाद मानव मुक्तिको दर्शन र विज्ञान दुबै हो । त्यसैले विश्वका दुई सय वटै मुलुकहरुमा मार्क्सवादको प्रभाव छ, मार्क्सवादको आधारमा जन्मिएका कम्युनिस्ट पार्टीहरु बिभिन्न नाममा स्थापना भई मानव मुक्तिको क्रान्तिको लागि क्रियाशील छन् ।

कार्ल मार्क्स जन्मेको दुई सय वर्ष बित्दैछ आजबाट, तर कार्ल मार्क्सलाई माया गरेर होस् या कसैले घृणा नै गरेर किन नहोस् उहाँलाई नसम्झीकन धरै छैन । कार्ल मार्क्सको भौतिक अवसान भएको पनि १ सय ३५ वर्ष भइसकेको छ, तर उहाँलाई सम्झने र श्रद्धा गर्नेहरुको सङ्ख्या कमी होइन, झनझन बढ्दैछ । भरखरै बितेका महान वैज्ञानिक विलियम स्टेफेन हकिङले कार्ल मार्क्सको नाम त लिनुभएन तर उहाँले मानव जातिको मुक्तिको लागि अहिलेको वर्गीय विभेदपूर्ण पुँजीवाद नै मुख्य समस्या भएको औंल्याउनु भयो, जुन निष्कर्ष मार्क्सवादभन्दा विपरित होइन ।

हामी समस्त मूल्याङ्कन परिवार महान कार्ल मार्क्सको दुई शतवार्षिक जन्मजयन्तीको आजको दिनमा उहाँमा हार्दिक सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाउनु भएको मानव मुक्तिको सार्वभौम दर्शन र सिद्धान्तलाई आजको एक्काइसौं शताव्दीको भूमण्डलीकृत विकृत पुँजीवादबिरुद्ध नयाँ बैचारिक औजार तयार गर्न क्रियाशील रहनेछौं भन्नेमा प्रतिबद्धता व्यक्त गर्दछौं ।

(Visited 368 times, 1 visits today)

टिप्पणी

comments