Main Menu

महान सर्वहारा साँस्कृतिक क्रान्तिको शिक्षालाई हामीले ग्रहण गर्नु जरुरी छ-निनु चापागाईं

समालोचक निनु चापागाईं

(जीवन, समाज, राज्य र राजनीतिमा बेथिति भइरहेछ भने त्यसबारे सम्बन्धितहरुलाई सचेत गराउने काम बौद्धिकहरुको हो । किनभने, तुलनात्मक रुपमा अरुमा भन्दा बढी बुद्धि हुने र काम पनि बुद्धिकै गरिरहने भएकोले सही र गलत छुट्याउने बढी क्षमता उनीहरुमा हुने बिश्वास गरिन्छ । तर, वर्तमानमा बुद्धिजीबीहरुले त्यस्तो गरिरहेछन् या छैनन् भन्ने सवालमा नेपाली समाजमा आममानिसहरु माझ प्रश्न उठिरहेको छ । यस विषयमा मार्क्सवादी चिन्तक एवं समालोचक निनु चापागाईंले गत फागुन १ गते साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकालको स्मृतिमा पोखरामा भएको प्रवचन गोष्ठीमा महत्वपूर्ण बिचार दिए । उनको सो प्रवचनलाई सम्पादन गरी त्यसको पहिलो खण्ड हामीले गत चैत ५ गते प्रकाशित गरेका थियौं । त्यसको बाँकी एवं दोश्रो खण्ड यहाँ प्रकाशित गरिन्छ ।–सम्पादक ।)

हामीले त सबै वामपन्थी घटकहरुलाई माक्र्सवादी, लेनिनवादी भन्दै आएका छौँ । अझ माओवादी वा माओविचारका समेत पनि भन्दै आएका छौं । अब अहिले त यी सबै कुराहरु अचम्म भइसके । विचारधारात्मक प्रतिबद्धता अथवा विचारधाराको कुरा त अब सकियो । अघि यहाँ यस प्रतिष्ठानका महासचिव बलराम तिमल्सिनाले उद्घोष गर्नु हुँदा केपी ओलीको भनाई राख्नुभयो । त्यो कुरो पनि महत्वपूर्ण कुरो छ । तर, त्योभन्दा बढी मैले देखेको कुरा के हो भने वामपन्थी भनिने केही मानिसहरुले के भने भने अबबाट संघर्ष सकियो । यो कुरा अरुहरुले होइन, स्वयं नेताहरुले भनेका हुन् । म नाम भन्दिनँ । उनीहरुले पटकपटक भने ‘वर्ग संघर्ष’ सकियो । साँच्ची सकिएको हो त वर्गसंघर्ष ? के अहिले वर्गहरु छैनन् ? अघि तिमल्सिनाजीले भन्नुभयो, ‘ग्याप हुँदैछ धनी र गरीबबीच, अन्तर चाहिँ झन बढेर गएको छ’ । गरिबहरु त छन् नि ! तर, हाम्रा नेताहरु भनिराखेका छन्, वर्गसंघर्ष सकियो । त्यसै सन्दर्भमा, कोही ‘ट्रेडमार्क हो है हामी कम्युनिष्ट होइनौँ’ पनि भन्छन् । अहिले त ओलीजी भनिरहनुभएको छ, ‘अब बन्ने पार्टी भनेको वामपन्थी पार्टी पनि होइन, कम्युनिष्ट पार्टी पनि होइन’ । त्यसो भए, बन्छ के पार्टी ? यति हुँदाहुँदै पनि हामीहरु चाहिँ आफूलाई ‘कम्युनिष्ट हौँ’ भनेर हिँडिरहेका छौँ । घोक्रो फुलाईफुलाई हामी कम्युनिष्टहरु भनिरहेका छौँ । यो कसरी हुन्छ त ?

अहिले एकथरि साथीहरु लेनिनवादको चर्को विरोध गरिहेछन् । अचम्म छ, वामपन्थी अनि कम्युनिष्ट पार्टीका नेताहरु, जसले आफूलाई लेनिनवादी पनि भन्नुहुन्छ, लेनिनवादकै पनि विरोध गरिरहनु हुन्छ ! एकअर्थमा त यो राम्रो कुरो छ । किनभने, लेनिनको विरोध गर्नु भनेको कम्युनिज्मको विरोध गर्नु हो । लेनिनवादको विरोध गर्नु भनेको त उहाँहरु कम्युनिजम मानिरहनुभएको छैन भन्ने कुराको पुष्टि हो । र, अर्को अर्थ के हो भने साम्राज्यवाद नसकुन्जेल र समाजवादको संक्रमणकालभरि लेनिनवाद रहनेवाला छ । त्यो लेनिनवादबाट मुक्त हुनको निम्ति त लेनिन छोड्नुपर्यो ।

लेनिनले भनेका त के हुन् भने ‘पार्टी भनेको सर्वहारा वर्गको अग्रदस्ता हो’ । अहिले यहाँ त्यस्तो खालको पार्टीको कुरो छैन, नेताहरु अहिले कम्युनिस्ट पार्टीलाई आमजनताको पार्टी भन्न थालेका छन् ।

हामी सबैलाई पेरिस कम्युनको बारे थाहा छ । पेरिस कम्युनको एउटै मात्र महत्वपूर्ण कुरा के थियो भने सर्वहाराको अधिनायकत्व नभईकन समाजवाद लागु हुँदैन । अहिले सर्वहाराको अधिनायकत्व छोड्न थाले यी मानिसहरुले । अनि अहिले सबैभन्दा बढी चर्को विरोध जनवादी केन्द्रीयताको गरिन्छ । लेनिनवादी संगठनात्मक सिद्धान्तको रुपमा स्थापित जनवादी केन्द्रीयताको सबभन्दा चर्को विरोध छ यहाँ । यद्यपि, हिजो पनि नेपालमा जनवादी केन्द्रीयतालाई सही रुपबाट कसैले पनि लागु नै गरेन । त्यो हिजोको माओवादी पार्टी होस् कि, आजको माओवादी केन्द्र होस् या एमाले, कसैले पनि जनवादी केन्द्रीयता लागु गरेका छैनन् । जनवादी केन्द्रीयता भनेको कमिटीभित्र भएका सबैलाई जनवाद दिने भनेको हो । पार्टीमा सबैलाई जनवाद दिने भनेको हो । अहिले जनवाद दिइँदैन । अहिले नेताहरुले जनवाद प्रयोग गर्छन् । एक किसिमले भन्ने हो भने एकल व्यक्तीय तानाशाही छ अहिले । उनीहरु जनवादी केन्द्रीयता लागु गर्दैनन् । त्यस अर्थमा उनीहरु जनवादी केन्द्रीयताको विरोध गर्छन् । यी सबै कुराहरुलाई हामी लेखकहरुले महत्व दिने कि नदिने ? अगाडि सार्ने कि नसार्ने ? यो गर्ने भनेको नेताहरुबाट अलिकति पर पर्ने पनि हो ।

मैले त बुझेको कुरो के छ भने कसैले आलोचना गरेको नेताहरु पटक्कै मन पराउँदैनन् । लेनिनवादी संगठनात्मक सिद्धान्तमा आलोचना र आत्मालोचना भन्ने हुन्छन् । लेनिन् भन्नुहुन्छ, सही मान्छे बन्नको निम्ति आफ्ना गलत कृयाकलापहरुलाई फ्याँकेर आलोचना र आत्मालोचनाको परिपाटी अंगाल्नुपर्छ पार्टीभित्र, संगठनभित्र, कमिटीभित्र । अहिले कस्तो छ भने आलोचना सुन्न नेताहरु मान्दैनन् । आत्मालोचना त गर्ने कुरै भएन । सबैभन्दा जान्ने त उनीहरु नै छन् नि ! अनि आलोचना गर्ने कसैले धृष्टता पनि गर्दैन । सबै त उनीहरु भए नि ! कसरी आलोचना गर्ने ? यो मनोवृत्तिले गर्दाखेरि आलोचनात्मक विवेक हामीले प्रयोग गर्ने कि नगर्ने भन्ने कुरो गम्भीर बनेको छ । हामी आलोचना गर्ने कि नगर्ने ? हाम्रो त अधिकार हो आलोचना गर्ने । तर, मैले बुझेको कुरो चाहिँ, जसले आलोचना गर्छ, त्यो चाहिँ अब अप्रिय पात्र बन्छ । समस्या यहीँ छ । अनि सबै डराउने । डराएर चाहिँ बुद्धिजिवीको काम पूरा हुन सक्दैन, मृत्यु भयो भन्दा हुन्छ । तपाईं ढिलो हुने हो कि चाँडो हुने हो, भोलि सखाप हुने स्थिति पुगेपछि तपाईं चेतेर सुरु गर्ने कि, अहिलेदेखि यो हुनेवाला छ है भनेर सुरु गर्ने ?

म यी नै कुराहरु गर्दै, बितेका घनश्याम ढकालको सन्दर्भ जोड्छु । उहाँ ‘क्रान्तिकारी पुच्छरवाद’ भन्नुहुन्थ्यो । उहाँको शब्द के हो भने कोही क्रान्तिकारी हुनुपर्दैन, तर नेताको पछि लाग्यो भने त्यो राम्रो, त्यो क्रान्तिकारी भइहाल्छ । त्यसकारणले क्रान्तिकारी पुच्छरवाद ठिक छैन, उहाँ भन्नुहुन्थ्यो । अनि अर्को कुरो छ उहाँको, क्रान्तिकारी रुपवाद । रुपमा क्रान्तिकारी, भित्र चाहिँ दक्षिणपन्थी । कुरा चाहिँ ठूल्ठूला क्रान्तिकारी कुरा गर्छ, भित्र चाहिँ ऊ संशोधनवादी छ, अक्रान्तिकारी छ । अनि उसले आफूभित्रको अक्रान्तिकारीपनलाई चाहिँ क्रान्तिका शब्दहरुले, रुपहरुले चाहिँ सिंगारेर अगाडि सार्छ । हाम्रो कम्युनिष्ट आन्दोलनको अथवा लेखनको समस्या पनि यही छ ।

अर्को उहाँ के भन्नुहुन्थ्यो भने, हाम्रो आन्दोलनको सबैभन्दा ठूलो विडम्बना भनेको समूहहरुमा पार्टीहरु विभाजित हुनु । अनि समूहमा भएका पार्टीका मानिसहरुले अर्को समूहका साहित्यकारहरुलाई पढ्दा पनि पढ्दैनन्, अनि क्रान्तिकारी देख्दा पनि देख्दैनन्, गालीगलौज मात्रै गर्छन् । यो भनेको वर्गीय रुपबाट हेर्ने दृष्टिकोण नहुनु हो । वर्गीय दृष्टिकोणलाई महत्व नदिनु हो । सबैभन्दा ठूलो समस्या यही हो ।

उहाँले केही कुराहरु साहित्यको बारेमा भन्नुभएको छ, हाम्रो प्रगतिवादी साहित्य किन फस्टाउन सकेन भन्ने कुरोमा । म त्यो बारेमा तपाईंहरुलाई अलिकति केही कुराहरु भन्न चाहन्छु । र, अर्को चाहिँ उहाँले नेताको बारेमा पनि अलिकति केही कुराहरु भन्नुभएको छ । रातारात नेताहरु चाहिँ महान नेताहरु बने, नायक बने । म चाहिँ त्यसरी हेर्दिनँ । नेताहरु भनेका पनि व्यक्तिहरु हुन् । व्यक्तिहरुको कमीकमजोरीहरु हुन्छन् । ती व्यक्तिहरुलाई कमी कमजोरीहरु सहित हामीले हेर्नुपर्छ । हाम्रो समस्या यहिँनिर छ । हामी नेतालाई पनि महान नेता भन्छौँ । पार्टीलाई गौरवशाली पनि भनेका छौँ, महान पनि भनेका छौँ । कति गौरवशाली रह्यो, कति महान रह्यो, त्यो त अहिलेको वर्तमानले देखाइरहेकै छ, यी टुक्राटुक्राहरुले । तर, त्यसलाई त्यसरी नहेर्ने । द्वन्द्वात्मक रुपमा नहेर्ने । ऊसँग कमी कमजोरी पनि छ भनेर नहेर्ने, त्यो पनि मान्छे हो भनेर नहेर्ने, मान्छे भएपछि कमी कमजोरी पनि हुन्छ भनेर नहेर्ने । र, नेतालाई पनि कमी कमजोरीसहित नहेर्ने जुन मनोवृत्ति छ, त्योबाट बच्ने काम हाम्रो आन्दोलने सक्नुपर्छ भन्नुहुन्छ उहाँ ।

मैले अलिकति तपाईहरुको अगाडि भन्नुपर्छ जस्तो छ, ‘कुनै नेता महान र आदर्शको प्रतिमा ठानिनु र वास्तविक रुपमा त्यस्तै हुनुमा भिन्नता छ । जनयुद्धका क्रममा र त्यसपछि पनि नेतृत्वलाई बुझ्ने कुरामा धेरै मानिसहरुमा द्वन्द्वात्मक होइन, अधिभूतवादी चिन्तन हावी भयो । नेतृत्वलाई देवत्वकरण गरियो । मैले त नेतृत्वलाई कमी कमजोरीसहितका आदरणीय मानव ठान्दै आएको छु ।’

साँस्कृतिक रुपान्तरण पनि भएन । यहाँ सामाजिक रुपान्तरण, साँस्कृतिक रुपान्तरणको पनि कुरा आयो । साहित्यले गर्ने भनेको त समाज रुपान्तरण र साँस्कृतिक रुपान्तरणका निम्ति चेतना विकसित गर्ने हो । त्यसमा पनि घनश्याम जीको भनाइ छ, म त्यो पनि राख्नेछु ।

घनश्यामजीले अलि अगाडिदेखि नै – यो ०५९ को अन्तरवार्ता हो – पार्टीलाई पनि पार्टी जस्तो छैन नै भन्नुहुन्थ्यो । पार्टी पार्टी जस्तै छैन । वास्तवमा थिएन पनि । हिजो पनि थिएन, आज पनि छैन । जुन सिद्धान्तअनुसार जुन वैचारिक आधारमा त्यो सञ्चालन गर्नुपर्ने, जुन संगठनात्मक दृष्टिकोणले त्यो सञ्चालित हुनुपर्ने, त्यस्ता खालका वामपन्थी पार्टीहरु छैनन् अहिले । उहाँ भन्नुहुन्छ, ‘जब पार्टी पार्टीको रुपमा रहेको छैन भने त्यसले जनताको पक्षमा केही उपलब्धीहरुको रक्षा गर्न सक्दैन । त्यसले केही पनि गर्न सक्दैन ।’ हुने पनि त्यही हो । भइरहेकै त्यस्तै छ । उहाँ त्यही मात्रै भन्नुहुन्न, अर्को एउटा ठूलो खतरनाक कुरो भएको छ भन्नुहुन्छ, ‘बौद्धिक उपलब्धी त गुम्यो नै, यहाँ त त्याग बलिदान र समर्पणको संस्कृति पनि गुमेको छ । त्यो सबैभन्दा खतरनाक कुरा हो ।’

अनि अर्को कुरो चाहिँ उहाँले भनेको – मैले अघि भनिसकेको छु – जनयुद्धको सौन्दर्यशास्त्र भनेर उहाँले अगाडि ल्याउनुभयो । एक अर्थमा म त्यसलाई गलतै पनि भन्दिनँ, तर यो जनयुद्धको सौन्दर्यशास्त्र, जनविद्रोहको सौन्दर्यशास्त्र, जनसंघर्षको सौन्दर्यशास्त्र वा अघि तारा न्यौपानेजीले भनेको जस्तै खण्डित गरेर हेर्ने हो कि, समग्रमा राख्ने हो ? त्यो यदि माक्र्सवादी सौन्दर्यशास्त्र नै हो भने वा त्यसलाई अझ कंक्रिट शब्दमा भन्ने हो भने त्यो माओवादी सौन्दर्यशास्त्र नै हो भने त्यही भने हुन्छ नि ! घनश्यामजीले बेलाबेलामा त्यो पनि भन्ने गर्नुभएको छ, त्यही शब्द प्रयोग गर्नुभएको छ । त्यो भनेको वर्गसंघर्षको सौन्दर्यशास्त्र हो । अहिले सबैले वर्गसंघर्षलाई छोडिदियो नि त ! त्यो वर्गसंघर्षसँग जोडिएरै जनयुद्धको सौन्दर्यशास्त्र विकसित हुन्छ । उहाँले भन्नुभयो, ‘जनयुद्धको सौन्दर्यशास्त्रको विकास वर्गसंघर्षको क्रममा भएको हो । अब पनि त्यसको विकास वर्गसंघर्षसँग जोडिएरै हुन्छ । जनयुद्धको सौन्दर्यशास्त्र पलायन, गद्दारी, आत्मसमर्पण, संशोधनवाद र क्रान्तिकारी रुपवादलगायतका सबै खाले पाखण्डका विरुद्ध लक्षित छ । र, यसले महान सर्वहारा साँस्कृतिक क्रान्तिको उन्नत चेतनालाई ग्रहण गर्दछ ।’

अब मैले यसमा अलिकति भन्नु छ । उहाँको कुरा एकदम जायज छ । तर, यहाँनिर एकथरिहरु त महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई मान्दै मान्दैनन् । त्यो भनेको त गडबडका १० वर्षहरु भन्छन्, चिनियाँ कम्युनिष्ट पार्टीको भाषामा । यो भन्न किन जरुरी छ भने त्यस बेलामा सोभियत रुसले समाजवादलाई साम्यवादसम्म लैजाने सवालमा केही कुराहरुको निदान निकालिसकेको थियो । तर, त्यसले केही कुराहरु निकाल्न सकेको थिएन । त्यो महान सर्वहारा साँस्कृतिक क्रान्तिले निकाल्यो । त्यसकारण त्यो महान सर्वहारा साँस्कृतिक क्रान्तिको शिक्षालाई हामीले ग्रहण गर्नु जरुरी छ । त्यो भनेको के हो भने महान अक्टोबर क्रान्तिपछाडि उत्पादनका साधनमाथिको नीजि स्वामित्व समाप्त भयो । अनि त्यो पनि ५ हजार वर्ष अगाडिदेखि चल्दै आएको एउटा युगको अन्त्य ग¥यो सोभियत रुसले । त्यस्तै ४ हजार वर्ष अगाडिदेखि चल्दै आएको पितृसत्तात्मक राज्यसत्तालाई त्यसले समाप्त पार्यो । महिलाहरुमाथिको समानताको सम्पूर्ण अधिकार स्थापना गर्न – एकैचोटी सकिएन, सन् १९२८ तिर आएर मात्रै त्यो काम पूर्ण भयो । १९२५ को बेलामा त अलिकति अप्ठ्यारो पनि भयो, वेश्यावृत्तिलाई उनीहरुले उन्मूलन गरे, चुलाचौकाबाट पनि महिलाहरुलाई बाहिर निकालिदिए, ठूल्ठूला शिशुशालाहरु बनाए, भोजनालयहरु बनाए । त्यसको क्रममा महिलाहरुलाई चुलाचौकाबाट बाहिर निकाले, यस बीचमा नयाँ आर्थिक नीति आएपछि अलिकति वेश्यावृत्ति बढ्यो पनि । अलिकति त्यसमा गडबडी भयो । तर, त्यसलाई सच्याइसकेपछि – त्यो पछि फर्कनु थियो, वार कम्युनिजमको प्रभाव थियो । त्यो नफर्कीकन नहुने अवस्था थियो, त्यो भयो ।
एंगेल्सको पुस्तक त तपाईं हामीले पढेकै छौं – परिवार, निजी, सम्पत्ति र राज्यको उत्पत्ति – वर्गसंघर्षका यी

तीनवटा चीजहरुलाई समाप्त नपारेसम्म साम्यवाद आउँदैन । निजी सम्पत्ति त समाप्त पार्यो । पितृसत्ता पनि समाप्त पार्यो । तर, राज्यसत्ता त समाप्त पारेको थिएन । राज्य चाहिँ समाप्त पार्ने क्रममा थियो । त्यसमा के थियो भने राज्यका मात्रै लक्षणहरु थिएनन् सोभियत समाजवादमा । त्यहाँनिर अराज्यका केही लक्षणहरु पनि थिए । र, त्यो राज्यलाई उन्मूलन गर्नुपर्ने दिशातिर जानुपर्ने थियो । त्यसैमा अलिकति कमजोरी भयो । के भयो भने उत्पादनका साधनको निजी स्वामित्व समाप्त गर्ने बित्तिकै उत्पादन सम्बन्ध पनि माथिल्लो रुपबाट विकसित भइहाल्छ भन्ने चिन्तन रुसमा हावी भयो । १९३६ मा गएर स्टालिनले ‘वर्गसंघर्ष सकियो रुसबाट’ भन्नुभयो, वर्गसंघर्ष छैन भन्नुभयो । पछि आएर ‘रुसमा पुँजीवादको विकास’ भनेर लेख्न त उहाँले केही सच्याउन खोज्नुभयो १९४६ तिर आएर । तर १९३६ मा नै गल्ती भइसकेको थियो । किनभने, त्यतिखेर के सोचियो भने उत्पादनका साधनमाथिको निजी स्वामित्वलाई समाप्त गर्ने बित्तिकै त्यही दिशामा अगाडि बढिहाल्छ, उत्पादन सम्बन्ध पनि समाधानको दिशामा गइहाल्छ भन्ने गल्तीका कारणले उत्पादनका साधनहरुको निजी स्वामित्व समाप्त गरेपछि पनि पुँजीवाद कहाँकहाँबाट आउँछ भन्ने कुराको अध्ययन रुसले गर्न पाएन । तर, चीनले चाहिँ १९६४ देखि यो गर्नैपर्यो ।

क्रमशः…………………………

(Visited 377 times, 1 visits today)

टिप्पणी

comments