Main Menu

थाकेका र पर्खेकालाई राहत मिलेको एकता

हिजो जेठ ३ को एमाले–माओवादी एकता थाकेका र पर्खेकाहरुबिचको मिलन वा एकता हुन पुगेको छ । विक्रमको एक्काइसौं शताव्दीको ३० को दशकमा झापा बिद्रोहमा हतियार उठाई सामन्तहरुको टाउको काट्ने अभियान चलाएर एक अलग धार निर्माण गरेका पूर्व माले पार्टीले मदन भण्डारीको पालामा नै शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई मूल कार्यदिशा लिइसकेको थियो । मदन भण्डारीले प्रतिपादन गरेको भनिएको ‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त, जो मौलिक भनिए पनि खासमा युरोपमा उन्नाइसौं शताब्दीमा नै इडवार्ड बर्नस्टिनहरुले ल्याएको चुनावी प्रतिस्पर्धाबाट समाजवादमा पुग्ने कार्यक्रमसँग आधारभूत रुपमा मिल्दछ, त्यसले ०४६ सालको आन्दोलनपछाडि माले र मार्क्सवादी मिलेर बनाएको एमाले पार्टीको २०४९ सालको पाँचौं महाधिवेशनले अनुमोदन गरी बाहिर प्रचारमा ल्याएपछि एमालेको चर्चा एकाएक आमजनतामा चुलिएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा सहभागी हुनेहरुमा निम्नमध्यम वर्गीय आर्थिक धरातलबाट आउनेहरुको सङ्ख्या अत्यधिक हुने गरेको छ । उनीहरुका लागि कम दुःख गरी र गुमाउने न्यून हुने गरी वा कम जोखिम मोलेर क्रान्तिकारी हुने राजनीति आकर्षक लाग्दछ । आर्थिक रुपमा खस्किरहेको जीवन, सूचना र ज्ञानले क्रान्तिले नै भविष्य बन्ने चेतनाको प्राप्ति, धनभन्दा पनि महान व्यक्ति बन्ने निजी सपना र आकाङ्क्षा निर्माण गरेका निम्नमध्यम वर्गले शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै सजिलै आफूले चाहेको लक्ष्य पूरा हुने हो भने कठिन बाटो किन रोज्थ्यो र ! एमालेको जबजको सिद्धान्त निम्नमध्यम आर्थिक धरातलका कम्युनिस्ट क्रान्तिकारीहरुका लागि आकर्षक राजनीतिक कार्यक्रम र कार्यदिशा दुबै बन्न धेरै बेर लागेन । सशस्त्र सङ्घर्ष गर्दै चिनीया शैलीमा नयाँ जनवादी क्रान्तिको कठिन कार्यदिशा बोकेका तर त्यसका लागि माखो एउटा मार्न पनि तयारी नगरेका चौम र म(सा)शालहरुलाई छाडी थुप्रै नेता कार्यकर्ताहरुले साङ्गठानिक छलाङ मार्दै एमालेमा प्रवेश गरे । हेर्दाहेर्दै ५० को दशक सुरु हुँदासम्म एमाले मुलुकको सबभन्दा ठूलो कम्युनिस्ट पार्टीको रुपमा अगाडि आयो ।

२०४६ को आन्दोलनले राजतन्त्रलाई कमजोर पारी मुलुकमा राजनीति परिवर्तन ल्याए पनि त्यसको १ प्रतिशत पनि सकारात्मक छाप राजधानीलगायत मुलुकका प्रमुख सहरहरुभन्दा परका तराई–पहाडका गाउँवस्तीमा लाग्न सकेन ।

जबजमा गणतन्त्र ल्याउने कार्यक्रम थियो । अझ आवश्यक परे बल प्रयोग गरेर भए पनि गणतन्त्र ल्याउनुपर्छ भन्ने लवज पनि थियो । ती कुराहरुले जबजमा क्रान्तिकारी चाहनाको अवशेष रहेको पुष्टि हुन्छ । तर, व्यवहारिक रुपमा उसले चुनावी प्रतिस्पर्धा र त्यससँग मिल्ने संसदीय कुरुप संस्कृतिलाई नै प्रधान्यता दिँदा त्यो क्रान्तिकारी चाहना पूरा नहुने सपनामा बदलिसकेको थियो । अझ जबज सिद्धान्त प्रतिपादक नेता मदन भण्डारीको ५० सालमा अवसान भएपछि नेपालमा गणतन्त्र स्थापना गर्ने क्रान्तिकारी चाहना त यति कमजोर हुन पुग्यो कि ५/६ वर्षमै एमालेले गणतन्त्रको नारालाई औपचारिक रुपमै आफ्नो राजनीतिक कार्यक्रमबाट हटाइदियो । अब ऊ राजा सहितको बहुदलीय संसदीय राजनीतिक प्रणाली, जहाँ वर्गीय कोणबाट हेर्दा मुख्यतः सामन्तवर्गसँग मिलेर पुँजीपतिवर्ग अझ नेपालको सन्दर्भमा दलाल पुँजीपति वर्गको नै हालीमुहाली वा अधिनायकत्व कायम हुनेवाला थियो, त्यसैमा अभ्यस्त हुन पुग्यो । यानी कि ऊ मुलुकको राजनीतिक, आर्थिक एवं साँस्कृतिक अधिरचनामा स्थायित्व चाहना गर्ने वा यथास्थितिको पक्षपोषण गर्नेतर्फ लाग्यो । एमालेले गरेको त्यो वर्गीय छलाङ थियो । क्रान्तिकारी राजनीतिमा लागेका नेतृत्व र नेताहरुले क्रान्तिकारी बाटोमा हिँड्दाहिँड्दै थाकेको महसुस गरेपछि बाटो बदलिने भनेको यही नै हो । क्रान्तिकारी बिचलन सबैले बुझ्ने भाषामा एकै चोटि छर्लङ्ग हुने गरी आउँदैन । यस्तो बिचलनलाई कम्युनिस्ट आन्दोलनमा संशोधनवाद भन्ने गरिन्छ ।

सशस्त्र सङ्घर्षको रणनीति भएर पनि समय आएको छैन भन्ने पूर्व चौथोमहाधिवेशन पार्टीका नेताहरुको ठम्याइसँग कुरा नमिलेपछि २०४७ सालमा बनेको एकता केन्द्र पार्टीबाट फुटेर गई मोहन वैद्य र प्रचण्डहरुले २०५१ सालमा नै नेकपा (माओवादी) को गठन गरी २०५२ सालबाट नै राज्यसत्ताबिरुद्ध हतियार उठाई जनयुद्धको थालनी गरे । २०४६ को आन्दोलनले राजतन्त्रलाई कमजोर पारी मुलुकमा राजनीतिक परिवर्तन ल्याए पनि त्यसको १ प्रतिशत पनि सकारात्मक छाप राजधानीलगायत मुलुकका प्रमुख सहरहरुभन्दा परका तराई–पहाडका गाउँवस्तीमा लाग्न सकेन । ०४६ सालको आन्दोलन र त्यसले ल्याएको २०४७ सालको बहुदलीय संविधानले गाउँवस्तीमा कुनै उत्साह ल्याउन सकेन । युगौंदेखि सामन्ती फटाहाहरुको शोषण र अन्याय–अत्याचारमा पिल्सिएका जात, जनजाति, दलित, पिछडिएको क्षेत्रले कुनै ठोस परिवर्तन चाहिरहेको थियो । त्यसलाई माओवादी जनयुद्धले सम्वोधन गर्यो । त्यही कारणले गर्दा नै सशस्त्र सङ्घर्षको रणनीति बनाएर पनि अहिले समय आएको छैन भनेर बसेका कम्युनिस्ट क्रान्तिकारीहरुले सोचेभन्दा, यथास्थिति राजनीति नै बोकीसकेको एमाले शक्तिले आंकलन गरेभन्दा, राजतन्त्रसँग धेरै अगाडि नै घाँटी जोडिसकेको नेपाली पुँजीजिवी वर्गको प्रतिनिधि पार्टी नेपाली कांग्रेस र कमजोर अवस्थामा पुगिसकेको स्वयं राजतन्त्रले समेत अपेक्षा गरेकोभन्दा फरक ढङ्गले दिनपरदिन जनयुद्ध फैलिएर राजधानीबाहेक मुलुकको सबैजसो ठाउँ र क्षेत्रमा जनयुद्धले जवरजस्त प्रभाव जमायो । आखिरमा आएर राजतन्त्र इतरका सबैलाई नै गणतन्त्रको एजेन्डामा एकै ठाउँमा ल्याउन तत्कालीन नेकपा (माओवादी) सफल भयो । ०६२/६३ को संयुक्त आन्दोलन भयो, संविधानसभा आयो, राजतन्त्र गई गणतन्त्र आयो र अहिले संवैधानिक रुपमै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको छ ।

तर, गणतन्त्रको स्थापना सँगसँगै जनयुद्ध गरेर गणतन्त्र स्थापना गर्न त्यत्रो अगुवाइ गरेको नेकपा (माओवादी)को नेतृत्व वर्गभित्र झाँगिएको साँस्कृतिक बिचलन सतहमा देखापर्यो । हिजो जनयुद्धको बेला उनीहरुभित्रको पछौटे र भ्रष्टीकृत सँस्कृति सतहभित्र दबिएर बसेको थियो । क्रान्तिकारी आँधीबेहरीमा त्यस्तो हुने गर्दछ । त्यस्तो बेलामा पनि सामन्ती र बुर्जुवा सँस्कृतिलाई मौलाउन नदिने चनाखोपन हुने र त्यस अनुरुपको कार्यक्रम दिने नेतृत्व दिने क्षमता नेतृत्वमा हुनुपर्थ्यो । त्यसो हुन सकेन । जनयुद्धको समयमा क्रान्तिको नाममा गैर न्यायिक हत्या गरे पनि, कसैको रिसिबी साँध्नका लागि क्रान्तिकारी जामा लगाएर वर्गीय होइन आफ्ना व्यक्तिगत पारिवारिक शत्रुलाई सफाया गरे पनि, शत्रु पक्षको भनी महिलाहरुलाई बलात्कार गरे पनि, पार्टीका लागि आर्थिक जोहो गर्ने नाममा पुँजीजिवी वर्गसँग मात्र होइन सर्वसाधारणसँग पनि बन्दुकको बल देखाई लुटलाट पार्ने र त्यसरी संकलित रकमको कुनै हिसाब किताब नराखे पनि पार्टी नेतृत्वले आँखा चिम्लिने काम गर्यो ।

पार्टीभित्र खान बस्न जोहोको होडबाजीमै थुप्रै गुटउपगुटको सिर्जना भइसकेको रहेछ, नेतृत्वलाई थाहै भएन, यति मात्र होइन आफूहरु पनि खासखास अमूकअमूक गुटहरुका नेता पो बनिसकेका रहेछन्, त्यो पनि नेताहरुले चाल पाएनन् । परिणाम के भयो भने, नेतृत्वले नचाहेर पनि पार्टी चिराचिरा पर्यो ।

युद्ध भनेको केक काटेजस्तै सरल चाहिँ त पक्कै हुन्न । केही तलमाथि त हुन्छ । यसलाई नकार्न सकिन्न । तर, लूटको प्रवृत्ति नै आम सँस्कृति हुनु भनेको फरक कुरा हो । माओले जनयुद्धमा जनताको सियोसम्म पनि नलेऊ भनेका थिए । जनताको कुनै नोक्सानी हुन्छ भने त्यसको क्षतिपूर्ति दिनू भनेर माओले लालसेनालाई निर्देशन दिने गर्थे । तर, हाम्रो जनयुद्धमा माओको त्यो निर्देशनको ठीक विपरित काम भयो ।

‘सबै कुरा क्रान्तिपछि’ बनाउने भन्ने सिद्धान्तमा आधारित भएर चलाइएको नेपाली जनयुद्धले माओको जननीति समात्न नसकेको स्पष्ट देखिन्छ । जनयुद्धले जनताको मन जित्ने मात्र होइन, जनताले नै चलाउने युद्ध हो त्यो । त्यसले प्रतिकृयावादी वर्गबिरुद्ध राजनीतिक र सामरिक युद्ध मात्र गर्दैन, बरु सम्पूर्ण रुपमा प्रतिकृयावादी, सामन्ती र बुर्जुवा सँस्कृतिविरुद्ध पनि निर्मम लडाइँ लड्दछ । नेपाली जनयुद्धमा राजनीतिक लडाइँ चाहिँ त निर्मम बन्यो नै, जो आवश्यक पनि थियो, तर त्यसले साँस्कृतिक लडाइँ, जसको सुरुवात आफैबाट गरिन्छ, त्यो चाहिँ हुन सकेन मात्र होइन कि त्यसलाई आवश्यक नै ठानिएन । माओवादी आन्दोलनको मूल समस्या यही नै देखियो ।

साँस्कृतिक लडाइँको गैर हाजिरमा भएको जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र त्यसले बनाएको सर्वाधिक ठूलो पार्टीमा गणतान्त्रिक क्रान्तिपछि हिजोको साँस्कृतिक फोहोर पखाल्ने होइन, बरु राजनीतिक शक्ति आर्जनपछि राज्यसत्तामा गएर अरु फोहोरहरु थप्ने काम नै झनपछि झन हुँदै जान थाल्यो । अपेक्षाभन्दा बढी राजनीतिक तागत बढ्नाले माओवादी पार्टीलाई आफ्नो जीउमा भएको फोहोर हेर्न फुर्सद नै भएन । उसलाई मान सम्मान, आर्थिक लाभ, राज्यसत्ता वरपरका उच्च वर्गहरुसँगको लसपसलाई व्यवस्थापन गर्नमै भ्याइनभ्याइ भयो । धेरै दिनसम्म भोकाएकाहरुलाई खानाको थुप्रोमा ल्याइपुर्याउँदा खानाखानमा नै व्यस्त भई भूकम्प आई आफू उभिएको धरातल नै भास्सिएको चाल नपाएजस्तै हेर्दाहेर्दै नै त्यत्रो ठूलो पार्टीमा ठाउँठाउँमा भ्वाङ् पर्दै गएको नेतृत्वलाई थाहै भएन, उनीहरु लठिएर बसे, केही चाल नै पाएनन् उनीहरुले । पार्टीभित्र खान बस्न जोहोको होडबाजीमै थुप्रै गुटउपगुटको सिर्जना भइसकेको रहेछ, नेतृत्वलाई थाहै भएन, यति मात्र होइन आफूहरु पनि खासखास अमूकअमूक गुटहरुका नेता पो बनिसकेका रहेछन्, त्यो पनि नेताहरुले चाल पाएनन् । परिणाम के भयो भने, नेतृत्वले नचाहेर पनि पार्टी चिराचिरा पर्यो । हेर्दाहेर्दै पहिलो संविधानसभाको निर्वाचनमा बहुमत ल्याएको र त्यसमा एकताकेन्द्र मसाल पार्टी मिसिसकेपछि झन ठूलो बनेको पार्टी टुक्राटुक्रा भइ ६÷७ घटकहरुमा रुपान्तरण हुन पुग्यो ।

‘हामीले ०६१ सालदेखि नै एकताको प्रक्रिया सुरु गरेको’ भनी अहिले नेताहरु कुर्ले पनि माओवादी पार्टीले एमाले पार्टीलाई कहिल्यै क्रान्तिकारी पार्टी मानेको थिएन । उसको विश्लेषणमा जबज यथास्थितिलाई थाम्ने सिद्धान्त थियो र एमाले पार्टी यथास्थिति पार्टी थियो । गएको स्थानीय तहको निर्वाचनसम्म पनि यही कुरालाई ऊ दोहोर्याई तेहर्याई ध्वाङ्ग फुकिरहेको थियो । अनि एकाएक संसदीय निर्वाचनताका पार्टी नै एकता गर्ने घोषणा गरी एमालेलाई क्रान्तिकारी पार्टी घोषणा कसरी गर्न सक्यो ? धेरैलाई अचम्भित पारेको कुरो यही नै थियो ।

सत्य कुरा के हो भने एमाले पार्टी त जहाँको त्यहिँ नै छ, न उसले पुँजीजिबी वर्गको पक्षपोषणको राजनीति छोडेको छ, न त उसले वर्ग सङ्घर्षको बाटो पुनः समात्न थालेको हो । ऊ त जनयुद्धको कारणले बाध्य भएर गणतन्त्रसम्म घिस्रिन मात्र आएको हो । परिवर्तनको छलाङ त माओवादी पार्टीमा आएको हो । उसले हिजो सर्वहारा वर्गीय राजनीति जुन बोकिराखेको थियो, अब त्यो उसले कागजमा लेखी निधारमा टाँस्ने काम मात्र गर्यो । अरु सबै छाड्यो । वर्गीय समाजमा ‘वर्ग सङ्घर्ष र वर्गीय राजनीति’को बाटो त्यागेपछि त्यो हुनेखाने वर्गको हतियार बन्नुबाहेक केही हुँदैन । त्यसैले एमालेले दिएको वर्ग पहिचान बिनाको ‘विकास र समृद्धि’को नारा माओवादीको पनि एक सूत्रीय एजेन्डा बन्यो । यसो किन भयो ?

वास्तवमा राजनीतिक घटना क्रमलाई शृङ्खलामा राखेर हेर्ने हो भने माओवादी थाकेको थियो र एमालेले माओवादीलाई आफ्नो लाइनमा ल्याउन पर्खेको थियो । विगत असोज १७ बाट जेठ ३ सम्मका घटनाक्रमहरुलाई शृङ्खलामा राख्दा यही चित्र देखिन्छ । त्यसैले हिजोको एकता र नयाँ पार्टी निर्माण थाकेका र पर्खेकाहरुलाई राहत मिलेको घटनाको रुपमा लिन सकिन्छ ।

एमालेका क्रान्तिकारीहरु हिजै थाकेर याथास्थितिको राजनीतिको चौतारिमा बस्ती बसालिसकेका राजनीतिक यात्रीहरु हुन् । जबज त्यसैको कार्यक्रम हो । मार्क्सवाद र लेनिनवाद त उनीहरुले लगाएको लुगा मात्र हो । त्यसले देखाएको गन्तव्यमा पुग्ने उनीहरुको हिम्मत नहुँदा नै क्रान्तिको यात्रामा ‘बहुदलीय चौतारिबाट अब अगाडि नबढौं, थाकियो’ भनेर जहाँ पुग्यो त्यहीँ भविष्य खोज्न बसेका हुन् उनीहरु । माओवादीहरु हामी त थाकेका छैनौं किनकि हामीसँग मार्क्सवाद, लेनिनवाद मात्र होइन माओवाद पनि छ भनेर अलि परसम्म जान खोजे । गए पनि । उनीहरुले जबरजस्त एमालेहरुलाई पनि तानेर अलि अगाडि परसम्म पुर्याएकै हुन् । एमालेहरुले भन्दै थिए, गाली गर्दै थिए, ‘बेवकुफहरु, हिजोको चौतारीमै हामी मगनमस्त थियौं, तिमीहरुले हामीलाई जबरजस्त तानेर यहाँसम्म ल्याइपुर्यायौ, पख्लास् ! तिमीहरुलाई हामी थचार्छौं, थचार्छौं, तिमीहरु हामीहरुभन्दा के कुरामा फरक छौ त ? हामी एउटै नै हौं नि ! यस्तो हामीलाई दुःख दिने ?’

वास्तवमा एमालेहरु माओवादीहरुलाई आफ्नै ठाउँमा फर्कने दिन पर्खिरहेका थिए । जनयुद्धको विरासतलाई जोगाउन माओवादी नेतृत्वलाई यति हम्मेहम्मे भयो कि उसले अस्तित्व जोगाउन केन्द्रीय समितिको आकार नै ४ हजार बनायो । तै पनि धान्न गाह्रो भयो । अब के गर्ने ? पार्टी पार्टीको रुपमा त हुँदै भएन । पार्टी नभनौं पछाडि जाने ठाउँ पनि छैन । मनभित्र रहेका मार्क्सवाद, लेनिनवाद र माओवादले ठाउँ छाड्दै लुगामा मात्र बास बस्न थालिसके । बाबुरामले त लुगाबाट पनि हटाइदिए । अब आफूहरु पनि त्यो ठाउँमा पुग्नुपर्ने भयो भने हिजोको जनयुद्धको भूतले त बाँकी राख्दैन । अब के गर्ने त ? बडो अलमलमा नेतृत्व पुगेको बेला हिजो आफूले नै पछाडि छाडेको सिद्धान्त र पार्टीहरुको स्थानमा गएर एकै ठाउँमा बस्न पाए त सबै जोखिमको अन्त्य हुने नै छ भन्ने बुद्धि फुर्यो । यही बुद्धिको विकास क्रममा नै अहिले एमालेसँग पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी बनाएका छन् माओवादीको मूल घटक माओवादी केन्द्रले ।

वास्तवमा राजनीतिक घटना क्रमलाई शृङ्खलामा राखेर हेर्ने हो भने माओवादी थाकेको थियो र एमालेले माओवादीलाई आफ्नो लाइनमा ल्याउन पर्खेको थियो । विगत असोज १७ बाट जेठ ३ सम्मका घटनाक्रमहरुलाई शृङ्खलामा राख्दा यही चित्र देखिन्छ । त्यसैले हिजोको एकता र नयाँ पार्टी निर्माण थाकेका र पर्खेकाहरुलाई राहत मिलेको घटनाको रुपमा लिन सकिन्छ ।

(Visited 195 times, 1 visits today)

टिप्पणी

comments