Main Menu

बिचार/विश्लेषण

विकास र समृद्धि : पुँजीवादकै चिहान बन्छ, बनाइनु पर्छ

लोकतन्त्र, विकास र समृद्धिको नारा वा कार्यक्रम पुँजीवादको जन्मकालदेखि नै रहँदै आयो । पुँजीवादको मुख्य ध्येय भनेको पुँजीपति वर्गले उद्योग व्यवसायमा वस्तु तथा माल उत्पादन गर्ने र त्यसको बजार निर्माणका लागि भौतिक पूर्वाधार निर्माण गर्नु हो । माल बजारमा बिक्री गरी नाफा कमाउनु नै पुँजीपति वर्गको एक मात्र स्वार्थ हो । यसका लागि प्राकृतिक स्रोत–साधन दोहन गर्ने, त्यसलाई उद्योगसम्म ल्याई पुर्याउने र त्यहाँबाट वस्तु उत्पादन गरी मालको रुपमा बजारमा पुर्याई बिक्री वितरण गर्नका लागि पुँजीपति वर्गलाई हरेक क्षेत्रमा स्वतन्त्रता र पूर्वाधारको विकास जरुरी हुन्छ । त्यसैले राज्यसत्ता आफ्नो हातमा आइसकेपछि उसले लोकतन्त्रको प्रत्याभूति र विकास निर्माण गर्ने गर्छ । यहाँ लोकतन्त्रले प्रतिनिधिमूलक राज्य व्यवस्था जनाउँछ भने विकासले बाटोघाटो, पारवहन, सूचना–संचारको सञ्जाल, उद्योग तथा व्यापारिक संयन्त्र आदिको निर्माणलाई बुझाउँदछ । समृद्धिले आर्थिक सम्पन्नता जनाउँदछ । तर, पुँजीवादमा पुँजीपति वर्गले वस्तु तथा माल उत्पादन गर्नका लागि पुँजी निवेश गर्दछ, नाफा कमाउँदछ, नाफाको ठूलो हिस्सालाई पुनः निवेश गर्दछ र उसले फेरि पनि नाफा कमाउँदछ । यो श्रृङ्खला यतिकैमा अन्त्य हुँदैन, यसको अन्त्यहिन श्रृङ्खला बनाउँदै ऊ फैलिँदै जान्छ देश, बिदेश र सम्पूर्ण भूगोलमा । साम्राज्यवाद, उपनिवेशवाद, प्रभुत्ववाद, विस्तारवाद, फासिवाद, युद्ध, क्षेत्रीय युद्ध र विश्वयुद्ध यी सबै पुँजीवादले नाफाका लागि पुँजी निवेश, पुनःनिवेश र फेरि पनि निवेश गर्न आफ्नो बर्चश्व सामाजिक, राजनीतिक, आर्थिक एवं साँस्कृतिक क्षेत्रमा राख्न वा भइरहेकोलाई जोगाउन गर्दछ, गरिरहेछ । त्यसैले पुँजीवादमा समृद्धि भनेको आम जनताको होइन, सिमित पुँजीपति वर्गको मात्र आर्थिक उन्नति हो, विकास र समृद्धि पुँजीपति वर्गको नाफा कमाउनका लागि आधार तयार गरिने मेलो एवं योजना हुन् ।

बेलायती उपनिवेश कालमा भारतभरि निर्माण भएको रेलवे तथा सञ्चार सञ्जालले नै त्यहाँको उपनिवेशवादबिरुद्धको स्वतन्त्र सङ्ग्राममा आमजनतालाई एकत्रित गर्न भारतीय क्रान्तिकारीहरुलाई सजिलो बनाइदियो ।

तर, इतिहासले के सिद्ध गरेको छ भने, पुँजीपति वर्गले गर्ने विकास र समृद्धिले नै उनीहरुले आफ्नै चिहान खन्दछ । मार्क्सवादले ऐतिहासिक भौतिकवादमार्फत् यही कुरालाई व्याख्या गरेको हो । मार्क्सवादी समाजशास्त्र यसै कुरालाई विश्लेषण गर्न जन्मिएको छ । प्राकृतिक सम्पदालाई दोहन गर्ने, त्यसबाट वस्तु तथा माल उत्पादन गर्ने र नयाँ बजार खडा गरी बढीभन्दा बढी नाफा कमाएर आफ्नो समृद्धि हासिल गर्न नै विश्वभर उपनिवेश खडा गर्ने क्रमसँगै इतिहासमा बेलायती साम्राज्यवाद भारतसम्म आइपुगेको थियो । सुरुमा सामान्य व्यापार गर्ने मेलो ल्याई पसेको बेलायतीहरु बिस्तार बिस्तारै भारतीहरुले थाहा नपाईकन उनीहरुमाथि शासन गर्ने शासकका रुपमा परिणत भए । अढाइसय वर्षभन्दा बढी समयसम्म बेलायती साम्राज्यवादले भारतलाई उपनिवेश बनायो ।

बेलायती साम्राज्यवादले भारतमा वस्तु तथा माल उत्पादन गर्न त्यहाँका जङ्गल, जमिन तथा खानीलाई प्रशस्त मात्रामा दोहन गर्यो । त्यसबाट आएको नाफा बेलायती पुँजीपति वर्गको समृद्धिका लागि प्रयोग गरियो । भारतीय जनता कङ्गाल भयो । तर, भारतीय भूमिको स्रोत–साधनलाई दोहन गर्न र त्यसबाट वस्तु तथा माल उत्पादन गरी बिक्री वितरण गर्नका लागि आवश्यकता हुँदा बेलायती साम्राज्यवादले भारतभरि नै रेलवे सञ्जाल, संचार सञ्जाल, शिक्षा विकासका लागि नयाँ ढङ्गका विद्यालय, विश्वविद्यालयहरु पनि खोल्यो । त्यो तिनीहरुले भारतीय जनताको समृद्धिका लागि गरेको काम होइन । आफ्नो उद्योग–धन्दा र व्यापार–व्यवसायका लागि उनीहरुलाई ती कामहरु नगरी हुन्नथ्यो । तर, त्यही कुराहरु उनीहरुका लागि अभिशाप बने ।

बेलायती उपनिवेश कालमा भारतभरि निर्माण भएको रेलवे तथा सञ्चार सञ्जालले नै त्यहाँको उपनिवेशवादबिरुद्धको स्वतन्त्र सङ्ग्राममा आमजनतालाई एकत्रित गर्न भारतीय क्रान्तिकारीहरुलाई सजिलो बनाइदियो । यो भारतको मात्र होइन, उन्नाइसौं शताव्दीभरि नै विश्वभर चलेको सम्पूर्ण उपनिवेशवादविरुद्धका स्वतन्त्र सङ्ग्रामहरुको कथा हो, चाहे अफ्रिकामा होस्, चाहे ल्याटिन अमेरिकामा होस्, सबै औपनिवेशिक मुलुकहरुको स्वतन्त्रता सङ्ग्राममा त्यहाँ उपनिवेशकालमा साम्राज्यवादीहरुले निर्माण गरेका भौतिक पूर्वाधारहरु नै क्रान्तिकारीहरुका लागि पनि क्रान्तिका लागि औजार बने ।

मुलुकभित्रको आमजनताको आयतनको तुलनामा दलालपुँजीजिवी वर्गको हिस्सा ५ प्रतिशत कट्न पनि गाह्रो हुन्छ । तर, मुलुक विकासले हुने समृद्धिको प्रतिफलको ठूलो हिस्सा बहुराष्ट्रिय कम्पनीहरुले लिएर गएपछिको बाँकी हुने अधिकांश हिस्सा पनि मुलुकभित्रका दलाल पुँजीजिवीहरुको ढुकुटीमा जाने निश्चित छ ।

अहिले विश्व हिजोको पुँजीवादमा छैन । पुँजीवाद अहिले कुनै अमूक राष्ट्रको सीमाभित्र अलग्गिएर बसेको छैन । विश्वभरका पुँजीपति वर्गहरु अलगअलग भएर भन्दा पनि मिलेर नै विश्वमा पुँजीवादलाई जोगाउन लागी परेका छन् । अहिले पुँजीवादका नायकहरु बहुराष्ट्रिय कम्पनीहरु भएका छन् । नवउदारवाद उनीहरुको मुख्य सिद्धान्त बनेको छ । उनीहरुले नाफाका लागि राष्ट्र र देशहरुको सीमालाई कमजोर पारेका छन् । अर्थात्, पुँजीवाद अहिले भूमण्डलीकृत भएको छ । अनि, भूमण्डलीकृत पुँजीवादले आर्थिक रुपमा कमजोर एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुमा दलाल पुँजी निर्माण गरी दलाल पुँजीपति वर्गहरु मार्फत् त्यहाँको राजनीति र राज्यसत्तालाई आफ्नो कब्जामा लिएर त्यहाँका प्राकृतिक स्रोत–साधनलाई कौडीको मोलमा कब्जा गर्ने तथा ती क्षेत्रहरुलाई आफ्नो माल बिक्रीको बजार बनाइरहेका छन् । यसबाट विश्वभर बिभिन्न रुपमा रहेका श्रमिक वर्गहरु नयाँ रुपमा झनपछि झन शोषणको चपेटामा पर्दै गइरहेका छन् ।

विश्व पुँजीवादले खडा गरेका संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गरिब मुलुकहरुमा प्रदान गर्ने रिन तथा अनुदानहरु मूलतः त्यहाँका दलाल पुँजीपति वर्गलाई पोस्न र बलियो बनाउने वैधानिक औजार बनेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा विश्व पुँजीवादले मूलतः गरिब मुलुकहरुमा रहेका उत्कृष्ट ज्ञानी व्यक्ति तथा समुदायलाई अल्मल्याउन नै लगानी गरिरहेको छ । हेर्दा गरिबी न्यूनीकरण गर्न शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा लगानी भइरहेको देखिने, तर परिणाम हेर्दा गुणात्मक प्रगति केही नदेखिने, बरु उत्कृष्ट ज्ञानी तप्का निजी उच्च आर्थिक लाभका साथ जनसेवा र जागरणको काममा लागी परेको जस्तो देखिएर समाजको आमूल परिवर्तनको दिशाबाट पर रहिरहने भइरहेको छ । यो विश्वपुँजीवादको सूक्ष्म व्यवस्थापन अन्तर्गतको योजना मुताविकको काम हो ।

नेपालमा पनि अहिले विकास र समृद्धिको नारा चलिरहेको छ । चीन र भारतबाट रेल ल्याउने कुरा भइरहेछ । अहिलेसम्म भारतबाट मात्र इन्टरनेट ब्रोडब्याण्ड नेटवर्क उपलब्ध भइरहेकोमा अब चीनबाट पनि अप्टिकल फाइबरको जालो जडान गरी त्यहाँबाट पनि ब्रोडब्याण्ड ल्याउने कुरा भइरहेको छ । भर्खरै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपाल भिजिटका बेला उनले नेपाललाई ‘ल्याण्ड लक्ड कन्ट्री’ होइन ‘ल्याण्ड लिङ्क्ड कन्ट्री’ भएको बताई अब उसले नेपाललाई समुद्रसम्मको पारवहनका लागि हिजोका दिनहरुमा जस्तो अवरोध खडा नगर्ने सांकेतिक भाषा बोले । दुईतीनवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, फास्ट ट्रायक खोल्ने, सुरुङ मार्ग निर्माण गर्ने, हजारौं मेगावाट बिजुली उत्पादन गर्ने आदिआदि कुराहरु अहिले भइरहेका छन् । यी सबै कुराहरु नेपालको आर्थिक विकासका लागि नकारात्मक कुराहरु होइनन् । तर, त्यसको प्रतिफल कसले लिन्छ त ? भन्ने प्रश्नलाई घोत्लिएर बिचार गर्ने हो भने निष्कर्षमा हामी मूलतः त्यसबाट अपार नाफा बटुल्ने तप्का भूमण्डलीकृत पुँजीवादको नायकका रुपमा रहेका वहुराष्ट्रिय कम्पनीहरु र मुलुकभित्रका दलाल पुँजीजिवी वर्ग हुन्छन् । मुलुकभित्रको आमजनताको आयतनको तुलनामा दलालपुँजीजिवी वर्गको हिस्सा ५ प्रतिशत कट्न पनि गाह्रो हुन्छ । तर, मुलुक विकासले हुने समृद्धिको प्रतिफलको ठूलो हिस्सा बहुराष्ट्रिय कम्पनीहरुले लिएर गएपछिको बाँकी हुने अधिकांश हिस्सा पनि मुलुकभित्रका दलाल पुँजीजिवीहरुको ढुकुटीमा जाने निश्चित छ ।

वैज्ञानिक समाजवादका अभियन्ताहरुले अहिले मुलुकमा चलाइएको ‘विकास र समृद्धि’ को नारा र कार्यक्रम भूमण्डलीकृत पुँजीवादलाई अन्त्य गर्ने औजार बन्ने छन् भन्नेमा प्रष्ट हुनु पनि पर्छ र साथै त्यस्तो बनाउने कसरत पनि गर्नुपर्दछ ।

एकातिर राजनीतिमा भ्रष्टीकरण, अर्कातिर राज्य संयन्त्रको ब्युरोक्रेशीमा व्याप्त भ्रष्टाचारको जालो, यी दुई कारणले गर्दा सरकारमा स्थिरता आएछ नै भने पनि अहिले नारा दिइएजस्तो विकास निर्माण हुन गाह्रो छ । अर्को, कुनै मात्रामा विकास (भौतिक पूर्वाधारको निर्माण) भएछ नै भने पनि त्यसबाट ल्याउने समृद्धिको फल आम श्रमिक जनता, महिला, पिछडिएको क्षेत्र, युगौंदेखि पछाडि पारिएका जाति, जनजाति, दलित, मधेसीलगायत अन्य जनसमुदायले अत्यन्त सीमित मात्र प्राप्त गर्नेछन् । किनकि, राज्यसत्ता दलाल पुँजीजिवी वर्गको हातमा छ, संविधान त्यो वर्गको अनुकूलतामा बनेको छ, अर्थ प्रणाली र अर्थ नीति दलाल पुँजी हावीको लागि अनुकूल नवउदारवादी सिद्धान्तमा आधारित छ, संविधानमा समाजवादको शब्द लेखिएको त छ तर त्यो दिशामा जान निजी सम्पत्तिमा आधारित मुख्य निर्देशक सिद्धान्तले राज्यलाई अनुमति दिँदैन, राष्ट्रिय स्वाधिन अर्थतन्त्रको कुरा गरिएको त छ तर उदारवादमा आधारित अर्थतन्त्रले त्यतातर्फ जान अनुमति दिँदैन ।

यी यावत कुराहरुले गर्दा अहिले सरकार एवं सत्ताधारी पार्टीहरुले दिइरहेको ‘विकास र समृद्धि’को नाराले आम नेपाली जनता रोमाञ्चित हुनु जरुरी छैन । तर, एउटा सकारात्मक सत्य के हो भने अहिलेको भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादी राज्यसत्ताले ल्याउने विकासले उनीहरुकै चिहान खन्ने पक्का छ, जसरी उपनिवेशकालमा औपनिवेशिक राष्ट्रहरुमा साम्राज्यवादले गरेका विकास निर्माणले उनीहरुविरुद्धको क्रान्तिलाई औजार प्रदान गर्यो । नेपालमा रेल, सुरुङ मार्ग, हावाइमार्ग, विमानस्थल, फराकिला बाटोघाटो, मुलुकभर सडक सञ्जाल, मुलुकभर इन्टरनेट सेवा, रेडियो, टेलिभिजन, मुलुकभर सहज बजारीकरण, आधुनिक कृषि प्रणाली, हजारौं मेगावाटको बिजुली उत्पादन यी यावत विकासले भूमण्डलीकृत पुँजीवादभित्रका बहुराष्ट्रिय कम्पनीहरु र मुलुक भित्रका दलाल पुँजीजिवीहरुलाई मालामाल गर्ने र आमजनता उनीहरुको दाँजोमा कङ्गाल बनाउने त पक्कापक्की छ, तर त्यसले भूमण्डलीकृत र दलालपुँजीवादबिरुद्ध लड्न आमजनतालाई एकीकृत, आधुनिक औजार एवं संचारबाट सुसज्जित र ज्ञानमा समृद्ध पार्न पनि उतिकै आधार निर्माण गर्दछ । त्यसैले वैज्ञानिक समाजवादका अभियन्ताहरुले अहिले मुलुकमा चलाइएको ‘विकास र समृद्धि’ को नारा र कार्यक्रम भूमण्डलीकृत पुँजीवादलाई अन्त्य गर्ने औजार बन्ने छन् भन्नेमा प्रष्ट हुनु पनि पर्छ र साथै त्यस्तो बनाउने कसरत पनि गर्नुपर्दछ । अहिलेको ‘विकास र समृद्धि’ नारा मूलतः निकट भविष्यमा मृत्यु हुन गइरहेका भूमण्डलीकृत विश्वपुँजीवाद र राष्ट्रिय दलाल पुँजीवादको चिहान बन्छ, बनाइनु पर्दछ ।

(Visited 291 times, 1 visits today)

टिप्पणी

comments