Main Menu

एमाले-माओवादी एकता सम्पन्न : नेेकपामा रुपान्तरण

जेठ ४, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका एकआपसमा घोचपेचको भाषा प्रयोग गरेर फासला बढाएको मानिएका एमाले अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच एकाएक नाटकीय ढङ्गमा सम्बन्ध सुधार भई आखिरमा हिजो दुई पार्टीबिच एकता सम्पन्न भई तिनीहरु नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रुपान्तरण भएका छन् । केही दिन पहिलेसम्मको स्थितिमा यति चाँडै ती दुई पार्टीबिच एकता होला भन्ने कसैले सोचेका थिएनन् ।

निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले हिजो बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर हिजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधिवत् घोषणा गरेका छन् ।

निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभा गृहको हल मात्र होइन परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचाखच भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणकाबिच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ६ बुँदे एकता घोषणासँगै ‘समृद्धि र स्थिरता’को नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा बिलय भएका हुन् ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बोकेका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेपालको संविधानमा उल्लेख भए अनुरुप ‘समाजवादउन्मुख जनताको जनवाद’को नामको कार्यदिशासहितको एकतामा पुग्नु मुलुकको राजनीतिक शक्ति सन्तुलन र राजनीतिक दिशाको सन्दर्भमा महत्वपूर्ण घटना हो ।

मदननगर बल्खुस्थित तत्कालीन एमालेको पुरानो कार्यालयमा एमाले नेता बितेका मदन भण्डारी र जीवराज आश्रितको २५ औंँ स्मृति दिवसको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकमा सम्मिलित अध्यक्षद्वय ओली र प्रचण्डसहितका नेता हिजो साँझसम्म एकता प्रक्रिया र त्यसपछिका उत्सवहरुमा व्यस्त रहनुभयो ।

संयोजन समितिको बैठकपछि हिजो एमालेको बालुवाटार र माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेका अलगअलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए । त्यसअघि शीर्ष नेताहरुले बालुवाटारमा बलियो मानिने रुखका विरुवा रोपेर एकताको नयाँ सन्देश दिइसक्नुभएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गएका थिए । औपचारिक बैठक शुरु नहुँदै दुवै तर्फका नेताहरु एकापसमा बधाई साटासाट र खुशीयाली बाँड्न व्यस्त हुन थालेका थिए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्बीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेको जस्तो देखिन्थ्यो ।

संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यकारुपमा शपथ ग्रहण गरेपछि भने पार्टीगतरुपमा घुलन भइसकेको थियो ।

तीव्र रुपमा विकसित भएको घटनाक्रमसँगै निर्वाचन आयोगमा नेकपा दल दर्तापछि राष्ट्रिय सभागृहमा घोषणासभा भयो, जहाँ कार्यक्रमका लागि तोकिएको समयभन्दा धेरै अगाडि सहभागी र सञ्चारकर्मीको भीड लागिसकेको थियो ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका नेता, रक्षा र गृहमन्त्री तथा अन्य मन्त्रीहरुसहितका नेताको आगमन र ऐतिहासिक कार्यक्रम भएकाले सुरक्षा व्यवस्था गर्न सुरक्षा निकाय परिचालित थियो ।

अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघटनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताउनुभयो ।

अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रुपमा लिनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको एकता, सहकार्य र संघर्षको लामो इतिहासतर्फ संकेत गर्दै पृथ्वीनारायण शाहको भाषालाई सापटी लिँदै ‘यो साना दुःखले आर्ज्याको एकता होइन’ भन्दै दुवै दलको ऐतिहासिक विकासक्रम र शृखंलाको वृतान्त सुनाउनुभयो । घोषणासभामा आजबाट पूर्व बनेको नेकपा (माओवादी केन्द्र) बाट नेता जनार्दन शर्माले स्वागत भाषण गर्नुभएको थियो भने नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, पम्फा भुषाल, देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, सिपि गजुरेल, दिनानाथ शर्मा, ओमसरी घर्तिमगर, प्रल्हाद बुढाथोकी, विश्वनाथ शाह, पूर्णाकुमारी सुवेदी, सीता दाहाललगायतका नेताहरुको उपस्थिति रह्यो । उता पूर्व नेकपा (एमाले) का नेता विष्णु पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ नेता माधव नेपालकाे साथमा वामदेव गौतम, ईश्वर पोखरेल, युवराज ज्ञवाली, केशव वडाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुको उपस्थिति रह्यो ।

घोषणा सभाका केही झलकहरु :

सभागृहभित्र पस्न नपाएर बाहिरै बसेका ठूलो सङ्ख्यामा कार्यकर्ता र जनता ।

सभाहलभित्र खचाखच पत्रकार, कार्यकर्ता र जनसमुदाय ।

कार्यक्रम हुनुपूर्व नेताहरुलाई पर्खिरहेको मञ्च ।

खड्ग ओली अघिअघि, प्रचण्ड पछिपछि ।

प्रचण्ड-ओली एकतामा खुशी ।

अब लेख्ने जिम्मा तपाइँको ।’ ओलीलाई कलम दिँदै प्रचण्ड ।

 

‘हामी त झन खुशी नि !’ विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम ।

फोटो : हीरा महर्जन/मूल्याङ्कन अनलाइन

(Visited 140 times, 1 visits today)

टिप्पणी

comments