Main Menu

समाचार विश्लेषण

अमेरिकी नेतृत्वको साम्राज्यवादी गठबन्धनले सिरियामा भिषण आक्रमण

सिरिया युद्ध थोपर्ने ट्रम्प र मे ।

वैशाख १, २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गए राति सिरियामा हमला गर्न आदेश दिएपछि अमेरिकी सेनाले त्यहाँ फ्रान्सेली र बेलायती सैन्य बललाई समेत समेटी गोलाबारी गरिरहेका छन् । सिरियामा अमेरिकी हमलालाई साथ दिइरहेका फ्रान्सेली र बेलायती सैन्य बललाई अमेरिकाले विश्वभरि नै कुटनीटिक सहयोग गरिरहेको छ । राजधानी डमास्कस क्षेत्र र त्यस वरपरका सिरियाली भूमि यसअघि नै पानी जहाजबाट प्रक्षेपित क्रूज क्षेप्यास्त्र आक्रमण र हवाई बमवर्षाको चपेटामा परिसकेका छन् ।

सिरियामाथि अमेरिकी गठबन्धनको भयानक आक्रमणको सुरुवात अवैधानिक हमला हो । ट्रम्प प्रशासन, फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन र बेलायती प्रधानमन्त्री थेरेसा मे ले अर्को एउटा भयानक साम्राज्यवादी युद्ध अपराध गर्न गइरहेका छन् जसले नाभिकीय हतियारले सुसज्जित रुसलाई खतरनाक चाल चाल्न उक्साउनेछ ।

अहिले सिरियामाथिको आक्रमण अमेरिकाद्वारा पालित पोषित सिरियाली विपक्षीहरुको कब्जामा रहेको शहर डोउमामा रहेका बिद्रोहीहरुबिरुद्ध सिरियाली राष्ट्रपति बस अल असादका सेनाले प्रतिबन्धित रासायनिक हतियार प्रयोग गर्यो भन्ने अप्रमाणित आरोपको बहनामा गरिएको छ । राष्ट्रपति असादलाई समर्थन र सहयोग गरिरहेको रुसले अमेरिकी प्रचारबाजीलाई सिधा अस्विकार गरेको छ । उसले असादलाई सिरियामा अतिवादी इस्लाम मिलिसियाबिरुद्धको सात वर्ष लामो गृहयुद्धमा साथ दिँदै आएको छ । रुसले बेलायती खुफिया संयन्त्रले रासायनिक हतियार आक्रमणको झूठा भिडियो निर्माण गर्न सिरियाली बिद्रोही सङ्गठनहरुलाई दबाव दिएको आरोप खुला रुपले लगाएको छ ।

वर्ल्ड सोसियलिस्ट वेभसाइट (डब्ल्यूएसडब्ल्यूएस)ले जनाए अनुसार यही सप्ताहन्तमा रासायनिक हतियारको प्रतिबन्धका लागि गठित स्वतन्त्र सङ्गठन (ओपिसिडब्ल्यू)को एक टोली रासायनिक हमला गरिएको भनी दावी गरिएको शहर डोउमामा निरीक्षणका लागि पुगेको थियो । ट्रम्पले सिरियामा हमलाको लागि आफूले गरेको झूठा बहना निरीक्षणका क्रममा (ओपिसिडब्ल्यू) को टोलीले पत्ता लगाउन नसकून् भनी अहिलेको आक्रमणका लागि आदेश दिएको अनुमान गरिएको छ ।

डब्ल्यूएसडब्ल्यूएसले जनाए अनुसार हमलाको लागि झूठा आरोपलाई आधार बनाएको तथ्य अमेरिकी रक्षा सचिवले प्रेसलाई दिएको जानकारी लगतै प्रसारित ट्रम्पको भनाइबाट पुष्टि मिल्दछ । एकातिर अमेरिकी रक्षा सचिव जनरल जीम म्याटिस प्रेसलाई अमेरिकी आरोप अनुसारको विवरण दिन असक्षम हुन्छ भने त्यही बेला अर्कातिर राष्ट्रपति ट्रम्प सिरियाबिरुद्ध अन्तरविरोधपूर्ण प्रचारबाजी गरिरहन्छन् । जनरल जीम सिरियामा पहिले नै गरिसकिएको क्षेप्यास्त्र आक्रमणबाहेक अर्को हमला गरिने छैन भनी प्रेसलाई भन्छन् । तर, यथार्थमा थप भिषण हमला हुँदै गरेको छ ।

आफूहरुबीचको अनेकता, बिश्रृंखलता र सम्पूर्ण प्रशासनको संकटलाई ढाकछोप गर्न राष्ट्रपति ट्रम्पको राष्ट्रको नाममा जारी सन्देशलाई प्रसारण गरिएको थियो । त्यो प्रसारण अमेरिकी गुप्तचर बिभाग एफबिआइका पूर्व निर्देशक जेम्स कोमीले ‘राष्ट्रपति ट्म्प एक श्रृंखलाबद्ध झूठ प्रचारक, एक यौन दुराचारी र आफूलाई माफिया बोसको रुपमा प्रस्तुत गर्ने व्यक्तिको रुपमा अमेरिकी मिडियालाई जानकारी दिएको लगतै गरिएको देखिन्छ ।

सिरियाली राष्ट्रपति असादबिरुद्ध ट्रम्पले लगाएको अति विषाक्त आरोपले सिरियामा गरिएको आक्रमणभित्र असादको हत्या गर्ने नियत रहेको स्पष्ट हुन्छ । यदि अमेरिकी साम्राज्यवाद लिबियामा कर्णेल गद्दाफी र इराकमा सद्दाम हुसेनलाई झैं सिरियामा असादलाई मार्न सफल हुन्छ भने उसले सिरियामा पुनर्निर्माणको नाममा अमेरिकी र युरोपेली साम्राज्यवादको कठपुतली सरकार गठन गर्न सफलता हासिल गर्नेछ ।

डब्ल्यूएसडब्ल्यूएसका अनुसार अमेरिकी योजनाको भित्री चरित्रलाई जर्मन पत्रिका ‘डिइ वेल्ट’ को एक स्तम्भमा अभिव्यक्त गरिएको छ । त्यसमा भनिएको छ, ‘असादबिरुद्धको युद्ध एउटै उद्देश्यबाट निर्देशित हुनुपर्छ……..के असादको सत्तालाई क्षेप्यास्त्रले विलुप्त पार्न सक्छ ?’ असादका लागि प्रयोग गरिएको ‘विलुप्त’ शब्द जर्मन प्रकाशनहरुले हिटलरको समयमा यहुदीबिरुद्ध प्रयोग गरिएको सन्दर्भबाट टिपिएको देखिन्छ । यो शब्द हिटलरको नाजी पार्टी (राष्ट्रिय समाजवादी मजदुर पार्टी) को अखवारबाट टिपिएको हो ।

अमेरिकी गठबन्धनको प्रचारबाजी लामो समयका लागि सैन्य आक्रमणका लागि बहनाबाजी बनाउने खालको छ ।

डब्ल्यूएसडब्ल्यूएस लेख्छ, ‘सिरियाली सरकारलाई सत्ताच्युत गर्न भनी सिर्जना भएका मुस्लिम नक्कली शक्तिहरुको सैन्य बलहरुको सामना गर्ने बहनामा वासिङ्टन र लण्डनले लामो समयसम्म सिरियामा आफूहरुको सैन्यबलको उपस्थिति गर्ने निर्णय गरेका छन् । र, त्यसले सिआइए, एम १६ र तिनीहरुका दलालहरुलाई सिरियामा युद्धका लागि बहनाहरु निर्माणका लागि छोडेको छ’ ।

गएको शुक्रवार रुसी रक्षामन्त्रीले अप्रिल ७ मा सिरियाली शहर डोउमामा भएको घटनाबारे पश्चिमा मिडियाले एक स्वरमा त्यहाँ सरकारले सर्वसाधारणहरुमाझ रासायनिक हतियार प्रयोग गर्यो भन्ने समाचार प्रसार गरेको सन्दर्भमा एक अत्यन्त सहज र तार्किक विवरण प्रस्तुत गरेका छन् । रक्षामन्त्री सर्जेइ लाभ्रोभले भने कि त्यो प्रचार रुसबिरुद्धको अर्को नाटकीय कदम हो । उनका अनुसार सिरियाली सेनाको एक तोपले एउटा भवनमा बम हान्दा निस्किएको धुँवाले केही मानिसहरु निस्सासिएर नजिकको अस्पतालमा पुगेका थिए । तर, त्यसलाई सिआइएद्वारा संचालित सिरियाली बिद्रोही ‘ह्वाइट हेल्मेट्स’ले रासायनिक हतियार प्रयोग भएको भनी त्यस अनुसारको भिडियो बनाई प्रचारमा ल्याइयो ।

रुसी रक्षामन्त्रीका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले भने, ‘हामीलाई निश्चित रुपमा के थाहा छ भने अप्रिल ३ र ६ काबिच कथित ‘ह्वाइट हेल्मेट्स’ लाई उनीहरुले तयार गरिरहेको प्रचारबाजीलाई तीव्रता दिन लण्डनबाट ठूलो दबाव आएको थियो’ ।

अहिले सिरियामा हुने हरेक आक्रमण र त्यसको प्रचारबाजी सबै नै योजनाबद्ध ढङ्गले अमेरिकी गठबन्धनले गरिरहेको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ । अमेरिकी गठबन्धनले सुरुमा झूठा आरोपमा अफगानिस्तानमा आक्रमण गरी त्यहाँ आफ्नो बर्चश्व कायम गर्यो । त्यसपछि त्यस्तै गरी इराकमा आक्रमण गरी सद्दाम हुसेनलाई हत्या गरियो । अहिले उनीहरु सिरियामा त्यस्तै प्रकारका झूठा प्रचार गरी त्यसलाई आफ्नो काबुमा लिने अपराधिक अभ्यास गरिरहेछन् ।

अमेरिका र पश्चिमा साम्राज्यवादी मुलुकहरुमा सत्ताधारी पुँजीपति वर्गको श्रमिक वर्गबिरोधी अर्थनीतिबिरुद्ध ठूल्ठूला प्रदर्शनी एवं आन्दोलनहरु चर्किरहेका छन् । वास्तवमा भूमण्डलीकृत पुँजीवाद अहिले संकटको अवस्थामा गुज्रन थालेको छ । उनीहरु त्यो संकटलाई विश्वका बिभिन्न कमजोर मुलुकहरुमा युद्ध थोपरेर टार्न कोशिश गरिरहेका छन् । त्यसकै परिणामस्वरुप एक मुलुकमा सकिएपछि अर्कोमा गरी निरन्तर उनीहरु विश्वमा युद्ध थोपरिरहेका छन् । त्यसको पछिल्लो कडीको रुपमा सिरियाली युद्ध रहेको छ ।

त्यसैले उनीहरुले चाहेजस्तै सिरियाली युद्धमा असदको सरकार परास्त भई इराकमा जस्तै पश्चिमाहरुको हालीमुहाली चल्ने कठपुतली सरकार बनाईंदैमा युद्ध समाप्त भइहाल्नेवाला छैन । उनीहरु इरान, रुस र अन्ततः चीनबिरुद्ध हावी हुन ठाउँठाउँमा युद्धहरु थोपर्ने नाटक मञ्चन गर्दैछन् । यसका लागि अमेरिकी गठबन्धनले विश्व मिडियालाई कब्जामा लिई त्यसलाई प्रभावकारी औजारको रुपमा प्रयोग गरी विश्व जनमानसलाई मूर्ख बनाउने काम गरिरहेको छ ।

युद्ध विश्व साम्राज्यवादको संकट टार्नका लागि नै सिर्जना गरिएको छ । विश्व श्रमिक वर्गले यस्ता युद्धहरुको बिरोधमा विश्व जनमत तयार गर्न र त्यसबिरुद्ध मैदानमा उत्रन मैदानमा उत्रिनुपर्ने बेला भएको छ ।

(Visited 193 times, 1 visits today)

टिप्पणी

comments