Main Menu

मिथ्या प्रेमको कथा ! [कविता]

balaram-timalsina-poem-2

  • बलराम तिमल्सिना ‘विप्लव’

अराजक जवानीको
उत्ताउलो चकचक बोकेर
यौन अनुरोधको हतारो
झुठ्ठा वाचा कसमहरू
मोलमोलाई र घुर्की
सस्ता प्रतिवद्धताको थुप्रो
सहरभरि छ्यापछ्याप्ति छ अचेल
मिथ्या प्रेमको महामारी !

मलाई लेखिदिन मन छ
अँधेरा गल्लीका भित्ताहरूमा
होटेलका टेवुलहरूमा
पार्कका गेटहरूमा
वाइकका पछिल्ला सिटहरूमा
स्कुल कलेजका पाटीहरूमा
यस्तो जरुरी सुचना –
मिथ्या प्रेम जीवनको लागि हानिकारक छ !

रोटीको चिन्ता छैन
भोटोको चिन्ता छैन
माटोको मतलव छैन
बाटोको मतलव छैन
छ त के केवल
मतलामा ओठको कुरा
मौकामा छक्का हान्ने कुरा
टुक्रा-टुक्रा पारेर
शिर पुछार नङ्ग्याएर
नारी शरीरलाई
टुक्रा टुक्राको महिमामण्डन गर्दै
लोभ्याउने र फसाउने कुरा
बजार भाऊ खुव चर्किएको अचेल
यो मिथ्या प्रेमको !
यो घातक प्रेमको !

आँखा जुध्यो कि माया बस्यो
माया बस्यो कि सँगै बस्यो
सँगै बस्यो कि सबै सक्यो
एक गिलास पानीजस्तो
एक प्लेट म:म:जस्तो
पानी पियो गिलास मिल्कायो
मम खायो प्लेट हुर्यायो
प्यारमा व्यापार भर्यो
किसमा विष छर्यो
अरुको रिस गर्यो मर्यो
प्रेमजस्तै छ तर प्रेम हैन यो
मिथ्या प्रेमको रामकहानी !

ग्राहक र व्यापारीजस्ता
प्रेमी र प्रेमिकाहरू
कसले ठग्ने को ठगिने
पाइला पाइलामा सन्त्रास छ
कसले फसाउँने को फस्ने
वचन वचनमा शङ्का छ
नेता र मतदाता जस्ता
वेरोजगार र म्यानपावरजस्ता
हेर्दा रङ्गिन भोग्दा रङ्गहीन
सुन्दा सुन्दर भोग्दा कुरुप
एक अभिसापजस्तो
भयानक पापजस्तो
मिथ्या प्रेमको सक्कली चेहरा !

देशका नौजवानहरूका आँखामा
लेखिदिन मन छ मलाई –
मिथ्या प्रेम जीवनको लागि हानिकारक छ !

२०७५-०१-०७
ढल्को

(Visited 229 times, 1 visits today)

टिप्पणी

comments