Main Menu

नाम्लो [कविता]

namlo-poem-sarita-tiwari

  • सरिता तिवारी

मैले उसलाई बोकेँ 
कि उसले बोकेको हो मेरो वजनको आयतन ?

उसैको भरले जानेँ यस पृथ्वीमा उभिन
उसैको सहाराले सिकेँ 
दुश्मनको सरापजस्ता सदाबहार
वनमारा र टाप्रेघारी फाँड्दै हिँड्न
उसैको प्रेरणाले उत्साहित भएर कुच गरेँ 
व्रम्हाण्ड नाघ्ने
जिन्दगीको युटोपियाई लङ् मार्चमा
मेरो प्यारो चिज
ओ नाम्लो !
तैँले नै हो मलाई कीराको जुनीबाट
मान्छेमा कायाकल्प गरेको
तैँले नै हो रित्ता हात लिएर जन्मनेको त झन्
हत्केलैमा संसार फुल्छ भनी काँध थप्थपाएको !

हाइफाइहरूको टेबलमा बसेर
हल्लाएको छु केही पल्ट शीर
कुलीनहरूको माझमा उभिएर
गरेको छु केही पल्ट स्वांग
र मिलाएको छु बोलीमा बोली
भलै नगरेको हुँ,सत्यमाथी घात
तर एलिट पर्फ्युमहरूले लट्ठिएर
केही कोस हिँडेको छु तेरो पसिनाम्य वास्नाभन्दा पर
यार, तर तँ नै होस् मेरो ‘मेन्टर’
तैँ होस् मेरो ‘काउन्सिलर’
तैँ होस् मेरो डण्डावाल गुरु
बनिसकेको छैन यतिबिघ्न कृतघ्न कि
बिर्सेर छोडूँ मेरो अस्तित्वमा कसरी घोलिएको छस् तँ जसरी घोलिन्छ जिउँदो मान्छेको प्राणभित्र
पृथ्वीमा घुमिरहेको हावा
जति पल्तिर पुगेपनी
तेरै सौजन्यको त हो यो जिन्दगी !

मेरो थाप्लोमा अडिएर
जसरी गराइस् दु:खका गोलार्धहरूको परिभ्रमण
छर्छरी निकाल्दै पैतालाबाट रक्तधार
जसरी हिँडाइस् नबिसाई
साउथ र नर्थ पोलको टुप्पासम्मै
भलै, थिइस् तँ अतिबिधी निर्मम,अचाक्ली निरंकुश
दिन्नथिस् एकैपल विश्राम
दिन्नथिस् ससाना गल्तीमा पनि क्षमा
तर यार, प्यारे !
मेरो कलिलो पिठ्युँमा जति गर्‍हुंगो भारी बोकाइस्
सिकाइस् त्यति नै तौलको संकल्पको भार बोक्न
मेरो सुकुमार टाउकामा जति गहिरो छोडिस् आफ्नो डोब
खसालेर छोडिस् उसैगरी गुरुताको दुर्लभ मोति मभित्र

मैले तँलाई के बोक्न सक्थेँ !
तैँले नै बोकेर ल्याइपुर्‍याएको होस् मलाई
यहाँसम्म ।

(Visited 364 times, 1 visits today)

टिप्पणी

comments