आफैसँग प्रश्न
लामो यात्रामा हिँड्दाहिँड्दै
टाढा आकाशमा चंगाझैँ कावा खाँदाखाँदै
अकस्मात् उभिएको छु कुन चौबाटोमा ?
अकस्मात् म कुन आकाशमा हराएछु
मसँग कुनै जवाफ छैन
नसोध मलाई कसैले हिँड्ने बेलामा
तिमी कहाँ जान लागेको ?
म अहिले जीवनको चौबाटोमा उभिएको छु
अरु छैन मसँग यात्रा गर्नेहरु कहाँ पुगे होलान् ?
कति अगाडि गइसके होलान् ?
कत्तिले बिर्सिसके होलान् मलाई त्यो लामो यात्रामा
मन कुडिँदो रहेछ एउटै यात्रामा अरुले छाडेपछि
अत्यासलाग्दो रहेछ हिँड्दा हिँड्दै
नमिठोसँग थाकिँदो रहेछ यात्रामा ।
बाटो भुलेर हिँडेपछि हराइँदो रहेछ
थाहा छैन हिँड्दा हिँड्दै कहाँ पुगिने हो ?
कहाँ पुगेर टुँगिने हो यात्रा ?
मलाई छाडेर जानेहरु पनि त कहाँ पुगे होलान् ?
मलाई बिर्सने आफन्तहरुले पनि त के पाए होलान् ?
यात्रा गर्दै जाँदा
अन्तिममा आफू हराएको थाहा पाएपछि
न हाँस्न सकिँदो रहेछ
न रुन सकिँदो रहेछ
धेरै टाढा पुगेपछि यात्रा
सबै ढिलो हुँदो रहेछ
न त्यहीँ उभिनु, न फर्कनु
फेरि यात्रा कहाँबाट सुरु गर्नु ? कहाँ जानु ?
डुब्न लागेको घामसँगै सबै कुरा अर्थहीन हुँदो रहेछ ।।
- राजकुमार केसी
(क्यानाडाबाट)