Main Menu

सन्दर्भ : माओवादी केन्द्र र एमाले पार्टी एकता

बिचारधाराकै कुरा भएकोले यो हतार गर्नु हुन्न – नेता मणि थापा

माओवादी युवा नेता मणि थापा ।

(भर्खरै एमाले र नयाँशक्ति पार्टीसँग चुनावी तालमेल गर्दै निर्वाचनपछाडि पार्टी नै एकता गर्ने भनी पार्टी शिर्षस्थ नेताहरुबाट सार्वजनिक घोषणा भएपछि नेकपा (माओवादी केन्द्र) भित्र दोश्रा, तेश्रा गरी बिभिन्न तहका नेता कार्यकर्ताहरुमा उक्त कदम ‘ठीक भयो, ठीक भएन’ भन्नेजस्ता टिकाटिप्पणीहरु आइरहेका छन् । एकजना केन्द्रीय नेता एवं जनजाति तथा पूर्वका इमान्दार, जुझारु र साहसिक युवा नेताका रुपमा परिचित गोपाल किरातीले त ‘नेताहरुले धोका दिए’ भनेर पार्टीलाई छुट्टै रुपले पुनर्गठन गर्ने भनेर मान्छे भेला गर्नेतिर लागेको समाचार बाहिर आएको छ । यसै परिवेशमा पश्चिमका युवा माओवादी नेता मणि थापाले आफ्नो एक खालको अलग्गै बिचार भएको सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा इमूल्याङ्कनसँग उनले छोटो कुराकानी गरेका छन् ।–सम्पादक)

भर्खरै एमालेसँगको चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने भनेर गरिएको घोषणाबारे तपाईंको प्रतिकृया के छ ?

– मेरो ठ्याक्कै फरक मत त छैन, तर आफ्नै बिचार चाहिँ छ । मेरो भन्नु यो छ कि चुनावमा तालमेल गर्ने भन्ने कुरो प्रगतिशील बाटो हो र यो सही छ । जहाँसम्म एमालेसँग पार्टी एकता नै गर्ने भन्ने कुरो बैचारिक र बिचारधाराकै कुरा भएकोले यो हतार गर्नु हुन्न भन्ने मेरो धारणा रहेको छ ।

तर, पार्टी एकताको प्रकृया त अगाडि बढिसक्यो नि ! यसले भोलि कस्तो सिनारियो ल्याउला ?

– सिनारियो त पार्टी एकताको दिशामा गइसक्यो त ! यसलाई बिचारधारात्मक आधारमा बहस छलफल चलाउनु पर्यो भन्ने मेरो बिचार रहेको छ । त्यतिकै हतारमा निर्णय गर्नेतिर हामी लाग्नु हुन्न । बिचारधारात्मक प्रश्नमा मिल्यो भने, राजनीतिक मुद्दामा मिल्यो भने त एकताको दिशामा जान सकिन्छ । एकताको दिशामा जानै सकिन्न भन्ने होइन । तर, बिचारधारात्मक प्रश्नमा नमिल्दै एकतामा जाँदा आन्दोलनलाई घाटा लाग्ला कि भन्ने मेरो चिन्ता हो । यो मेरो बिचार मात्र हो, पार्टी भित्रको फरक मत नै भन्ने चाहिँ होइन ।

बिचारका लागि बहस र छलफल गर्न एवं त्यसलाई कार्यान्वयन गर्नका लागि एकतामा आएका पार्टीहरुका प्रतिनिधिहरु सम्मिलित बिभिन्न समितिहरु त बनाइएका छन् नि त ! तपाईंले भनेका कुराहरु तिनीहरुद्वारा संवोधित हुँदैनन् ?

– संवोधन हुनै सक्दैन भन्ने कुरा होइन, सम्वोधन हुनै पनि पर्छ । तर, चुनावी तालमेलमा हामी कति इमान्दार बन्न सक्छौं र त्यसपछि बन्ने सरकारमा हामी कति सन्तुलित बन्न सक्छौं, यी दुईटा कुराहरुको आधारमा एकताको ढोका खुल्नेछ । हामी अहिले परीक्षामा नै छौं भन्ने मेरो धारणा रहेको छ ।

 

(Visited 287 times, 1 visits today)

टिप्पणी

comments