Main Menu

साहित्यकार शान्तदास मानन्धर सम्मानित

भदौ  ९, काठमाडौं 

साहित्यकार शान्तदास मानन्धर ‘देवकोटा लु–सुन प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार मानन्धरलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको हातबाट सम्मान गरिएको छ ।  सम्मानित हुनुभएका मानन्धरले सो कार्यक्रममा रु ५० हजारको राशि र ताम्रपत्र ग्रहण गर्नुभयो ।

नेपाली बाल साहित्यको विकास र समुत्थानमा विशिष्ट योगदान पुर्याएबापत साहित्यकार मानन्धरलाई सो सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा मन्त्री अधिकारीले साहित्यकार मानन्धरलाई आफूले सरल लेखक र सहज अनुवादकका रुपमा चिनेको बताउनुभयो ।

समाजवादको उद्देश्य भनेको जनताको समृद्धि भएको बताउँदै उहाँले अबको साहित्यिक यात्रा समृद्धितर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो । कला, संस्कृति र साहित्यको कसरी विकास र उत्थान गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको समेत उल्लेख गर्नुभयो ।

सम्मानित व्यक्तित्व मानन्धरले आफूले निष्ठा र आस्थाका साथ सिर्जनात्मक लेखन र अनुवाद कर्मलाई अगाडि बढाएको बताउनुभयो । बालबालिकामा बाल साहित्यको पहुँच पुर्याउन र त्यसलाई विस्तार गर्न विद्यालय–विद्यालय पुगेर पठन संस्कृतिका पक्षमा लामो समयसम्म वकालत गर्नुभएका मानन्धरको ‘बालकोशेली’  बाल पत्रिका  बालबालिका माझ लोकप्रिय छ ।

सो अवसरमा साहित्यकार प्रा डा चूडामणि बन्धुले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक चिन्तन र वैचारिक विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा महाकवि देवकोटाको सामाजिक पृष्ठभूमि, नेपाली साहित्यमा उहाँको योगदान, साहित्यिक मान्यता, वैचारिक विकास, जीवनको पूर्वार्द्ध , उत्तरार्द्ध कालका रचनाका बारेमा विस्तृत रुपमा चर्चा गरिएको छ ।

साहित्यकार एवं समालोचक प्रा डा चूडामणि बन्धुले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि अर्का समालोचक डा अमर गिरीले टिप्पणी गर्नुभयो । उहाँले डा बन्धुको कार्यपत्र मोटामोटी रुपमा सही भए पनि देवकोटाको साहित्यिक यात्रालाई कम्तीमा पनि तीन खण्डमा छुट्याई विश्लेषण गर्दा ठिक हुने आफ्नो बुझाई रहेको तर कार्यपत्रमा आफूले त्यस्तो नपाएको टिप्पणी गर्नुभयो । डा गिरीले महाकवि देवकोटा कतिपय सवालमा मार्क्सवादबाट ज्यादै प्रभावित हुनुभएको भएपनि उहाँ गैर मार्क्सवादी मानवतावादी स्रष्टा भएकोले उहाँलाई प्रगतिवादीको रुपमा हेरिनु उहाँप्रति अन्याय हुने बिचार व्यक्त गर्नुभयो ।

साहित्यकार एवं पत्रकार हरिगोविन्द लुईंटेलले सञ्चालन गरेको र प्रतिष्ठानका अध्यक्ष एवं समालोचक निनु चापागाईंको अध्यक्षतामा सुरु भएको उक्त सम्मान तथा बिचार गोष्ठी कार्यक्रममा सम्मानित व्यक्तित्व शान्तदास मानन्धरले  नेपालका साहित्यकारको अग्रसरतामा नेपाली साहित्यका महाकवि देवकोटाको योगदान र चिनियाँ साहित्यमा लु–सुनको योगदानलाई नेपाल र चीन दुवै देशमा उत्तिकै महत्वका साथ प्रचारप्रसार गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको स्थापना गरिएको चर्चा गर्नुभयो । उहाँले आफूले लुसुनको साहित्य नेपालीमा अनुवाद गर्दा त्यसको रसास्वादन गर्ने पहिलो व्यक्ति आफै हुने भएकोले त्यस कर्मले आफूलाई असिम आनन्द दिएको अनुभूति सुनाउनुभयो ।

लु–सुन छिमेकी देश चीनका आधुनिक र प्रगतिशील साहित्यका जनक मानिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले लु सुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमान्डर मानेका छन् । चीनका गोर्की भनेर पनि चिनिने गरेका यिनको नाममा चीन सरकारले लु सुन साहित्य पुरस्कारसमेत स्थापना गरेको छ ।

 

फोटो : हीरा महर्जन/मूल्याङ्कन अनलाइन

(Visited 758 times, 1 visits today)

टिप्पणी

comments