Main Menu

पुननिर्माणले जुराइदिएको काम : कसरी भूकम्पले ग्रामीण महिलाहरुलाई निर्माणकर्तामा परिणत गर्दैछ

  • शक्तिमाया तामाङ/बीबीसी
nepali-women-in-reconstruction

ग्रामीण क्षेत्रहरूमा पुरुषहरू विदेसिने भएकोले पुनर्निर्माण कार्यको लागि सानुमाया जस्ता महिलाहरूको खाँचो छ ।

गोरखा भूकम्पको २ वर्ष बितिसक्दा पनि पुनर्निर्माण कार्य अझै सुस्त गतिमै छ । तर, केही ग्रामीण क्षेत्रमा भने परम्पराविपरित महिलाहरुले निर्माणका औजारहरु उठाएर पुनर्निर्माणको गतिलाई तीव्रता दिन थालेका छन् ।

सानुमाया कुमालले निर्माणको सबै काम गर्छिन् । बालुवा र इँटा बोक्ने होस् वा जग खन्ने, सानुमायाले नगर्ने काम केही छैन ।

भूकम्पबाट अतिप्रभावित नुवाकोट जिल्लामा सानुमाया जस्तै अन्य महिलाहरु पनि भूकम्पबाट क्षतिग्रस्त भवनहरु पुनर्निर्माणमा डटेर लागिरहेका छन् ।

गाउँमा महिलाहरु घरायसी काममै सीमित हुन्छन् भने पुरुषहरु विदेशिन्छन् । र, भूकम्पपछिको पुनर्निर्माणमा सहभागी हुन पनि मानव संसाधनको चर्को अभाव छ ।

‘मेरो कामदेखि म निकै खुसी छु ।’ घरायसी काम र करेसाबारीमै दिन बिताउने गरेकी सानुमायाले पुनर्निर्माणमा आफ्नो सहभागिताको बारेमा भन्छिन् – ‘कुनै पुरुष ज्यामीले जति जस्तो काम गर्न सक्छ, त्यति नै काम म पनि गर्न सक्छु ।’

पर्खाल उभ्याउनेदेखि छानो लगाउने र प्लास्टर गर्ने काम पनि आफूले गर्ने सानुमाया बताउँछिन् ।

nepali-women-in-reconstruction

‘कुनै पुरुष ज्यामीले जति जस्तो काम गर्न सक्छ, त्यति नै काम म पनि गर्न सक्छु ।’ सानुमाया भन्छिन् ।

आधिकारिक आंकलनअनुसार दैनिक १ हजार ५ सय नेपालीहरु दैनिक रुपमा रोजगारीको लागि खाडी मुलुकतिर लाग्छन् । यसले स्थानीय रुपमा मज्दुरहरुको कमी भएको हुनाले पुनर्निर्माण कार्य ढिला हुनुका साथै विद्यालय तथा स्वास्थ्य केन्द्रहरुमा पनि जनशक्तिको अत्यधिक कमि छ ।

तर, २०७२ वैशाख १२ को भूकम्पबाट अतिप्रभावित क्षेत्रहरुमा भने महिलाहरुले पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेका छन् । विभिन्न अन्तर्राष्ट्रिय निकायहरुबाट ४ खर्बभन्दा बढीको सहयोग रकम उपलब्ध हुने भए पनि पुनर्निर्माण कार्य अति सुस्त गतिमा अगाडि बढ्दैछ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पुनर्निर्माणमा सहयोगस्वरुप महिलाहरुलाई सीप सिकाउने कार्यहरु गर्दैछन् ।
नुवाकोटको विदुरमा एउटा भवन निर्माण गर्न काम गरिरहेका ८ जना महिलामध्येकी एक हुन् सानुमाया । सानुमायासितै काम गरिरहेकी श्रृजना कुमाल पनि आफ्नो कामदेखि खुसी छिन् । कमाइ राम्रै हुने भएकोले आफ्नो कामबाट सन्तुष्टि मिलेको श्रृजना बताउँछिन् ।

‘विदेशमा जाँदा महिलाहरुले थुप्रै समस्याहरु भोग्नुपर्ने हुन्छ’ – श्रृजना बताउँछिन् – ‘गाउँका अधिकांश घरहरुमा क्षति पुगेको छ । हामीलाई धेरै काम गर्नुछ यहाँ र काम गर्ने अवस्था पनि सुरक्षित नै छ ।’

nepali-women-in-reconstruction

नुवाकोट जिल्लामा सानुमाया जस्तै अन्य महिलाहरु पनि भूकम्पबाट क्षतिग्रस्त भवनहरु पुनर्निर्माणमा डटेर लागिरहेका छन् ।

सानुमाया र उनका सहपाठीहरुले आफ्नो नयाँ कामबाट दैनिक रुपमा १२ सय रुपैयाँ कमाइरहेका छन् । यो रकम भनेको ग्रामीण क्षेत्रमा अन्य काम गरेर एक दिनमा हुने कमाइभन्दा धेरै हो ।

एक सरकारी आँकलन अनुसार ५ वर्षमा पुनर्निर्माण कार्य सकाउनको लागि ६० हजारको हाराहारीमा दक्ष कामदारको आवश्यकता हुन्छ । तर, मानव संसाधनको कमी त भइहाल्यो, त्यसमाथि भएका कामदारहरु पनि भूकम्प प्रतिरोधक संरचनाहरु निर्माण गर्नको लागि प्रयाप्त रुपमा दक्ष छैनन् ।

nepali-women-in-reconstruction

‘पुनर्निर्माणको कामहरु भइरहेको कारण म हरेक दिन जस्तो व्यस्त नै हुन्छु,’ सानुमाया भन्छिन् ।

पुनर्निर्माण कार्यमा अहिले देशभर कतिजना महिलाहरु संलग्न छन् भन्ने कुनै तथ्याङ्ग छैन । तर, संयुक्त राष्ट्र संघ तथा निर्माण कार्यमा कामदारहरुलाई प्रशिक्षित गरिरहेका अन्य दातृ निकायहरुका अनुसार उनीहरुले पनि महिलाहरुलाई नै बढी प्राथमिकता दिँदै आएका छन् ।

सानुमाया र उनका अन्य सहपाठीहरुलाई भने अहिलेको लागि कामको कुनै कमी छैन ।

‘पुनर्निर्माणको कामहरु भइरहेको कारण म हरेक दिन जस्तो व्यस्त नै हुन्छु,’ सानुमाया भन्छिन् ।

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments