Main Menu

बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’

कात्तिक २१, रामपुर (पाल्पा)

budget-scarcity-rampur-sahid-parkदेशका लागि बलिदान दिने शहीदहरुको सम्झनामा निर्माण कार्य शुरु गरिएको रामपुरको शहीद स्मृति पार्क बजेट अभावमा अधूरै रहेको छ ।

विसं २०५८ मा रामपुर नगरपालिका वडा नं. ५ को रामतुलसी मावि नजिकै रहेको करिब १५ रोपनी खुला चौरलाई पार्कका रुपमा स्थापित गर्ने उद्देश्यले शहीद स्मृति पार्क निर्माण कार्य थालनी गरिएको हो ।

पार्क निर्माणमा पर्याप्त बजेट उपलब्ध नहुँदा अहिले नाममा मात्र पार्क सीमित बन्न पुगेको छ । अहिले यहाँको पार्कको अवस्था देख्दा लाजमर्दो अवस्थामा छ । पार्क निर्माण कार्य सुरु गरेको लामो समय बितिसक्यो तर यसले विकास र संरक्षण नपाउँदा पार्कको स्वरुप नै खण्डहरमा परिणत बनेको छ ।

पार्क निर्माणका क्रममा शुरुमा यहाँ १ हजार अशोकाका बिरुवा रोपण गरिएको थियो तर अहिले यहाँ कुनै पनि बिरुवाको नाम निशाना नै छैन । १/२ वर्षसम्म पार्कका रुपमा चिनिन पुगेपनि अहिले भने यो क्षेत्र पूरै खण्डहरमा परिणत भएको छ ।

यस पार्कको विकासका लागि आवश्यक रकम कहीँ कतैबाट उपलब्ध नहुँदा यसले गति लिन नसकेको शहीद स्मृति पार्क संरक्षण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले बताए ।

“एक व्यक्ति एक बिरुवा हुर्काउने अभियान पनि सञ्चालन गर्यौँ, तर घेराबार गर्न नसक्दा पार्कस्थलभित्र खुला चरनले गर्दा बोटबिरुवा नै हुर्काउन सकिएन, पार्क निर्माण कार्य बीचमै रोकिन पुग्यो”, अध्यक्ष पौडेलले भने ।

समितिको पहलमा विभिन्न क्षेत्रबाट सहयोग जुटाएर अहिले पार्कको चारैतिरको भाग घेराबार गरिएको छ । यहाँ विभिन्न प्रजातिका बोटबिरुवा, फूलबारी, पानीका फोहोरा, बाल उद्यान, मन्दिर, क्यान्टिनलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको र झण्डै रु. १ करोड बराबरको रकम लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष पौडेलले बताए ।

पार्क निर्माण कार्यको समयमा यस क्षेत्रका सामाजिक व्यक्तित्व, बुद्धिजीवी, स्थानीय व्यक्तिले पनि बिरुवा रोपण, गोडमेल कार्यमा सहयोग गरेका थिए । पार्क निर्माण कार्यको चरणमा जति उत्साह थियो, पछि भौतिक पूर्वाधारको विकास हुन नसक्दा यसको रेखदेख र संरक्षणको अभावमा यस पार्क अहिले नाममा मात्र सीमित बन्न पुगेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए । पार्कको स्तरोन्नतिमा सरोकारवाला व्यक्ति, विभिन्न संघसंस्था, स्थानीयवासीले चासो नदिँदा यसले गति लिन नसकेको उनको भनाइ छ ।

शहीद स्मृति पार्कको स्तरोन्नतिका लागि यस वर्ष रामपुर नगरपालिकाले रु. ५ लाख रकम विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“खण्डहरमा परिणत भएको पार्क संरक्षणका लागि नगरपालिकाले पनि सहयोग गर्दै जानेछ”, उनले भने । रामपुर नगरपालिकाकै केन्द्रबिन्दु बेझाडमा अवस्थित यो पार्कको विकास गर्न सके यहाँ दैनिक ठूलो आम्दानी हुनेछ । यसले रामपुरकै पर्यटन विकासमा टेवा पुग्नेछ ।

  • सुशीला रेग्मी
(Visited 111 times, 1 visits today)

टिप्पणी

comments