Main Menu

अब देश समृद्धितर्फ जान्छ – एमाले अध्यक्ष ओली

मंसिर २४, भक्तपुर

country-strides-towards-prosperity-oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा भक्तपुर क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्यमा विजयी नेता महेश बस्नेतलाई बधाई दिँदै । तस्बिर – रमेश गिरी, भक्तपुर, रासस

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् ।

आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिँदै उनले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, “अब देश विकास र समृद्धितर्फ अगाडि बढ्छ । जनताले विश्वास र आशा राखेर वाम गठबन्धनको पक्षमा मतदान गर्दा आएको नतिजालाई स्वागत गर्दै आमनागरिकप्रति धन्यवाद भन्न चाहन्छु ।”

एमाले र वाम गठबन्धनलाई निषेध गर्न चलाइएको भ्रमको खेतीलाई मतदानमार्फत जनताले चिरेको प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारलाई शून्यमा पुर्याउँदै जनताको अपेक्षालाई पूरा गर्ने बताए ।

अध्यक्ष ओलीले अब नेपालको भविष्य र उन्नति निश्चत भएको चर्चा गर्दै देशले सकारात्मक बाटो लिने र सामाजिक सद्भाव एवं देशलाई एकताको सूत्रमा बाँध्दै केही वर्षमा मुलुकलाई समृद्ध बनाउन लाग्ने बताए ।

वर्तमान सरकारले केही काम गर्न नसकेको उल्लेख गर्दै उनले अब प्रदेशसभा बोलाउन त्रिपाल खोज्नु पर्ने बेला आएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले सरकारले प्रदेशसभा बैठक कहाँ बोलाउने, मुख्य मन्त्री कहाँ बस्ने, कहाँ मन्त्रालय बनाउने भन्ने कुनै तयारीसमेत नगरेको बताउँदै उनले भने, “प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने थाहा छैन । सरकारले न त तयारी नै गरेको छ । भवन नहुँदा सभा बस्नलाई पनि अब ठूलाठूला त्रिपाल खोज्नुपर्ने भएको छ । त्रिपाल हालेर सभा बस्नु पर्ने अवस्था आएको छ ।” 

आफूहरु प्रतिकूलतामा नआत्तिने र अनुकूलतामा नमात्तिने बताउँदै उनले नेपाली समाजलाई विविधतामा एकता भएको नमूना प्रस्तुत गर्न एंव समाज र देश निर्माण गरी जनताका अधिकार सुनिश्चित गर्ने बाटोमा अघि बढ्ने धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले अब केन्द्र, संघीय र स्थानीय तहमा वामको सरकार बन्ने बताउँदै जनताले गरेको विश्वासलाई काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । 

(Visited 108 times, 1 visits today)

टिप्पणी

comments