Main Menu

निर्वाचनको अनपेक्षित परिणामसँगै काँग्रेसमा हारको कारणबारे चर्चा सुरु

मंसिर २६, काठमाडौँ

congress-election-loss-discussion-warmingप्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ ।

यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला । काँग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन् ।

कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र विजय हासिल गरेको छ भने पार्टीका एक से एक हस्तीहरु पराजित भएका छन् ।

पराजित हुनुमा वाम गठबन्धनबाहेक नाम मात्रको लोकतान्त्रिक गठबन्धन निर्माण, पार्टीभित्रको गुटबन्दी र अन्तरघात, प्रभावकारी चुनावी मुद्दा नहुनु, काँग्रेस नेतृत्वमा भएका राम्रा काम जनतालाई बुझाउन नसक्नुलगायत कारणबारेमा पार्टीमा बहस हुन थालेको छ ।

काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टीका नेता बालकृष्ण खाँण २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो दलका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेपछि अंकगणितीय रुपमा वाम गठबन्धनको भोटको संख्या बढी देखिएको बताउँछन् ।

नेता खाँण भन्छन्, “दुई दलको भोट गाभियो । तटस्थ भोटलाई ठूलो संख्यामा हामीले आकर्षित गर्न सकेनौँ । उहाँहरुले आफ्ना भोटलाई सुरक्षित गर्न सक्नुभयो र परिणाम ल्याउन सफल हुनुभयो ।”

यद्यपि समानुपातिकतर्फको मत भने काँग्रेसको मत प्रत्यक्षजस्तो कम देखिँदैन ।

काँग्रेसले राष्ट्रिय राजनीतिमा हालसम्म खेल्दै आएको भूमिकाका कारण आम मतदातालाई सोहीअनुसारको अपिल हुन्छ भन्ने भरोसा रहेको तर परिणाम भने २०६४ सालको संविधानसभा निर्वाचनजस्तै आएको उनको टिप्पणी छ ।

काँग्रेसले स्थापनाकालदेखि नै मुलुकका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्दै आएको उनी बताउँछन् । विसं २००७ मा राणा शासनको अन्त्य, २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना, २०६२/०६३ सालको शान्तिपूर्ण जनआन्दोलन र गणतन्त्र स्थापना, नेपालको संविधान जारी गरी मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसारको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै नेता खाँण भन्छन्, “मुलुकका हरेक परिवर्तन र विकासका लागि काँग्रेसको सान्दर्भिकता झनै बढेको छ ।”

उनी थप्छन्, “अब काँग्रेस प्रतिपक्षमा बस्छ । शान्ति र समृद्धि र संविधान कार्यान्वयनमा पार्टीको रचनात्मक सहयोग रहन्छ । तर कसैले संविधानमा आमूल परिवर्तन गर्ने, राजनीतिक व्यवस्था परिवर्तन गर्ने र ५० वर्षसम्म कम्युनिष्ट शासन चलाउँछौँ भन्यो भने त्यसविरुद्ध शान्तिपूर्ण रुपमा पार्टी पंक्ति र जनता परिचालन गर्छौं ।”

कतिपय नेता भने पार्टीभित्रका विकृति र आन्तरिक कलहलाई पराजित हुनुको मुख्य कारण ठान्छन् । पार्टीका एक पुराना नेता तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा पुनः उम्मेदवारी दिन लगाउनु नै गल्ती भएको बताउँछन् । प्रमुख दलबीचको सहमति त्यही बेलादेखि टुटेको र परिणामस्वरुप वाम गठबन्धन बनेको उनको तर्क छ ।

नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, “पार्टी नेतृत्वको असक्षमता, तदर्थवादमा पार्टी सञ्चालन गर्नु, आफ्ना नातागोता तथा पार्टीमा कुनै योगदान नभएकालाई पैसा लिएर टिकट वितरण गर्नु, पार्टीमा योगदान भएका पुराना नेता कार्यकर्तालाई बेवास्ता गर्नु वा पाखा लगाउनु पार्टी पराजयका कारण हुन् ।”

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो भएकोमा त्यसबारेमा कुनै पनि समीक्षा नगरी अर्काे निर्वाचनमा होमिनु पनि काँग्रेस हारको कारण भएको उनको धारणा छ ।

पार्टीका युवा नेता विश्वप्रकाश शर्मा पनि निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट दलबीच भएको वाम गठबन्धन नै पार्टी पराजयको प्रमुख कारण भएको ठान्छन् ।

“हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो बनेका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा काँग्रेसले अपेक्षा गरेअनुसार परिणाम आउने त कुरै भएन,” नेता शर्मा भन्छन् ।

यसबाहेक काँग्रेसले आफ्नो नेतृत्वमा गरेका राम्रा काम जनतासमक्ष पुर्याउन नसक्नु, शान्ति स्थापना र संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका जानकारी गराउन नसक्नु कमजोरी भएको उनी स्वीकार्छन् ।

काँग्रेसले ठूलो आन्दोलन भएको मधेशका दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउनु र आदिवासी/जनजाति, मधेश, पिछडिएका समुदायका माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव ल्याएको लगायतका विषय आममतदाता समक्ष पुर्याउन नसक्नु पनि निर्वाचनमा हारको कारण भएको उनको धारणा छ ।

पार्टीको संगठन कमजोर भएका कारण उपरोक्त काम गर्न नसकिएको बताउँदै नेता शर्मा प्रहरी महानिरीक्षक प्रकरण र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग पनि पार्टी पराजयको कारण हुनसक्ने आँकलन गर्छन् । तत्काल केन्द्रीय समितिको बैठक बोलाई यसबारेमा गम्भीर समीक्षा गर्नुपर्ने उनको माग छ ।

  • भीष्मराज ओझा
(Visited 98 times, 1 visits today)

टिप्पणी

comments