Main Menu

‘खबर हराएको चिठ्ठी’को सन्देश : द्वन्द्वको घाउ बाँकी नै छ, चिराग पनि निभेको छैन

जनयुद्धमा शहीद बनेकाहरुको परिवारले शहीदको सपना साकार भएको अनुभूति गर्न पाएको छैन । वेपत्ता भएका योद्धाहरुको परिवारमा सन्तोषले सास फेर्ने दिन आएको छैन । शहीदका सन्तानले अब के गर्ने ? बेपत्ता योद्धाका अभिभावक र सन्तानले अब पनि कुरेर के बस्ने ? यसको जवाफका लागि प्रश्नलाई नै खबर बनाई चिठ्ठी बाँड्दैछ ‘खबर हराएको चिठ्ठी’ले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा ।

दश वर्षसम्म जनयुद्ध भयो । हजारौंले ज्यान गुमाए । हजारौंको अङ्ग भङ्ग भयो । हजारौं बेपत्ता भए । १० दिने देशव्यापी जनआन्दोलन भयो । दर्जनौंको ज्यान गयो । सयौं घाइते भए । संविधानसभा आयो । राजतन्त्र गयो । गणतन्त्र आयो । अहिले दुईतिहाइको वाम सरकार छ । तर, जनयुद्धमा शहीद बनेकाहरुको परिवारले शहीदको सपना साकार भएको अनुभूति गर्न पाएको छैन । वेपत्ता भएका योद्धाहरुको परिवारमा सन्तोषले सास फेर्ने दिन आएको छैन । शहीदका सन्तानले अब के गर्ने ? बेपत्ता योद्धाका अभिभावक र सन्तानले अब पनि कुरेर के बस्ने ? यसको जवाफका लागि प्रश्नलाई नै खबर बनाई चिठ्ठी बाँड्दैछ ‘खबर हराएको चिठ्ठी’ले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा । केही समयअगाडि त्यसले ती चिठ्ठीहरु पोखरामामा पनि बाँडेर आएको थियो ।

सन्दर्भ वर्तमान समयको उकुसमुकसतालाई सम्वोधन गर्न निर्माण गरिएको र मञ्चन भइरहेको नाटक ‘खबर हराएको चिठ्ठी’ को हो । हो, नाटक ‘खबर हराएको चिठ्ठी’ ले दर्शकहरुमार्फत् सामाजिक सरोकारका आम नेपालीहरुलाई र आम न्यायप्रेमी नेपालीहरुको मनलाई वर्तमानलाई बुझ्न र भविष्यतिर हेर्न झकझकाएको छ । सार्थकता र शिल्पको दृष्टिले स्तरीय नाटकको सिर्जना कसरी गर्ने ? यो प्रश्न नेपाली रङ्गमञ्चमा उठिरहने प्रश्न हो । सायद यसैलाई मनन गरी युवा रङ्गकर्मी निर्देशकहरुले आफूहरुलाई खार्नका लागि कार्यशाला नै सञ्चालन गरेका छन् । त्यही कार्यशालामा सहभागी निर्देशक तथा कलाकारहरुको सामुहिक सिर्जनाको रुपमा आएको हो नाटक ‘खबर हराएको चिठ्ठी’ । जनयुद्धमा बेपत्ता भएका योद्धाहरुका परिवारहरुमा रहेको पीडाले जन्माएको र अहिले पनि विद्यमान भएको आर्थिक, सामाजिक, साँस्कृतिक तथा मानसिक दशाको जिवन्त चित्रण नाटकमा गरिएको छ । नाटकको लेखन, निर्देशन र अभिनय सबै नै कार्यशालामा सहभागी निर्देशक तथा कलाकारहरुको सिर्जना हो ।
नाटकमा जनयुद्धको समयमा पहाडिया गरिब किसानहरुले राज्यबाट खपेका भयावह सास्ती, जनजातीहरुले भोगेको ज्यादती र आफ्नो सन्तानबाट राम्रो भविष्यको सपना बुनिरहेको शहरिया निम्न वर्गीय परिवारले आकस्मिक र अकल्पनीय विपत्तीलाई झेल्नुपरेको अवस्थाबारे प्रतिनिधि घटनाहरुको कलात्मक प्रस्तुतिबाट प्रष्ट्याउन प्रयत्न गरिएको छ । आफ्नो सन्तानलाई बेपत्ता बनाइएपछि आमाबुबा अझ खासगरी आमाहरुको मनोदशा कस्तो अवस्थामा पुग्यो भन्ने जिवन्त प्रस्तुती नाटकमा हेर्न पाइन्छ ।

वर्तमानमा दुईतिहाइको वाम सरकार भएको स्थिति भए पनि बेपत्ताहरुको यथार्थ अवस्था बाहिर ल्याइएको छैन । हिजो जनयुद्ध हाँकेका र वामआन्दोलनमा लागेकाहरु नै अहिले सत्तामा छन् । तर, आन्दोलन र युद्धमा लागी बेपत्ता भएका योद्धाहरुको परिवारहरुमध्ये कोहीकोहीले मुश्किलले केही रकम राहतको रुपमा पाए पनि उनीहरुले सम्मानजनक जीवन जीउन पाएका छैनन् । आफ्ना बेपत्ता सन्तानहरुको वास्तविक स्थिति उनीहरुले थाहा पाउन सकेका छैनन् । अनि क्रान्तिको सपना ? त्यो त झन सत्तामा पुगेका नेताहरुले बिर्सिसकेका छन् । तर, क्रान्तिको अपरिहार्यताको अन्त्यतः भइसकिएको छैन । त्यसैले क्रान्तिको दियोलाई निरन्तर बालौं र त्यो नयाँ पुस्तालाई हस्तान्तरण गरौं भन्ने सन्देश नाटक ‘खबर हराएको चिठ्ठी’ ले दिन खोजेको छ ।

युवा निर्देशक केदार श्रेष्ठ

कार्यशालाका एक मुख्य सहभागी तथा युवा रङ्गकर्मी एवं निर्देशक केदार श्रेष्ठले विषयवस्तु, प्रविधि र शिल्पको दृष्टिमा नाटक ‘खबर हराएको चिठ्ठी’ मा विशिष्ट प्रयोग भएको बताउनुभयो । उहाँले मूल्याङ्कन अनलाइनसँग कुराकानी गर्दै सो नाटक कार्यशालाका सहभागीहरु सबैको प्रतिभा र मेहनतको समुच्चय भएको बताउनुभयो । भदौ २३ गते आइतवारसम्म मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘खबर हराएको चिठ्ठी’ ले रङ्गकर्मीहरुका लागि नाटक मञ्चन गर्न विषयवस्तु र कथा नेपाली सन्दर्भबाट नै पाउँन सकिने सन्देश पनि दिएको निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

(Visited 98 times, 1 visits today)

टिप्पणी

comments