Main Menu

बढ्दैछ ई-लाइब्रेरीको लोकप्रियता

पुस १९, काठमाडौँ

elibrary-flourishingसूचना प्रविधिले व्यापकता पाएसँगै विद्युतीय पुस्तकालय (ई-पुस्तकालय)को विकास र प्रयोग क्रमशः बढ्न थालेको छ ।

विद्युतीय पुस्तकालयले प्रयोगकर्तालाई सकारात्मक सिकाइ र आत्मविश्वास बढाउँदै जाने हुँदा सरकारी र गैरसरकारी संस्थाको पनि यसमा चासो बढ्दै गएको छ ।

‘जीवनपर्यन्त सिकाइका लागि एक स्थानीय तह – एक नमूना पुस्तकालय’ को अभियानलाई दुर्गम क्षेत्रका विद्यालयमा समेत पुर्याउन लाइब्रेरी–नेपाल डटकम शुरु भएको छ । ‘स्तम्भ नेपाल’ नामक संस्थाले प्रारम्भिक पाठ्यसामग्रीका साथै बाल साहित्यलाई समेटेर आजदेखि उक्त विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको हो । यसबाट कार्य पुस्तिकालाई प्रिन्ट गर्न, कम्प्युटर, मोबाइल र प्रोजेक्टरद्वारा देखाएर विश्लेषण गर्न सकिनेछ । एकपटक डाउनलोड गरेपछि जुनसुकै समयमा पनि हेर्न वा पढ्न सकिने हुँदा इन्टरनेटको आवश्यकता पर्दैन ।

शिक्षा मन्त्रालयसँग अहिलेसम्म के–कति विद्युतीय पुस्तकालय विकास भए भन्ने अध्यावधिक विवरण भने छैन । ओपन लर्निङ (ओले) नेपाल, पुस्तकालय नेपाललगायत केही निजी क्षेत्रबाट विद्युतीय पुस्तकालय सञ्चालन गर्दै आएका छन् ।

मन्त्रालयका सहसचिव डा. डिल्लीराम रिमालले विद्युतीय पुस्तकालयको विकासका साथै पठनपाठनको संस्कृति बढ्दै गएकामा खुशी व्यक्त गर्दै विज्ञान तथा प्रविधिका क्षेत्रमा विकास भएका सामग्री तथा प्रविधिलाई अधिकतम उपयोग गरी समाजलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरे ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले सरकारले यस किसिमको पुस्तकालय बनाउन नसकेको अवस्थामा विभिन्न संस्थाले विकास गरेका विद्युतीय पुस्तकालयलाई ग्रामीण भेगसम्म पुर्याउन कार्यक्रम ल्याउनुपर्ने बताए ।

विद्युतीय पुस्तकालयको विकास हुँदै गएपछि थोरै कर्मचारीले धेरै विद्यार्थीलाई एकैपटक पाठ्यसामग्रीको ज्ञान दिन सक्ने सुविधा उपलब्ध हुनेछ । त्रिभुवन विश्वविद्यालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख भीमध्वज श्रेष्ठका अनुसार विद्यार्थीमा नेतृत्व तथा सामूहिक कार्यको विकास गर्न, सकारात्मक सिकाइको वातावरण निर्माण गर्न र आत्मविश्वास बढाउन यसले सहयोग गर्छ ।

विद्यार्थीमा कूतुहलता जगाउने, प्रोत्साहन दिने, प्रेरणा प्रदान गर्ने, अध्ययनका लागि आवश्यक मार्ग निर्देशन दिने सामग्री यसमा समावेश गरिएको छ । विद्यार्थीमा अक्षर चिन्ने क्षमताको विकासका साथसाथै अनुसन्धान र छलफल गर्ने सीप र शैली सिक्न यो सहयोगी हुन्छ । रिड नेपालले देशका करिब ५० जिल्लामा यस्ता पुस्तकालय स्थापनामा सहयोग गरेको छ ।

  • कृष्णराज गौतम
(Visited 124 times, 1 visits today)

टिप्पणी

comments