Main Menu

श्रम मन्त्रालय – अन्तर्क्रिया

चैत्र १३, भद्रपुर । वैदेशिक रोजगार सम्बन्धमा बनेका ऐन, कानुन र बिदेसिने युवाले गर्नुपर्ने कार्यका बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वैदेशिक रोजगारसम्बन्धी’ एकदिने अभिमुखीकरण कार्यक्रम आज यहाँ सम्पन्न भयो ।

श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले बैदेशिक रोजगार बिषयक कार्यपत्र प्रस्तुत गर्दै पहाडी जिल्लामा सबैभन्दा बढी स्याङ्जा तथा तराईका जिल्लामा सबैभन्दा बढी धनुषा र झापाका युवा वैदेशिक रोजगारमा जाने गरेको बताए ।

आव २०७२/७३ सम्ममा विप्रेषण रु. ६ खर्ब १७ अर्ब स्वदेश भित्रिएको, कुल ग्राहर्स्थ्य उत्पादनमा विप्रेषणले २९ प्रतिशत योगदान दिएको, गरिबी ४२ प्रतिशतबाट घटेर २३ प्रतिशत पुगेको जानकारी दिँदै उनले वैदेशिक रोजगारमा गएकामध्ये ९९ महिलासहित ५ हजार ८४ जनाको मृत्यु भएको बताए ।

सहसचिव भुर्तेलले नेपालबाट अहिलेसम्ममा ४३ लाख ७८ हजार युवा–युवती वैदेशिक रोजगारीका लागि बिदेसिएको बताउँदै झापामा ९८ हजार ५ सय विदेसिएका युवामा ६ हजार १ सय २३ जना महिला रहेको जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले ऊर्जा, पर्यटन र कृषिमा रोजगारीको प्रचुर सम्भावना रहेको बताउँदै नेपालमा मानव संशाधनको पनि उच्च सम्भावना रहेकाले यसको उपयोग र प्रयोग पनि बैज्ञानिक ढङ्गले हुनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका अधिकृत सन्तोष घिमिरेले वैदेशिक रोजगारीको अवसर, समस्या र चुनौतीका विविध पक्षमाथि प्रकाश पारे ।

(Visited 102 times, 1 visits today)

टिप्पणी

comments