Main Menu

सबै प्रकारका विभेद अन्त्यका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छ–प्रधानमन्त्री

माइती नेपालद्वारा आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्थाका अध्यक्ष अनुराधा कोइराला लगायत । तस्बिर : प्रदीपराज वन्त,रासस

चैत्र २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन भने ।

उनले राज्यको तल्लो तहबाटै महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधान कार्यान्वयन स्वरूप सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरिहेको हुँदा सहयोगका लागि सबैसँग अपिल गरे ।

चेलिबेटी बेचबिखनलाई संस्थागत रूपमा अन्त्य गर्नेबारे सरकारले नयाँ योजना बनाउने तयारी गरेको उनको भनाइ थियो । चेलिबेटी बेचबिखनबारे सरकारले गरेका कामहरू प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले परिणाममुखी काम गर्नसमेत निर्देशन दिए ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले चेलिबेटी बेचबिखन अन्त्य गर्न सरकार एक्लैले सम्भव नहुने भएकाले सरोकार राख्ने सङ्घ-संस्थाको समेत उत्तिकै भूमिका हुने धारणा राखिन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले आफ्नो संस्थाले महिला, बालबालिकामाथि हुने हिंसाविरूद्ध कानुनको निर्माण र निर्मित कानुनको प्रभावकारी कार्यान्वयनका लागि वकालतसमेत गर्दै आएको जानकारी दिइन् ।

सो अवसरमा माइती नेपालले मानव बेचबिखन रोकथाममा योगदान पुर्याउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलगायत विभिन्न सङ्घ-संस्था र माइती नेपालमा २० वर्ष सेवा पुर्याएका कर्मचारीलाई सम्मान गरेको थियो ।

(Visited 101 times, 1 visits today)

टिप्पणी

comments