Main Menu

अर्थ राजनीति

कतार संकट – के भइरहेछ ? अब के हुन्छ ? कतारका नेपालीहरू नि ?

अर्थविद प्रा. डा. गुणनिधि शर्मा

  • प्रा. डा. गुणनिधि शर्मा

कतारको साउदी अरबसँग हिजोदेखि नै मनमुटावको स्थिति थियो । र, त्यस्तो स्थितिबाट आफूलाई पर्न सक्ने नकारात्मक असरबारे कतार पहिलेदेखि नै चनाखो बन्दै आएको हो । अहिले त्यो स्थिति सतहमा आएको छ । अहिले कतारसँग दक्षिण एशियाको माल्दिभ्सलगायत अरब मुलुकहरु साउदी अरब, यमन, यृएई, बहराइन, साउदी अरब, इजिप्ट र लिबिया गरी सातवटा इस्लाम मुलुकहरुले एकसाथ कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । यो स्थितिले पक्कै पनि कतारको अर्थतन्त्रलाई अल्पकालीन नकारात्मक असर पार्दछ । तर, यसलाई सम्हाल्न कतार सक्षम देखिन्छ । किनकि, उसको अर्थतन्त्र बलियो छ । अहिले कतारको प्रतिव्यक्ति आय नै ७५ हजार डलर रहेको छ, जबकि अमेरिकाको त्योभन्दा कम ५५ हजार डलर मात्रै छ । कतारलाई समस्या भनेको खाद्य आपूर्तिको मात्र छ । त्यसपछिको उसको समस्या भनेको भौतिक पूर्वाधार निर्माणको हो । सन् २०२२ मा त्यहाँ विश्व कप फुटबल प्रतियोगिता हुन गइरहेछ । त्यसको लागि पनि कतारमा निर्माणको काम धेरै छ । त्यसैले अहिले उसलाई आएको संकटले यी दुईवटा क्षेत्रमा उच्च नकारात्मक असर हुने सम्भावना देखिन्छ । तर, कतारलाई यी क्षेत्रहरुमा समस्या भनेको मूल्यमा हुने हो । किनकि, उसले सामग्रीहरु घुमाउरो बाटोबाट आयात गर्नुपर्ने हुँदा ढुवानी खर्च बढ्छ । तर, अर्थतन्त्र बलियो भएको कारणले उसलाई बढी मूल्य तिर्न खासै ठूलो समस्या हुने देखिँदैन । त्यसैले अहिले देखापरेको संकटलाई केही समयको असजिलोपन व्यहोर्दै उसले व्यवस्थापन गर्न सक्ने देखिन्छ । समग्रमा भन्नुपर्दा अहिलेको संकटबाट कतारको अर्थतन्त्र टाटपल्टिने स्थितिमा छैन ।

कतार संकटको सुरुवाती दिनहरुमा त्यहाँका डिपार्टमेन्टल स्टोरहरुमा खाद्यान्नका र्याकहरु खाली हुन पुगेको खबर आएको थियो । तर, रातारात टर्कीबाट खाद्यान्न आयात गरी ल्याइएपछि अहिले ती डिपार्टमेन्टल स्टोरहरु पहिलेकै अवस्थामा फर्किसकेको खबर छ । कतारमा ७० प्रतिशत खाद्यान्न साउदी अरबबाट आपूर्ति हुँदै आएको थियो । साउदीसँग उसको कुटनीतिक सम्बन्ध बिच्छेद भएपछि त्यहाँबाट खाद्यान्न आपूर्ति ठप्प छ । तर, उसले इराकको बाटो गर्दै टर्कीबाट खाद्यान्न आयात गरेको छ । इराकसँग उसको सम्बन्ध नराम्रो छैन । अरबी सागरको बाटो कतारको लागि बन्द हुनेवाला छैन । किनकि, त्यसले इराक, इरान, पाकिस्तानलगायत विस्तृत क्षेत्र ओगटेको छ ।

मलाई लाग्छ अहिले साउदीलगायतका अरबी मुलुकहरुबाट कतारले जे समस्या भोग्दैछ, यसबाट दीर्घकालीन रुपमा उसलाई रणनीतिक फाइदा प्राप्त हुनेछ । जस्तो कि केही समयअगाडि मात्र भारतले लगाएको नाकाबन्दीबाट नेपालले भारतबाहेकको विकल्प खोज्न थाल्यो । र, भविष्यमा त्यस्तो नाकाबन्दीबाट उम्किने उपायहरुको खोजी भयो । सम्भावनाहरु देखा परेका पनि छन् । नेपाली राज्य र त्यसलाई नेतृत्व गर्नेहरुले नचाहँदा नचाहँदै पनि जनताको भावना र चाहना अनुरुप भारतको विकल्प खोज्ने काम भयो । सत्ताधारीहरुले भरसक भारतलाई नचिढ्याऊँ भन्ने चाहेका थिए । तर, जनताले मानेनन् । जनताले ‘राज्यले जसरी पनि भारतको विकल्प खोज्नुपर्छ’ भने । जनताको भावनालाई बुझेर नेताहरु कसैले छिटो कसैले ढिलै भएपनि भारतको विकल्प खोज्नुमा सहमति गरे । यसले गर्दा भोलिको लागि एउटा नयाँ परिस्थिति बन्यो । यो परिस्थितिले भारतलाई मोडरेट बन्न सजिलो बनाउँने भएको छ । भारत हिजोसम्म नेपालसँग निरपेक्ष सम्बन्धमा थियो । अब ऊ सापेक्ष सम्बन्धमा रहने भएको छ । नेपालसँगको आफ्नो दुरव्यवहारले चीनलाई नेपालमा कति क्रियाशील बनाउने रहेछ भन्ने कुरा भारतलाई महसुस हुन थालेको छ । यही कारणले गर्दा भारतलाई नेपालसँगको व्यवहारमा हिजोको आफ्नो शैलीमा मोडरेट बन्नुपर्ने स्थिति बन्यो ।

यही कुरा कतारलाई पनि लागु हुने स्थिति छ । अहिले युरोपियन युनियन साउदीलाई मोडरेट बनाउन पहल गरिहेछ । उसले कतारको स्थितिलाई राम्ररी बुझेको छ । जर्मन विदेशमन्त्री साउदी पुगेका छन् । उनले कतारसँगको व्यवहारमा मोडरेट बन्न साउदीलाई मनाउन कोशिस गरिरहेछ । फ्रान्स पनि त्यसैको लागि साउदी पुगेको छ । अमेरिकीहरु पनि अहिले कतारबिरुद्ध जान सकिन्न भनेर बुझ्न थालेका छन् । त्यसैले अमेरिकाले पनि अब कतारसँगको सम्बन्ध सामान्यीकरण बनाउनुपर्छ भनी बोल्न थालेको छ । त्यसैले कतार संकटले लामो समय लिने देखिन्न ।

नेपालको सन्दर्भको कुरा गर्ने हो भने कतारमा संकट आउनासाथ हामी भयभित हुनुपर्ने जुन स्थिति बन्यो त्यसको लागि नेपालका शासकहरु जिम्मेवार छन् । उनीहरुले बनाएको गलत नीतिको कारणले गर्दा नै लाखौं उत्पादनशील नेपालीहरु कतारलगायतका खाडी मुलुकहरुमा कामको खोजीमा पुगेका छन् । त्यहाँ पुगेका सबै नेपाली यहाँ भूमिहीन छैनन् । अहिले हेर्ने हो भने डोल्पा, मुस्ताङ, अछामलगायत दुरगमभन्दा दुरगम क्षेत्रका हरेक गाउँमा सडक पुगेको छ । शिक्षा पनि पुगेको छ । नेपाली समाज अहिले एकीकृत रुपमा गइसकेको छ । निश्चित केही क्षेत्रबाहेक समग्रमा नेपाली बजार मुद्रीकरण (monetized) भइसकेको छ । बिदेशमा काम गर्न गएका धेरैको उत्पादनशील सम्पत्ति पनि देशभित्रै रहेको स्थिति छ । त्यसकारण मुख्य कुरा भनेको सम्पत्तिलाई बढीभन्दा बढी उत्पादनशील कसरी बनाउन सकिन्छ भनेर सोच्नु रहेको छ । यी विकल्पहरु हुँदाहुँदै शासकहरुले देशभित्रको उत्पादनशील जनशक्तिलाई अरबलगायतका मुलुकहरुमा पठाएर उनीहरुले पठाएको रेमिटेन्समा आफूहरुले मजाले खाने काम गरे । यो राज्यको ठूलो नीतिगत कमजोरी हो । शासकहरुले सजिलो बाटो रोज्दा उनीहरुले जमिनलाई बढीभन्दा बढी उत्पादनशील बनाउनेतिर पनि लागेनन् । उद्योगहरुलाई प्रतिस्पर्धी बनाउनतिर पनि लागेनन् उनीहरु । उद्योगहरु अहिले न्यून क्षमतामा चलिरहेका छन् । मुलुक अर्काको बजार बनेको स्थिति छ । अर्थतन्त्रलाई उच्च मूल्यमा (high cost) मा पुर्याइएको छ । अहिले उच्च मूल्यको कारणले जीवन निर्वाह महङ्गो बनेको छ । यसले गर्दा जीवन स्तरमा नकारात्मक असर पर्न गई विकृतिहरु बढ्न थालेका छन् । जसरी पनि परिवार धान्नका लागि मानिसहरु जसरी पनि पैसा कमाउने ध्याउन्नमा गएकाले उनीहरु देशभित्रको सम्भावनालाई छाडी बिदेशतिर जाने प्रवृत्ति बढ्यो ।

अर्को कुरा मुद्रास्फिति झनझन् बढ्दै गएपछि धन एकातिर थुप्रिँदै गएको छ । यसले गर्दा समाजमा आर्थिक असमानता बढ्दै गयो । यसमाथि पनि राज्यले अवसरहरुलाई केही आर्थिक रुपमा सवल परिवारहरुको हातमा राखिदियो । हुँदाहुँदा सांसद पदहरु पनि उनीहरुलाई नै दिइए । त्यसो हुँदा त्यो वर्गले आफ्नो अनुकूलका कानुनहरु बनाए । संसदमा किसानको प्रतिनिधित्व पनि भएन, मजदुरको प्रतिनिधि पनि भएन । संसदमा किसान र मजदुरको हितमा कानुन बनाउने प्रतिनिधिहरु नै भएनन् । यसले गर्दा किसान र मजदुर वर्ग हतास भए । कृषि क्षैत्र र उद्योगहरु पूरै हतास भए । देशमा किसान र मजदुरको आर्थिक प्रगतिका लागि काम गर्ने जनशक्ति पनि छैन, उनीहरुको पक्षमा कानुन बनाउनेहरु पनि छैनन् ।

उद्योगको हालत यति खराब हुन पुग्यो कि हामीलाई चाहिने साना उद्योगहरु पूरै खतम भए । राज्य सुरुदेखि नै रोजगार सिर्जना गर्न लागेको भए साना उद्योगी तथा कालिगढहरुलाई आधुनिक प्रविधि दिएर अगाडि जान्थ्यो । हिजोको भाषामा भन्ने हो भने सार्की, दमाई, कामी आदिजस्ता प्राचीन कालदेखिका कालिगढहरुलाई आधुनिक प्रविधि दिइएको भए उनीहरुको पेशा आधुनिक उद्योगमा विकसित भई कैयौं रोजगार सिर्जना हुन्थ्यो । उनीहरुलाई सहयोग हुने पुँजी दिई औद्योगीकरणको अवसर प्रदान गरिनुपथ्र्यो । उनीहरुको बजारलाई सुनिश्चित गर्ने तथा घाटा हुने जोखिमलाई न्यूनीकरण गर्ने काम राज्यले गर्नुपथ्र्यो । त्यसो गरिएको भए ती वर्गको जनशक्ति बाहिरिँदैनथ्यो ।

नेपालमा अहिले मुख्य उत्पादनशक्ति किसान र मजदुर वर्ग हतास मनस्थितिमा छन् । यी सबै राज्यको गलत नीतिले गर्दा भएका हुन् । त्यसैले अहिले कतार संकटको कुरा आउँदा त्यही वर्गका परिवारहरु आफ्ना छोराछोरीहरु अरबतिर काम गर्न गएका कारण भयग्रस्त भएका छन् । यसको जिम्मेवारी राज्य र सरकारले लिनुपर्छ ।

तर, तत्कालको कुरा गर्दा कतार संकटले गर्ने भनेको देशमा रेमिटेन्स कम भित्रिने हो । यसले गर्ने भनेको जसले आयातको कारोवार गरिरहेको छ, उनीहरुलाई असर गर्ने हो । किनभने, रेमिटेन्सबाट प्राप्त हुने बिदेशी मुद्रा भनेको धेरै त आयातमै प्रयोग भइरहेको छ । झण्डै ९० प्रतिशत आयातका लागि खर्च भइरहेछ । यसको अर्थ रेमिटेन्सको ठूलो हिस्सा बिदेशी उपभोग्य सामान खरिद गर्नमै खर्च भइरहेछ । अर्को भनेको रेमिटेन्सबाट आएको पैसा जग्गा प्लटिङ र आवास निर्माणमा गइरहेछ । यी भनेका अनुत्पादनशील क्षेत्रहरु हुन् । उत्पादनशील क्षेत्र भनेका कृषि तथा उद्योग हुन् । रेमिटेन्स त ती क्षेत्रहरुमा जाँदै गएनन् । यसबाट बिदेशबाट ल्याइएको रेमिटेन्सबाट को फाइदामा छन् भन्ने कुरा सहजै देख्न सकिन्छ । जो भाडाबाट आम्दानी गर्छन् उनीहरुलाई फाइदा भएको छ । अर्को, जसले राजनीतिलाई किन्न सक्छन् ती मान्छेहरु अहिले धनी बन्दै गइरहेका छन् । चाहे शिक्षा भन्नुस्, चाहे स्वास्थ्य भन्नुस् र चाहे अरु रोजगारको अवसर भन्नुस् सबै सामाजिक अवसरहरु पहुँचवाला धनिमानी वर्गले नै पाइरहेका छन् । यसको अर्थ राज्यले वर्गीय विभेदलाई बढाइरहेका छन् ।

अहिले के भइरेछ भने देशमा सरकार विदेशबाट सामान आयात गर्दा लिइने भन्सार र बिदेशी अनुदान पैसाबाट चलिरहेछ । त्यस्तै जनताका परिवार बिदेशमा काम गर्न गएका युवाहरुले पठाएको रेमिटेन्सबाट चलिरहेको छ । स्वदेशमा वस्तु उत्पादन छैन । खाद्यान्नसमेत हामी बिदेशबाट आयात गरी खाइरहेका छौं । यस्तो अवस्थामा बिदेशमा कहिँ केही संकट आइपर्यो भने हामीकहाँ भय सिर्जना हुनु स्वाभाविक छ । किनकि, राज्यको गलत नीतिले गर्दा हाम्रो अर्थतन्त्र परनिर्भर भइरहेछ । आत्मनिर्भर अर्थतन्त्र हामीले बनाएको भए बिदेशमा कुनै संकट आएपनि हाम्रो अर्थतन्त्र धराशायी हुने स्थिति हुने थिएन । अहिले त हामी निकै जोखिमको अवस्थामा छौं । यो जोखिम राज्य र सरकारको गलत नीतिले गर्दा आएको हो ।
तर, यति हुँदाहुँदै पनि अहिलेको कतार संकटले तत्कालै नेपाली अर्थतन्त्रलाई गम्भीर असर पार्ने देखिँदैन । किनकि, त्यहाँको सरकारले त्यो संकटलाई काबुमा लिएको खबर छ । अर्को कुरा, कतारमा नेपालीहरुले अहिले थप रोजगार पाउने स्थिति पनि बन्दै गइरहेको खबर छ । किनकि, फिलिपिन्सले कतारसँग कुटनीतिक सम्बन्ध तोड्दा फिलिपिन्सबाट त्यहाँ आउने कामदारहरु घट्ने भयो र तिनीहरुको ठाउँमा नेपाली कामदारहरुले रोजगार पाउने भयो । फिलिपिन्सले जस्तै कतारमा अरु देशहरुले कामदारहरु पठाउन बन्द गर्दा नेपालीहरुले रोजगारमा थप स्थान पाउने भयो । यसले गर्दा कतारमा पहिलेभन्दा बढी नेपाली कामदारहरु जाने स्थिति पनि बन्ने छाँटकाट देखिरहेछ । यस अर्थमा कतार संकटले नेपालीहरु अहिले नै डराउनुपर्ने स्थिति छैन ।

(कुराकानीमा आधारित)

(Visited 194 times, 1 visits today)

टिप्पणी

comments