Main Menu

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

साउन २०,  बैतडी । गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो ।

सडक सञ्चालन भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए । २०६० सालमा आएको ठूलो पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेका छन् ।

सोहीबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । पहिरोले स्थानीय बासिन्दालाईसमेत त्रसित बनाएको छ । २०६० सालदेखि प्रत्येक वर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

विसं २०६० मा छ परिवार पहिरोका कारण पूर्णरुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप सात परिवार पनि पहिरोकै कारण विस्थापित भएका छन् । पहिरोले अहिले १५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ । वर्षात्सँगै पहिरो खस्न थालेपछि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी धनीराम सार्कीले बताए ।

(Visited 218 times, 1 visits today)

टिप्पणी

comments