Main Menu

अख्तियारको पत्रपछि एमाले पोलिट्ब्युरो सदस्यद्वारा राजीनामा

एमाले नेता विजय पौडेल

एमाले नेता विजय पौडेल

मंसिर २४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन गर्न पत्र काटेपछि एमाले पोलिट्ब्युरो सदस्य विजय पौडेलले नैतिकताका आधारमा पार्टीबाट राजीनामा दिएका छन् ।

एमालेका पूर्वसांसद समेत रहेका पौडेलले आफूमाथि राज्यको संवैधानिक निकायले छानबिन सुरु गरेकाले त्यसको छिनोफानो नहुन्जेलका लागि पोलिट्ब्युरो सदस्यबाट राजीनामा दिएको बताएका छन् । उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीका नाममा पार्टी केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका हुन् ।

‘मैले आफ्नो आर्थिक तथा नैतिक आचरणमा आजका मितिसम्म कुनै दाग लाग्न दिएको छैन,’ पौडेलले राजीनामापत्रमा उल्लेख गरेका छन्, ‘यस्तो हुँदाहुँदै पनि मलाई केही कुरा बुझ्नका लागि भन्दै अख्तियारबाट पत्र लेखियो । त्यहाँ पुगेपछि थाहा भयो, मलाई सम्पत्ति छानबिनका सिलसिलामा बोलाइएको रहेछ ।’

उनले राजीनामापत्रमा लेखेका छन्, ‘ममाथि राज्यको संवैधानिक अंगबाट नै छानबिन सुरु भइसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिट्ब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुने हुँदा आजैका मितिदेखि लागू हुने गरी पोलिट्ब्युरो सदस्यबाट राजीनामा दिएको छु ।’

पौडेल पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद रहेका थिए । उनले बिहीबार नै अख्तियारमा पुगेर बयान समेत दिइएको बताइएको छ । अख्तियारद्वारा पत्र प्राप्त गरेपछि नैतिकताका आधारमा राजीनामा दिने पौडेल पहिलो नेता हुन् ।

पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनी वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितका छोरा हुन् ।

अख्तियारले पूर्वमन्त्री, प्रशासक लगायत २९ जनालाई छानबिनका लागि पत्र काटेको समाचार सार्वजनिक भएपछि एमालेका शीर्ष नेताहरुले भने पूर्वाग्रह राखेर पत्र काटेको बताउँदै आएका थिए । पत्र काटिनेमा एमाले नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र लगायत छन् । अख्तियारले एमाओवादी महासचिव कृष्णबहादुर महरालाई पनि छानबिनका लागि पत्र काटेको छ ।

(Visited 312 times, 1 visits today)

टिप्पणी

comments