Main Menu

राष्ट्रिय सरकारका लागि ८ बुँदा तयार

एमाओवादीले सहमतिकै सरकारका लागि पहल गर्ने

असोज २२, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिकै सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत माओवादीको स्थायी समितिको बैठकले संविधान निर्माणका बेलामा भएको १६ बुँदे सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठनमा पहल लिने निर्णय गरेको हो ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल । फोटो : मूल्याङ्कन/हीरा महर्जन ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल । फोटो : मूल्याङ्कन/हीरा महर्जन ।

१६ बुँदे सहमति गर्दा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको सहमतिका आधारमा नै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने स्थायी समितिको निर्णय भएको एमाओवादी सचिव गिरिराजमणि पोखरेलले मूल्याङ्कन अनलाइनलाई बताए ।

‘१६ बुँदे सहमति गर्दा शीर्ष नेताहरुबीच जुन सहमति भएको थियो, त्यसैका आधारमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ,’ नेता पोखरेलले भने, ‘बहुमतीय प्रक्रियामा जाँदा पनि राष्ट्रिय सहमतिका लागि नै पहल हुनुपर्छ, त्यसका लागि तीन प्रमुख दलभन्दा बाहिर रहेका र संविधान निर्माण प्रक्रियामा छुटेका दललाई पनि समावेश गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमाओवादी बैठकले आठ वटा बुँदामा आधार तयार पारेको छ । आठ बुँदामा राष्ट्रिय स्वाधीनताको रक्षा, अहिले चलिरहेको आन्दोलनको राजनीतिक सम्बोधन, संविधान संशोधन, भारतले गरेको नाकाबन्दी, भूकम्पले ल्याएको चुनौतीको सम्बोधन, उत्पीडित वर्ग र समुदायको माग सम्बोधन र शान्ति प्रक्रियासँग जोडिएका विषयको सम्बोधनलगायत बुँदा रहेको नेता पोखरेलले मूल्याङ्कनलाई बताए ।

राष्ट्रिय सहमतिको सरकार निर्माण हुन नसक्दा एमाओवादीले १६ बुँदे सहमतिकै आधारमा सरकारको नेतृत्वका लागि एमालेलाई सघाउन सक्ने देखिएको छ । ‘आज हामी एमाले र कांग्रेससँग छलफल गर्दैछौँ, हाम्रो पहल त राष्ट्रिय सहमतिकै सरकारका लागि हुन्छ,’ सचिव पोखरेलले भने ।

सहमतीय सरकार गठनका लागि संविधानतः राष्ट्रपतिले दिएको समय सीमा सकिएपछि आउँदो आइतबार प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सारिसकेको छ भने कांग्रेसले पनि सरकारको नेतृत्व लिने इच्छा देखाएको छ ।

संविधान निर्माणपूर्व भएको १६ बुँदे सहमतिअनुसार एमालेलाई सरकारको नेतृत्व दिन शीर्ष नेताहरुबीच भद्र सहमति भएको बताइएको थियो ।

(Visited 308 times, 1 visits today)

टिप्पणी

comments