Main Menu

पश्चिमी वायुले देशभर वर्षात्

माघ १५, काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण हिजो देशभर वर्षात् भयो ।

उक्त वायुको प्रभावले पश्चिम भेगबाट वर्षात् सुरु भएको र हिजो मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

“पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पश्चिम भेगबाट वर्षा हुन सुरु भएको हो, त्यसको प्रभावले आज देशका अधिकांश भेगमा वर्षात् भएको छ, मध्य र पश्चिमका उच्च हिमाली भेगमा भारी हिमपात र पूर्वी भेगमा सामान्य हिमपात हुने सम्भावना छ,”– उनले राससलाई हिजो जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव शुक्रबार रातिसम्ममा कमजोर भएर शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् श्रेष्ठको भनाइ छ ।

हिजो सबैभन्दा बढी तापक्रम विराटनगरमा २८ र सबैभन्दा कम जुम्लामा १ डिग्री सेल्सियस रहेको थियो । काठमाडौँको अधिकतम तापक्रम १४ र न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिकूल मौसमले उडान प्रभावित

मौसम बदलीका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको उडान प्रभावित भएको छ ।

प्रतिकूल मौसमले विमानस्थलमा विमान उडान र अवतरणमा केही समस्या आएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले राससलाई जानकारी दिए ।

“मौसम खराबीले उपकरणको माध्यमबाट विमान उडान र अवतरण गरियो, दिउँसो एक हजार ६०० मिटर मात्र भिजिबिलिटी थियो, जसका कारण विमान आधा घन्टासम्म आकासमै अडिने ‘होल्ड’ गर्नुपर्यो,”– उनले भने ।

मौसम प्रतिकूल भए पनि नियमित उडान भएको र कुनै पनि उडान रद्द नभएको विमानस्थलले जनाएको छ ।

(Visited 108 times, 1 visits today)

टिप्पणी

comments