Main Menu

११ जलविद्युत् आयोजना निर्माणको चरणमा

11-hydropower-constructionजेष्ठ १६, बाबियाचौर (म्याग्दी) । जिल्लामा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका ७ वटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका ४ वटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

३५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवर्द्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । २४२ मेगावाट क्षमताको ८ वटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।

स्थानीय व्यापारी र सर्वसाधारणको लगानीमा घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चार वर्षअघि निर्माण सुरु गरेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सकिएको छ । रोवस्ट इनर्जी प्रा.लि.ले नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र पारेको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले ८.३ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।

वित्तीय स्रोत जुटाउन विभिन्न बैंकसँग सम्झौता भएको आयोजनाको पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम सुरु गर्ने तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । धौलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएर प्रालिले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

यस्तै धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला आयोजना स्थानीय र प्रवर्द्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन । विद्युत् विकास विभागले रिसर्च एन्ड डेभलपमेन्ट ग्रुपलाई ४ मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति दिए पनि पर्यटकीयस्थल रुप्से झरना सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

टुडी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट, निलगिरि खोला हाइड्रोपावरले ३८ मेगावाटको निलगिरि खोला, ट्रेडलिङ्क ग्लोवलले ७२ मेगावाटको अपर कालीगण्डकी र ह्युम कन्सल्टेन्टले ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।

(Visited 265 times, 1 visits today)

टिप्पणी

comments