Main Menu

नवलपरासीमा तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

चैत्र १२, नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

जिल्लामा ७ नगरपालिका र ८ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा १ सय ६६ वडा छन् । हरेक वडाबाट १ वडाध्यक्ष र ४ सदस्य निर्वाचित हुनेछन् । त्यसमा २ महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने २ महिलामा एक दलित समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुसार निर्वाचनबाट ८ सय ९७ जनाको प्रतिनिधित्व रहने निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले जानकारी दिए ।

हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनुपर्ने कानुनी व्यवस्था छ । सोअनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १५ महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ ।

यस्तै हरेक वडाबाट दुई–दुई महिला गरी ३ सय ३२ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ । गाउँपालिकामा दुई-दुई र नगरपालिकामा तीन-तीन जना मनोनीत हुने निर्वाचन कार्यालयले जनाएको छ । मनोनीत हुनेमा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत जस्ता व्यक्ति हुनुपर्नेछ ।

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका १ सय ६६ वडामा कम्तीमा एउटा मतदानस्थल राखिएको छ । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आ-आफ्ना वडाका अध्यक्षसहित ४ सदस्य गरी ७ जनालाई मतदाताले मतदान गर्न पाउने छन् ।

महिलाको समान अधिकार पँहुच बनाउने उद्देश्यले यस्तो व्यवस्था भए पनि ग्रामीण क्षेत्र खास गरी जिल्लाको दक्षिणी क्षेत्रमा महिला उम्मेदवार सक्रिय नरहेको पाइएको छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ । कार्यालयले मतदाता नामावली केन्द्रमा पठाइसकेको तथा २ सय ३६ मतदान स्थानमा करिब ५ सय मतदान केन्द्र तोकेको छ । नगर, गाउँसभामा उठ्ने उम्मेदवार प्रतिनिधिका विषयमा पनि कार्यालयबाटै जानकारी दिने काम भएको छ ।

तोकिएका मतदानस्थल र केन्द्रमा सुरक्षाकर्मी र आवश्यक समाग्रीलगायतको व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ७३ हजार ९ सय २६ मतदाता छन् । तीमध्ये ८ जना तेस्रो लिङ्गी मतदाता रहेको कार्यालयले जनाएको छ ।

(Visited 162 times, 1 visits today)

टिप्पणी

comments