Main Menu

मोहियानी जग्गा मुखियाको कब्जामा

चैत्र २१, नुवाकोट । तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् ।

तार्केश्वर गाउँपालिका वडा नं. ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् ।

शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन अधिकारीसहितका व्यक्तिले जग्गा नियन्त्रणमा लिई लगाएको बाली भित्र्याउन तथा नयाँ बाली लगाउनसमेत रोक लगाएको स्थानीय सम्मरबहादुर भण्डारीले गुनासो गरे ।

“विसं १८५४ देखि नै गुठीको नाममा रहेको जग्गा उपभोग गर्दै आएबापत २३ घरधुरीले गुठी चढाउँदै आएका छौँ ।” जग्गा नियन्त्रणमा लिएपछि सुकुम्बासी भएका भण्डारीले भने – “मुखियालाई बुझाउनुपर्ने बाली किन नबुझाएको भन्दै पहिलेदेखि नै दबाब दिँदै आएका थिए, अहिले खेती भित्र्याउने समयमा झन्डा गाडेर नियन्त्रणमा लिए ।”

गुठीको बाली माग गर्दै मुखियाले जग्गा नियन्त्रणमा लिएपछि किसानले अहिले आलु, गहुँ, तोरी भित्र्याउन र चैते धान, मकै रोप्नबाट वञ्चित भएका छन् ।

किसानले गुठी जग्गा उपभोग गरेबापत शिवालय गुठीलाई १ वर्षमा ४४ मुरी धान, दुई मुरी मकै, तीन मुरी कोदो, दसैँमा बोको, कपडा र चामल बुझाएर हस्तिकेश्वर कालिका बाण लिङ्गको नियमित पूजा सञ्चालन गर्दै आएको जग्गापीडित सानु श्रेष्ठले बताइन् ।

मुखिया भन्नेहरुले जग्गा कब्जामा लिएपछि पीडित किसानले जिल्ला भूमि अधिकार मञ्चको सहयोगमा न्यायको अपिल गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निवेदनसमेत दिएका छन् ।

(Visited 103 times, 1 visits today)

टिप्पणी

comments