Main Menu

दशैँका लागि थपिएनन् नयाँ बस, दैनिक ६ हजार सवारीसाधनले मात्र सेवा दिने

6-thousand-vehicles-leave-ktm-dashainभदौ २९, काठमाडौँ । दशैँको अवसरमा दैनिक ६ हजार सार्वजनिक यातायातले यात्रुलाई सेवा दिने भएको छ ।

दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । 

यो वर्षमात्र २०-२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डे १५-१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा ५-६ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन् ।

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउँछन् ।

महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएका छन् ।

(Visited 117 times, 1 visits today)

टिप्पणी

comments