Main Menu

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

मंसिर ३, दोलखा

break-through-in-tamakoshi-hydroस्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।

आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने “अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ ।” इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

उनले भने, “हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुयाउर्न कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उनकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।

श्रेष्ठका अनुसार आयोजनाको लागत रु. ३५ अर्ब ३० करोड छ । कर्मचारी सञ्चय कोषको रु. १० अर्ब, नेपाल टेलिकमको रु. ६ अर्ब, नागरिक लगानी कोषको रु. २ अर्ब र राष्ट्रिय बीमा संस्थानको रु. २ अर्ब लगानी छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ ।

(Visited 90 times, 1 visits today)

टिप्पणी

comments